लोड हुँदैछ...

मेनु

बजेट सीमा भएपनि विकासमा लम्किँदै मनमोहन

बजेट सीमा भएपनि विकासमा लम्किँदै मनमोहन

कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय मन मोहन प्राविधिक विश्वविद्यालयले स्थापनाको छोटो अवधिमा नै उल्लेखनीय प्रगति गरेको छ । ६ असोज २०७६ मा प्रदेश सभाबाट स्वायत्त विधेयक पारित गराएर स्थापना भएको यो विश्वविद्यालयले दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने कार्यमा योगदान गरिरहेको छ ।

मोरङको हात्तीमुढामा २०६५ देखि सञ्चालनमा रहेको मनमोहन स्मृति प्रतिष्ठान अन्तर्गतको प्राविधिक शिक्षालयको अर्बौं रुपैयाको सम्पत्ति र जनशक्तिसहित विश्वविद्यालयमा हस्तान्तरण भएपछि यसले औपचारिक रूप लिएको थियो । प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि देशकै पहिलो प्राविधिक विश्वविद्यालयको गौरव प्राप्त गरेको यो संस्थाले कोशी प्रदेश सरकारको मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कुलपति बनाएर आफ्नो यात्रा सुरू गरेको हो ।
स्थापनाको सुरुवाती दुई वर्षमा विश्वविद्यालयले नियम, कानुन र पाठ्यक्रम निर्माणमा मुख्य ध्यान केन्द्रित गर्यो । यस अवधिमा ८ नियमावली र ७ निर्देशिका निर्माण गरेको विश्वविद्यालयले आवश्यक दक्ष जनशक्ति नियुक्ति गरेर तीन वटा स्कूल स्थापना गरेको छ । स्कूल अफ इन्जिनियरिङ, स्कूल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज र स्कूल अफ साइन्स एण्ड टेक्नोलोजीका माध्यमबाट विभिन्न विषयहरूमा शिक्षा प्रदान गरिरहेको छ ।

हाल स्नातक तहमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, औषधि विज्ञान (फार्मेसी) र अस्पताल व्यवस्थापनतर्फ स्नातकोत्तर कक्षा सञ्चालन गरिसकेको छ । यसै गरी अलग्गै मन मोहन इन्स्टिच्युट अफ ल स्थापना गरेर नेपालमै पहिलो पटक बीबीए एलएलबी र अपराध कानूनमा एलएलएम (स्नातकोत्तर) कक्षा सुरू गरेको छ ।

विश्वविद्यालयले आफ्नै अनुसन्धान केन्द्र स्थापना गरेको छ जसमार्फत १५ भन्दा बढी महत्वपूर्ण अनुसन्धान कार्यहरू सम्पन्न भएका छन् । सेवा आयोग र परीक्षा नियन्त्रण कार्यालयको स्थापनासँगै सबै विषयका आधुनिक ल्याब र लाइब्रेरीहरू सञ्चालनमा आएका छन् । इन्जिनियरिङ वर्कशप र भौतिक सामग्री परीक्षण गराउने व्यवसायिक भौतिक ल्याब र पानी परीक्षण प्रयोगशाला स्थापना गरेर विद्यार्थीहरूलाई व्यावहारिक शिक्षा प्रदान गरिरहेको छ ।

भौतिक संरचनाको विकास

कोशी प्रदेश सरकारको सीमित बजेटमा पनि विश्वविद्यालयले उल्लेखनीय भौतिक संरचना निर्माण गरेको छ । चार तले साइन्स ब्लक भवन, चार तले एप्लाइड एण्ड हेल्थ साइन्स भवन र स्कूल अफ इन्जिनियरिङको भवन निर्माण सम्पन्न गरिसकेको छ । पाँच तले नयाँ प्रशासनिक भवन निर्माणको चरणमा छ भने ओखलढुंगामा अलग्गै तालिम केन्द्र निर्माण गरिरहेको छ । यसैगरी विराटनगरको जतुवामा अस्पताल व्यवस्थापन कलेज र शनिहाटमा मन मोहन इन्स्टिच्युट अफ ल स्थापना गरिरहेको छ ।
शैक्षिक र भौतिक पूर्वाधारको विकाससँगै विश्वविद्यालयले महत्वाकांक्षी दश वर्षे रणनीति पनि तयार गरेको छ । जसअन्तर्गत पीएचडी सम्मको पठनपाठन गराउने विश्वविद्यालयको लक्ष्य छ । पाँच वर्षे योजना अन्तर्गत २०७८–२०८२ सम्ममा ७ वटा स्नातक र ५ वटा स्नातकोत्तर विषयहरू सञ्चालन गर्ने छ । दोस्रो पाँच वर्षे योजना अन्तर्गत २०८३–२०८७ सम्ममा ६ वटा कार्यक्रम, स्नातकोत्तर तहमा ५ वटा विषयमा स्नातक र ५ वटामा विद्यावारिधिको कक्षा सञ्चालन गरी विभिन्न २८ विषयमा कुल २८ सय ३१ जना विद्यार्थी दीक्षित गराउने लक्ष्य राखेको देखिन्छ ।

बजेटको अभावले विश्वविद्यालयको विकासमा बाधा पुर्याइरहेको मनमोहन प्रतिष्ठानसँग भएको सम्झौता अनुसार कोशी सरकारले ६० प्रतिशत विश्वविद्यालयमा हरेक वर्ष लगानी गर्नुपर्ने भएता पनि हालसम्म पूँजीगत र चालू गरी जम्मा १७ करोड भन्दा बढी बजेट दिन सकिरहेको छैन । यसैले समाजिक विकास मन्त्रालयका उपसचिव फणिन्द्र खत्रीले मनमोहनलाई कम्तिमा पनि मन्त्रालयसरह बजेट उपलब्ध गराउनुपर्ने बताउँछन् ।

विश्वविद्यालयको सबैभन्दा ठूलो चुनौती भनेको आफ्नै शिक्षण अस्पताल नहुनु हो । यदि प्रदेश सरकारले अस्पताल प्रदान गरेमा प्राकृतिक चिकित्सा (न्याचुरोप्याथी), आँखा, ल्याब जाँच, नर्सिङ देखि जनस्वास्थ्य लगायतका धेरै स्वास्थ्यका प्राविधिक विषयमा उच्च शिक्षा सञ्चालन गराउन सकिने उपकुलपति डा. सुवासश्री पोखरेलले बताउँछन् ।

कोरियाबाट सूचना प्रविधिमा विद्यावारिधि गरेका उपकुलपति पोखरेलको नेतृत्वमा विश्वविद्यालयले विदेशका चर्चित विश्वविद्यालयहरूसँग भगिनी सम्बन्ध बनाइसकेको छ । उनमा मनमोहनलाई दक्षिण एसियामा चिनाउने र विदेशी विद्यार्थीहरू पनि आकर्षित गर्ने महत्वाकांक्षा देखिन्छ ।

विश्वविद्यालयले अहिलेसम्म गरिरहेको कामप्रति कोशी प्रदेश सरकार सन्तुष्ट नै देखिएको छ । सीमित स्रोतसाधनका बिचबाट विश्वविद्यालयले काम गरिरहेकोले विश्वविद्यालयलाई नयाँ काम गर्नका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पटक पटक व्यक्त गर्दै आएका छन् ।

छोटो अवधिमा उल्लेख्य प्रगति गरेको मनमोहन प्राविधिक विश्वविद्यालयले कोशी प्रदेशमा मात्र नभएर देशभरका युवाहरूका लागि गुणस्तरीय प्राविधिक शिक्षाको केन्द्र बन्ने दिशामा निरन्तर प्रयास गरिरहेको छ । दशवर्षे रणनीति र पाँच वर्षे योजना अनुसार अगाडि बढेमा विश्वविद्यालयले नेपालको प्राविधिक शिक्षामा नयाँ आधार प्रदान गर्ने अपेक्षा गरिएको छ । त्यसका लागि यसको प्रशासनिक र आन्तरिक सुशासनमा पनि ध्यान दिनुपर्ने सरोकारवालाहरुको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।