कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय मन मोहन प्राविधिक विश्वविद्यालयले स्थापनाको छोटो अवधिमा नै उल्लेखनीय प्रगति गरेको छ । ६ असोज २०७६ मा प्रदेश सभाबाट स्वायत्त विधेयक पारित गराएर स्थापना भएको यो विश्वविद्यालयले दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने कार्यमा योगदान गरिरहेको छ ।
मोरङको हात्तीमुढामा २०६५ देखि सञ्चालनमा रहेको मनमोहन स्मृति प्रतिष्ठान अन्तर्गतको प्राविधिक शिक्षालयको अर्बौं रुपैयाको सम्पत्ति र जनशक्तिसहित विश्वविद्यालयमा हस्तान्तरण भएपछि यसले औपचारिक रूप लिएको थियो । प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि देशकै पहिलो प्राविधिक विश्वविद्यालयको गौरव प्राप्त गरेको यो संस्थाले कोशी प्रदेश सरकारको मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कुलपति बनाएर आफ्नो यात्रा सुरू गरेको हो ।
स्थापनाको सुरुवाती दुई वर्षमा विश्वविद्यालयले नियम, कानुन र पाठ्यक्रम निर्माणमा मुख्य ध्यान केन्द्रित गर्यो । यस अवधिमा ८ नियमावली र ७ निर्देशिका निर्माण गरेको विश्वविद्यालयले आवश्यक दक्ष जनशक्ति नियुक्ति गरेर तीन वटा स्कूल स्थापना गरेको छ । स्कूल अफ इन्जिनियरिङ, स्कूल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज र स्कूल अफ साइन्स एण्ड टेक्नोलोजीका माध्यमबाट विभिन्न विषयहरूमा शिक्षा प्रदान गरिरहेको छ ।
हाल स्नातक तहमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, औषधि विज्ञान (फार्मेसी) र अस्पताल व्यवस्थापनतर्फ स्नातकोत्तर कक्षा सञ्चालन गरिसकेको छ । यसै गरी अलग्गै मन मोहन इन्स्टिच्युट अफ ल स्थापना गरेर नेपालमै पहिलो पटक बीबीए एलएलबी र अपराध कानूनमा एलएलएम (स्नातकोत्तर) कक्षा सुरू गरेको छ ।
विश्वविद्यालयले आफ्नै अनुसन्धान केन्द्र स्थापना गरेको छ जसमार्फत १५ भन्दा बढी महत्वपूर्ण अनुसन्धान कार्यहरू सम्पन्न भएका छन् । सेवा आयोग र परीक्षा नियन्त्रण कार्यालयको स्थापनासँगै सबै विषयका आधुनिक ल्याब र लाइब्रेरीहरू सञ्चालनमा आएका छन् । इन्जिनियरिङ वर्कशप र भौतिक सामग्री परीक्षण गराउने व्यवसायिक भौतिक ल्याब र पानी परीक्षण प्रयोगशाला स्थापना गरेर विद्यार्थीहरूलाई व्यावहारिक शिक्षा प्रदान गरिरहेको छ ।
भौतिक संरचनाको विकास
कोशी प्रदेश सरकारको सीमित बजेटमा पनि विश्वविद्यालयले उल्लेखनीय भौतिक संरचना निर्माण गरेको छ । चार तले साइन्स ब्लक भवन, चार तले एप्लाइड एण्ड हेल्थ साइन्स भवन र स्कूल अफ इन्जिनियरिङको भवन निर्माण सम्पन्न गरिसकेको छ । पाँच तले नयाँ प्रशासनिक भवन निर्माणको चरणमा छ भने ओखलढुंगामा अलग्गै तालिम केन्द्र निर्माण गरिरहेको छ । यसैगरी विराटनगरको जतुवामा अस्पताल व्यवस्थापन कलेज र शनिहाटमा मन मोहन इन्स्टिच्युट अफ ल स्थापना गरिरहेको छ ।
शैक्षिक र भौतिक पूर्वाधारको विकाससँगै विश्वविद्यालयले महत्वाकांक्षी दश वर्षे रणनीति पनि तयार गरेको छ । जसअन्तर्गत पीएचडी सम्मको पठनपाठन गराउने विश्वविद्यालयको लक्ष्य छ । पाँच वर्षे योजना अन्तर्गत २०७८–२०८२ सम्ममा ७ वटा स्नातक र ५ वटा स्नातकोत्तर विषयहरू सञ्चालन गर्ने छ । दोस्रो पाँच वर्षे योजना अन्तर्गत २०८३–२०८७ सम्ममा ६ वटा कार्यक्रम, स्नातकोत्तर तहमा ५ वटा विषयमा स्नातक र ५ वटामा विद्यावारिधिको कक्षा सञ्चालन गरी विभिन्न २८ विषयमा कुल २८ सय ३१ जना विद्यार्थी दीक्षित गराउने लक्ष्य राखेको देखिन्छ ।
बजेटको अभावले विश्वविद्यालयको विकासमा बाधा पुर्याइरहेको मनमोहन प्रतिष्ठानसँग भएको सम्झौता अनुसार कोशी सरकारले ६० प्रतिशत विश्वविद्यालयमा हरेक वर्ष लगानी गर्नुपर्ने भएता पनि हालसम्म पूँजीगत र चालू गरी जम्मा १७ करोड भन्दा बढी बजेट दिन सकिरहेको छैन । यसैले समाजिक विकास मन्त्रालयका उपसचिव फणिन्द्र खत्रीले मनमोहनलाई कम्तिमा पनि मन्त्रालयसरह बजेट उपलब्ध गराउनुपर्ने बताउँछन् ।
विश्वविद्यालयको सबैभन्दा ठूलो चुनौती भनेको आफ्नै शिक्षण अस्पताल नहुनु हो । यदि प्रदेश सरकारले अस्पताल प्रदान गरेमा प्राकृतिक चिकित्सा (न्याचुरोप्याथी), आँखा, ल्याब जाँच, नर्सिङ देखि जनस्वास्थ्य लगायतका धेरै स्वास्थ्यका प्राविधिक विषयमा उच्च शिक्षा सञ्चालन गराउन सकिने उपकुलपति डा. सुवासश्री पोखरेलले बताउँछन् ।
कोरियाबाट सूचना प्रविधिमा विद्यावारिधि गरेका उपकुलपति पोखरेलको नेतृत्वमा विश्वविद्यालयले विदेशका चर्चित विश्वविद्यालयहरूसँग भगिनी सम्बन्ध बनाइसकेको छ । उनमा मनमोहनलाई दक्षिण एसियामा चिनाउने र विदेशी विद्यार्थीहरू पनि आकर्षित गर्ने महत्वाकांक्षा देखिन्छ ।
विश्वविद्यालयले अहिलेसम्म गरिरहेको कामप्रति कोशी प्रदेश सरकार सन्तुष्ट नै देखिएको छ । सीमित स्रोतसाधनका बिचबाट विश्वविद्यालयले काम गरिरहेकोले विश्वविद्यालयलाई नयाँ काम गर्नका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पटक पटक व्यक्त गर्दै आएका छन् ।
छोटो अवधिमा उल्लेख्य प्रगति गरेको मनमोहन प्राविधिक विश्वविद्यालयले कोशी प्रदेशमा मात्र नभएर देशभरका युवाहरूका लागि गुणस्तरीय प्राविधिक शिक्षाको केन्द्र बन्ने दिशामा निरन्तर प्रयास गरिरहेको छ । दशवर्षे रणनीति र पाँच वर्षे योजना अनुसार अगाडि बढेमा विश्वविद्यालयले नेपालको प्राविधिक शिक्षामा नयाँ आधार प्रदान गर्ने अपेक्षा गरिएको छ । त्यसका लागि यसको प्रशासनिक र आन्तरिक सुशासनमा पनि ध्यान दिनुपर्ने सरोकारवालाहरुको सुझाव छ ।