विराटनगर । सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको ‘एसियन हाइवे’ को काँकडभिट्टा–लौकहीखण्ड कालोपत्र सुरु भएको छ ।
निर्माणाधीन एसियन हाइवे आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत् प्रजापतिका अनुसार मंगलबार मोरङको लक्ष्मीमार्गबाट एक लेन कालोपत्रको काम सुरु भएको हो ।
निर्माण सम्झौता भएको १५ महिनामा करिब २३ प्रतिशत काम भएको सडकमा काँकडभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुनुपर्नेमा अहिले ९५ दशमलव ७६ किलोमिटरमा काम भइहरेको छ । पूर्वी र पश्चिम खण्डमा विभाजन गरेर काम भइरहेकोमा पश्चिम खण्डमा कालोपत्रे सुरु भएको हो ।
चालु आर्थिक वर्षभित्र पश्चिम खण्डमा कम्तीमा १० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको छ । आयोजना पूर्वीखण्ड दमक कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार पूर्वी खण्डमा २१ प्रतिशत काम सम्पन्न भएको छ । पूर्वी खण्डमा पनि चालु आवमा १० किलोमिटर कालोपत्र गर्ने लक्ष्य छ । पूर्वी खण्डमा ५० र पश्चिममा ७० वटा कल्भर्ट निर्माण भएका छन् ।
बजार क्षेत्रमा ५० मिटर, जंगलमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडा हुने सडक एसियाली विकास बैंकको ऋण सहयोगमा २०८० साल माघ १९ गतेदेखि निर्माण सुरु भएको हो । सडकमा सहरी क्षेत्रमा मानिसको मुभमेन्ट हुने भएकाले सर्भिस लेन निर्माण हुन्छ । जहाँ स्थानीय स्तरमा गुड्ने गाडीहरू सञ्चालन हुन्छन् । सहरी क्षेत्रका सडकहरू ६ लेनका हुनेछन् । चार लेन सडकमा चल्ने तीव्र गतिका गाडीहरूलाई साना सवारी साधनहरूले अवरोध नपु¥याउने गरी लेन व्यवस्थापन गर्ने योजना छ ।
काँकडभिट्टादेखि लौकहीसम्म सडकबाहेक ६९ वटा कल्भर्ट, ३ सय मिटरभन्दा लामो ३ वटा पुल र ३ सय मिटरभन्दा कमको २८ वटा पुल निर्माण हुनेछ । झापाको रतुवा र माई, मोरङको बक्राहा र लोहन्द्रामा ३ सय मिटरभन्दा लामो पुल निर्माण हुनेछ ।
झापाको सितापुरीदेखि इटहरीको लवीपुरसम्म जम्मा ९५.७ किलोमिटरको काम अहिले भइरहेको छ । पूर्वी खण्डमा ४५ किलोमिटर र पश्चिम खण्डमा ५०.७ किलोमिटर सडकको काम भइरहेको छ ।
सडकमा विभिन्न स्थानमा डाइभर्सन निकालेर अहिले कल्भर्ट तथा पुलको काम भइरहेको छ । बर्खाअघि सबै क्षेत्रका डाइभर्सन ‘क्लोज’ गर्ने योजना रहेको काँकडभिट्टा–लौकही सडक आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका सूचना अधिकारी इन्जिनियर पल्लव श्रेष्ठले जानकारी दिए । सडक निर्माणको प्रगति र चुनौतीहरूको मूल्यांकन गर्न हरेक महिनाको सुरुमा समन्वय बैठक बस्ने गरिएको छ ।
सडकखण्ड अन्तर्गत इटहरीमा तीनवटा ‘ओभरपास’ बन्नेछन् । इटहरी खण्डमा बूढी खोलादेखि लवीपुरसम्म तीनवटा ओभरपास बन्नेछ । इटहरी चोकमा एउटा ओभरपास बन्नेछ । जहाँ इष्ट वेस्ट हाइवे अन्तर्गत सवारी साधन माथिबाट सञ्चालन हुनेछ भने नर्स साउथको क्रसिङ तलबाट हुन्छ ।
इटहरी चोकमा एउटा, इटहरी चोकभन्दा पूर्वतिर तालतलैया जाने क्षेत्रमा अर्को र पश्चिमतर्फ इटहरी बसपार्कबाट हाइवे आउने बाटोको कलंकीमा अर्को ओभरपास बन्नेछ । ‘आरइ वाल कन्स्ट्रक्सन’ गरेर ‘ओभरपास’ बन्ने आयोजनाले जनाएको छ ।
इटहरी चोकमा भने ४२ मिटरको चौडाई र साढे ५ मिटरको उचाईमा ‘ओभरपास’ बन्नेछ । पूर्वतिर र पश्चिमतिर भने १३ मिटर चौडाई र साढे ५ मिटर हाइटको ओभरपास बन्ने बताइएको छ ।
इटहरीमा तीनसहित झापाको चारआली, बिर्तामोड, चारपाने, मोरङको बलियामा ‘ओभरपास’ बन्ने सडक आयोजना पश्चिम खण्डका प्रमुख जगत प्रजापतिले जानकारी दिए । सडकमा ३ सय मिटर लामो ६ स्थानमा ‘सिग्नेचर’ पुल निर्माण हुनेछ । सडकको निर्माणको ठेक्का नेपालको कालिका र तुङ्गी कन्स्ट्रक्सन चाइनिज कम्पनीले जोइन्डमा लिएका हुन् ।
यसैबीच जिल्ला प्रशासन कार्यालय, सुनसरीले इटहरीको बूढी खोलादेखि लविपुरस्थित देवी खोलासम्मको सडक खण्डमा पर्ने संरचनाहरू हटाउन सूचना जारी गरिसकेको छ । प्रशासनले प्रभावित संरचना धनीहरूलाई ३५ दिनभित्र आफ्नै प्रयासमा संरचना हटाउन आग्रह गरेको छ । ती संरचनाको मुआब्जा सम्बन्धी थप विवरणका लागि आयोजना कार्यालय, इटहरी–सुनसरीमा सम्पर्क गर्न भनिएको छ ।
सडक निर्माणमा विद्युत पोल सार्न ढिलाई हुँदा केहि समस्या भएको आयोजनाले जनाएको छ । आयोजना अन्तर्गत पूर्वी खण्डका सूचना अधिकारी आशिष देवका अनुसार पूर्वी खण्डमा २ हजार २५९ वटा पोलमध्ये १ हजार ६५९ वटा पोल सारिएको छ । तर, पुरानो तार नसार्दा समस्या भएको उनले बताए । यस्तै ६ सय वटा पोल सार्न बाँकी छ ।
सडक झापाको काकडभिट्टादेखि सुनसरीको लौकहीसम्म बनाउनेगरी डीपीआर र डिजाइन तयार गरिएको थियो । तर, तत्काल भने काकडभिट्टादेखि इटहरीको लवीपुरसम्म मात्रै सडक निर्माण हुने आयोजनाले जनाएको छ ।सडक निर्माणमा एसियाली विकास बैंकले ८४.१ प्रतिशत ऋण सहयोग गरेको छ भने १५.९ प्रतिशत रकम नेपाल सरकारको लगानी हुनेछ । कुल ३४ अर्ब ९१ करोडमा काँकडभिट्टादेखि लौकहीसम्म सडक बन्नेगरी सम्झौता छ । २०२४ फेब्रुअरी १ बाट सुरू भएको योजना २०२७ फेब्रुअरी १ मा सम्पन्न गर्ने लक्ष्य छ ।
थाइल्यान्डको बैंककबाट सुरु भएको हाइवे म्यानमार, बंगलादेश, भारत हुँदै नेपालको पूर्व–पश्चिम राजमार्ग भएर नयाँदिल्लीबाट पाकिस्तानको कराँची पुग्ने योजना छ । भारतले पश्चिम बंगाल हुँदै नेपालको काँकडभिट्टा नाकासम्म हाइवे विस्तार गरिसकेको छ ।