विराटनगर । कोशी प्रदेशको धनकुटामा रहेको पुरानो टक्सार (सिक्का छाप्ने ठाउँ) अब पर्यटकहरूका लागि नयाँ आकर्षणको केन्द्रको रुपमा विकसित हुने सम्भावना बढेको छ ।

राणाकालीन समयमा धनकुटामा टक्सार राखेर पूर्वी नेपालका लागि आवश्यक पर्ने पैसा (सिक्का) छापिने गरेको थियो भन्ने कुरा अहिलेको पुस्तामा धेरै कमलाई मात्र थाहा छ तर यो सत्य र वास्तविक हो ।

अहिले भिमदल गण सल्लेरी ब्यारेक परिसरमा रहेको यो टक्सार राणाकालीन समयको महत्वपूर्ण निशानी पनि हो । त्यस बेला यहाँ पानीबाट चल्ने विशेष मेसिनबाट तामाका दुई पैसा र पाँच पैसाका सिक्का बनाइन्थ्यो । स्थानीयहरूले यसलाई “पान ढिकी टक्सार घर” भन्ने गर्थे ।विसं १९८७ मा तत्कालीन बडाहाकिम कर्णेल राज शमशेरको समयमा यो मेसिन भारतबाट ल्याइएको थियो । यातायातको सुविधा नभएकाले यो भारी मेसिन मानिसहरूले काँधमा बोकेर धनकुटा पुर्याएका थिए ।

त्यस बेला बनेका सिक्कामा “श्री भवानी” र “श्री ५ त्रिभुवन” लेखिएको हुन्थ्यो । यी पैसाले बजारमा सबै किसिमका सामान किन्न सकिन्थ्यो । दक्षिणा स्वरूप दिइने दुई पैसाले भैंसी र पाँच पैसाले आवश्यक सबै कुरा किन्न सकिन्थ्यो ।

आज पनि धनकुटाका केही घरहरूमा ती पुराना सिक्काहरू माटोको घैंटोमा सुरक्षित राखिएको पाइएका छन् । स्थानीय भैरव श्रेष्ठका अनुसार त्यस बेला यिनै ढ्याकले खेल्ने गरिन्थ्यो । केही मानिसहरूले यी पैसाको माला बनाएर सजावटका रूपमा राखेका छन् ।नेपाली सेनाको संरक्षणमा रहेको यो टक्सार र सिक्का बनाउने मेसिन अहिले पनि सुरक्षित छ । तर सर्वसाधारणको पहुँचमा नभएकाले यसको महत्व मानिसहरूले बुझ्न सकेका छैनन् ।

राष्ट्रिय मुद्रा संग्रहालयमा भने धनकुटाबाट निकालिएका सिक्काहरू संकलनमा छैनन्। तर टक्सारको तस्विर प्रिन्ट गरेर राखिएको छ जसलाई पर्यटकहरूले हेर्न रुचाउने गर्छन् ।धनकुटा नगरपालिकाको योजना अनुसार यो टक्सारलाई जनताको पहुँचमा पुर्याएर पर्यटन प्रवर्धन गर्ने तयारी छ । यसका लागि भवनको जीर्णोद्धार, सडक सुधार र आवश्यक पूर्वाधार निर्माण गर्ने योजना छ।

भोजपुरको टक्सार हेर्न जसरी पर्यटकहरू जान्छन्, त्यसैगरी धनकुटाको टक्सारले पनि देश विदेशका पर्यटकहरूलाई आकर्षित गर्न सक्छ । यसका साथै धनकुटामा रहेका पञ्चकन्या देवीको गुफा, दक्षिणकालीको मन्दिर, नमस्ते झरना जस्ता ठाउँहरू पनि पर्यटकीय गन्तव्य बन्न सक्छन् ।

यदि यो टक्सारलाई उचित रूपमा संरक्षण गरेर सर्वसाधारणका लागि खुला गरियो भने धनकुटाको पुरानो गौरव फिर्ता गर्न सकिने स्थानीयको विश्वास रहेको छ । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ सफल बनाउन यसले पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास सरकारी अधिकारीहरुको पनि छ । इतिहासप्रेमी र पुरातत्व अध्ययन गर्नेहरूका लागि यो टक्सार एउटा आकर्षक गन्तव्य बन्न सक्छने उनीहरुको भनाइ छ ।