विद्यालय सहयोगी नियुक्तिमा पहुँचको खेल

योग्य उम्मेदवारलाई पाखा लगाएर समिति सदस्यकी पत्नीलाई जागिर !

विराटनगर । सुनसरीको दुहबी नगरपालिका–१२, पूर्वकुशाहा शिसुवामा अवस्थित श्री एकता ज्ञान मैथिली आधारभूत विद्यालयमा विद्यालय सहयोगी पदपूर्तिमा गरिएको चलखेल सार्वजनिक भएको छ ।विद्यालय व्यवस्थापन समितिको सदस्यको श्रीमतीलाई न्यूनतम शैक्षिक योग्यता नपुग्दासमेत नियुक्त गरिएको खुलासा भएको हो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य रविन यादवकी पत्नी दुर्गा यादवलाई नियोजित चलखेलमार्फत नियुक्त गरिएको छ । विद्यालयले जेठ २२ गते विद्यालय सहयोगी पदका लागि सार्वजनिक सूचना जारी गर्दै न्यूनतम कक्षा १० उत्तीर्ण शैक्षिक योग्यता अनिवार्य गरेको थियो । तर, कक्षा १२ उत्तीर्ण गरेका चार जना योग्य प्रशिक्षार्थीलाई उपेक्षा गर्दै एसएलसीमै फेल भएकी दुर्गा यादवलाई नियुक्त गरिएको पाइएको हो ।

असार १४ गते दुहबी नगरपालिका–५ स्थित स्रोत केन्द्र सरस्वती माध्यमिक विद्यालयमा विद्यालय सहयोगी पदका लागि लिखित परीक्षा सञ्चालन गरिएको थियो । उक्त परीक्षामा पाँच जना प्रशिक्षार्थी सहभागी भएका थिए, जसमा कक्षा १२ उत्तीर्ण प्रीति राजवंशी, राधिका यादव, किरण यादव र भागेश्वर यादवले पनि परीक्षा दिएका थिए ।

तर, अन्तिम नतिजामा दुर्गा यादवको नाम एक नम्बरमा निकालेर अन्तर्वार्तामा सहभागी गराइ नियुक्ति गरिएको हो । पीडित प्रशिक्षार्थीहरूका अनुसार, पहुँचको भरमा पूर्व योजना अनुसार सेटिङ गरेर परीक्षा अघि नै प्रश्नपत्र जानकारी दिइएको थियो ।

अख्तियारमा उजुरी

योग्य प्रशिक्षार्थीहरुलाई पाखा लगाएर विद्यालय व्यवस्थान समितिको श्रीमित नियुक्ति गरिएको विरुद्धमा पीडित प्रशिक्षार्थीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी दिएका छन् । असार १७ गते उनीहरुले विद्यालय सहयोगी नियुक्त विरुद्धमा आवश्यक छानविन गरी दोषीलाई कारावही गरिनुपर्ने माग राख्दै उजुरी दिएका हुन् ।

उजुरीमा उनीहरूले दुहबी नगरपालिकाको शिक्षा शाखाले मिलेमतोमा योग्य उम्मेदवारलाई पाखा लगाएर अयोग्यलाई नियुक्त गरेको आरोप लगाएका छन् ।उनीहरूले माग गरेका छन्, ‘न्यूनतम शैक्षिक योग्यता नपुगेका व्यक्तिलाई नियुक्त गर्नु अन्यायपूर्ण छ । नियुक्त प्रक्रिया रद्द गरी पुनः निष्पक्ष परीक्षा गरिनुपर्छ । दोषीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

प्रमाणपत्रमाथि नै आशंका

दुर्गा यादवले पेश गरेको कक्षा १० को शैक्षिक प्रमाणपत्रसम्बन्धी गम्भीर प्रश्न उठेका छन् । उनले पेस गरेको टेस्ट परीक्षा पासको प्रमाणपत्रमा २०६७ सालको मिति उल्लेख गरिएको छ । तर, सो भन्दा अगावै राष्ट्रिय परीक्षा बोर्डले टेस्ट परीक्षा प्रणाली हटाएर सिधै एसएलसी परीक्षा लागू गरिसकेको थियो ।यस आधारमा प्रमाणपत्र नक्कली भएको आशंका गर्दै प्रशिक्षार्थीहरूले छानबिनको माग गरेका छन् । उनीहरूको भनाइमा, “नक्कली प्रमाणपत्र पेस गरेर सार्वजनिक पदमा नियुक्त हुनु आपराधिक कार्य हो, यसको पूर्ण छानबिन हुनुपर्छ ।”

विद्यालयकी प्रधानाध्यापक उर्मिला कुमारी यादवले भने प्रक्रिया पुरा गरेर नियुक्ति गरिएको दाबी गरेकी छन् । उनले भनिन्, “विद्यालय सहयोगी पदमा नगरपालिकाको निर्देशनमा प्रक्रिया पूरा गरेर नियुक्ति गरिएको हो । विस्तृत जानकारी नगरपालिकाबाट लिइनुपर्छ ।”

दुहबी नगरपालिकाको शिक्षा शाखाका सहायक प्राविधिक सन्तोष तिम्सिनाले प्रशिक्षार्थीहरूको आरोप अस्वीकार गरे । उनले भने, “निष्पक्ष रूपमा परीक्षा सञ्चालन गरिएको हो । टेस्ट परीक्षा पास गरेको प्रमाणसहित योग्य व्यक्तिलाई नियुक्त गरिएको हो ।”
तर, उनले टेक्स परीक्षा प्रणाली हटाइसकेको विषयमा कुनै स्पष्ट उत्तर दिएका छैनन् ।कक्षा ४ सम्म पठनपाठन हुने सो विद्यालयमा हाल सयजना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको प्रशासनमै यस्तो पहुँचको खेल र शैक्षिक मापदण्डको उल्लङ्घन हुँदा विद्यार्थीको भविष्य नै संकटमा पर्ने भएकाले योग्य व्यक्ति नियुक्त गरिनुपर्ने यहाँका स्थानीयको माग रहेको छ । यहाँ करारमा विद्यालय सहयागी नियुक्त गरिन्छ । तर, सहयागीले शिक्षक भएर पठनपाठन गरानुपर्ने हुन्छ ।

बिहिबार, १९ असार, २०८२, बिहानको ०८:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर