विराटनगर । मोरङको कटहरी गाउँपालिकाले पूर्वाधार, कृषि र स्वास्थ्य प्रमुख प्राथामिकता राखेर आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि ५८ करोड ९१ लाख ४४ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
पालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले दोस्रो गाउँसभाको सातौं अधिवेशनमा बिहीबार यो बजेट प्रस्तुत गरेकी हुन् ।
प्रस्तुत बजेटमा चालु खर्चतर्फ ३९ करोड ३८ लाख २ हजार ५ सय रुपैयाँ र पुँजीगत खर्चतर्फ १९ करोड ५३ लाख ४२ हजार रुपैयाँ छुट्याइएको छ । यो बजेटको मुख्य आय स्रोतहरूमा आन्तरिक आयबाट ९ करोड ८० लाख ७८ हजार ४८५ रुपैयाँ, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ३५ करोड ८५ लाख ६ हजार रुपैयाँ र राजस्व बाँडफाँडबाट १३ करोड २५ लाख ६० हजार १५ रुपैयाँ आउने अनुमान गरिएको छ ।
कटहरी गाउँपालिकाले यो वर्षको बजेटमा पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रमा २ करोड २८ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ जुन कृषकहरूको आर्थिक अवस्था सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
सामाजिक सुरक्षा र कल्याण क्षेत्रमा ६ करोड ४९ लाख ४५ हजार ५ सय रुपैयाँ छुट्याइएको छ । यो रकमले स्थानीय नागरिकहरूका सामाजिक सुरक्षा कार्यक्रमहरूलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।पूर्वाधार क्षेत्रको विकासमा सबैभन्दा बढी १७ करोड ७३ लाख ५ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो रकमले सडक, पुल, भवन निर्माण र अन्य पूर्वाधार विकास कार्यहरूमा प्रयोग हुनेछ ।
वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रमा ३ करोड २८ लाख रुपैयाँ र संस्थागत विकास तथा सेवा प्रवाह र सुशासन क्षेत्रमा २ करोड ७२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यो बजेटले स्थानीय नागरिकहरूको जीवनयात्रामा सकारात्मक प्रभाव पार्ने र गाउँपालिकाको समग्र विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको पालिकाकी उपाध्यक्ष राजवंशीले बताइन् । विशेषगरी कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा गरिएको लगानीले स्थानीयवासीहरूको जीवनस्तरमा सुधार ल्याउने विश्वास लिइएको उनको भनाई छ । उपाध्यक्ष राजवंशीले यो बजेटले जनताका आवश्यकता र प्राथमिकतालाई मध्यनजर गर्दै तयार गरिएको बताइन् ।
१९२ बुँदे नीति तथा कार्यक्रम
कटहरी गाउँपालिकाले १९२ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष देवराज चौधरीले बिहीबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्थानीय विकासका मुख्य क्षेत्रहरूलाई समेटिएको छ ।
अध्यक्ष चौधरीले प्रभावकारी कृषि उत्पादन स्थापना गर्न कृषि प्रयोगशालाको प्रभावकारी संचालन गर्ने बताए । उनका अनुसार सम्भावित रोग र कीराकोट नियन्त्रण गर्दै माटोको गुणस्तर विकास गर्न प्रयोगशालालाई थप सक्रिय बनाइने छ । व्यावसायिक कृषि पकेट क्षेत्र स्थापना गर्दै कृषि क्षेत्रमा बाह्र महिना सिँचाइ सुविधाको व्यवस्था गरिने भएको छ । कृषि सडक, कृषि बजारको व्यवस्था लगायतका पूर्वाधारको निर्माण गरी कृषकहरूलाई व्यावसायिक कृषि उत्पादनमा केन्द्रित गराइने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘स्थानीय रैथाने बालीहरूको संरक्षण तथा प्रवर्धन कार्यक्रमहरूलाई निरन्तरता दिँदै कृषि व्यावसायिकतालाई प्रोत्साहन तथा प्रवर्धन गरिनेछ,’ अध्यक्ष चौधरीले भने ।
शिक्षण सिकाइलाई सहज र प्रभावकारी बनाउन कक्षा तीनसम्मका बालबालिकाहरूका लागि निःशुल्क पेन्सिल र कपी वितरण गरिने भएको छ । यो कार्यक्रमले प्राथमिक शिक्षामा पहुँच बढाउने अपेक्षा गरिएको छ ।‘गर्भवतीसँग गाउँपालिका’ कार्यक्रमलाई निरन्तरता दिइ यसको प्रभावकारिता बढाइने भएको छ । यो कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष चौधरीले भने, ‘कृषि, स्वास्थ्य, पूर्वाधार र शिक्षालाई प्राथमिकतामा राखेको नीति तथा कार्यक्रम कार्यान्वयन गरेर अगाडि बढ्नेछौं ।’उनले थपे, ‘यी चार मुख्य क्षेत्रमा केन्द्रित भएर काम गर्दा स्थानीयवासीहरूको जीवनस्तरमा उल्लेखनीय सुधार आउनेछ ।’
१९२ बुँदे नीति तथा कार्यक्रमले गाउँपालिकाको समग्र विकासलाई लक्षित गरेको छ । पूर्वाधार निर्माणदेखि मानव संशाधन विकाससम्मका सबै पक्षहरूलाई समेटेर तयार गरिएको यो नीति तथा कार्यक्रमले आगामी वर्षमा कटहरी गाउँपालिकाको विकास फेर्ने अपेक्षा गरिएको अध्यक्ष चौधरीले बताए । यी नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गरेर अगाडी बढाउने उनले प्रतिवद्धता जनाए ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।