लेटाङ–२ मा एसईई उतीर्ण ७५ विद्यार्थीलाई बधाई तथा सम्मान

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ मा एसईई २०७८ उतीर्ण ७५ जना विद्यार्थीलाई एक विशेष कार्यक्रमका बीच बधाई, सम्मान गरीएको छ । वडास्थित सभा हलमा आयोजित उक्त कार्यक्रममा लक्ष्मी माध्यमिक विद्यालयका ५६ र संस्थागत विद्यालय मोरङ पाथीभरा बोर्डिङ स्कुलका १९ जना विद्यार्थी सहभागी थिए।

वडा अध्यक्ष तेज प्रसाद तिम्सिनाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा लक्ष्मी माविका प्रधानाध्यापक राजेन्द्र खतिवडा, सहायक प्रधानाध्यापक देवराज सापकोटा, पाथीभरा बोर्डिङका प्रिन्सिपल खगेन्द्रराज भण्डारी, वडा मेलमिलाप संयोजक पुन्यप्रसाद खतिवडा, एकीकृत जनभावना साकोसका सचिव सुरेश अधिकारी, वडाका कर्मचारी र केही अभिभावकहरूको उपस्थिति थियो।

कार्यक्रममा मन्तव्य व्यक्त राख्दै सबै अतिथिहरूले अनुशासन र नैतिक शिक्षामा जोड दिए। उनीहरूले विद्यार्थीहरूलाई लगनशील भएर अध्ययन जारी राख्न, मन परेको विषय रोज्न र सकेसम्म स्थानीयस्तरमै उच्च शिक्षा लिन आग्रह गरे। पाथीभरा बोर्डिङ स्कुलका प्रिन्सिपल भण्डारीले “जुन कुरा बिकाउ हुन्छ, त्यो टिकाउ हुँदैन” भन्दै विद्यार्थीहरूलाई जीवन उपयोगी र दीर्घकालीन सफलताका लागि शिक्षा हासिल गर्न शुभकामना व्यक्त गरे।

वडा अध्यक्ष तिम्सिनाले राज्यको तीन खम्बे नीति – सरकार, सहकारी र निजी क्षेत्र – आत्मसात् गर्दै सामुदायिक तथा संस्थागत दुवै विद्यालयका विद्यार्थीलाई समान रुपमा सम्मान गरिएको बताए। उनले भने, ‘आज यहाँ उपस्थित अनुहारहरू भविष्यमा डाक्टर, पाइलट, शिक्षक वा अन्य जिम्मेवार पदमा देखिनुपर्छ भन्ने हाम्रो अपेक्षा हो।’ उनले समाजमा देखिएको निराशा, आक्रोशको समाधान व्यक्तिवादी सुधारबाट मात्रै सम्भव हुने उल्लेख गर्दै सबै विद्यार्थीहरू समाज परिवर्तनका संवाहक बन्नुपर्नेमा जोड दिए।

कार्यक्रममा विद्यार्थीहरूलाई खदा ओढाएर, जेलपेन, नोटबुक, डायरी र प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो।

सोमबार, १६ असार, २०८२, साँझको ०७:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर