
विनोद घिमिरे
आजभोलि विराटनगरमा रहेको नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको रक्त संचार केन्द्रमा रगतको अभाव छ । विराटनगर स्वास्थ्य क्षेत्रको हबको रुपमा विकास हुँदै गइरहेको छ । दुई वटा मेडिकल कलेज विराटनगरमै रहेको र शिक्षण अस्पतालमा ठूलो संख्यामा विरामीहरु उपचारका लागी आउने गर्दछन् । विराटनगरमै प्रदेशको ठूलो सरकारी कोशी अस्पताल पनि सञ्चालनमा छ जहाँ दैनिक २ हजारसम्म विरामीहरु स्वास्थ्य परीक्षण र उपचार गराउन आउँछन् । निजी क्षेत्रबाट सञ्चालित थुप्रै अस्पतालहरु यहाँ सञ्चालित छन्। अस्पताल र विरामीहरुको संख्या बढेसँगै रगतको माग पनि बढेको छ । तर रक्त संचार केन्द्रले माग अनुसार रगत संकलन र आपूर्ति गर्न सकिरहेको छैन ।
विगतमा विभिन्न संघ संस्थाहरुको स्थापना दिवस, विशेष समारोह आदिमा रक्तदान गर्ने चलन थियो । गाउँ गाउँका क्लबहरुले पनि रक्तदान गर्ने गरेका थिए । रक्तदाताहरु पनि उत्साहित भेटिन्थे। ती संस्थाहरुले आफ्नो सिफारिसका आधारमा केन्द्रले आवश्यक परेको बेलामा विरामीलाई रगत उपलब्ध गराउने विश्वासले पनि रक्तदान कार्यक्रम आयोजना गर्दथे । तर अहिले त्यो अवस्था छैन । रक्तदाता संस्थाहरुको सिफारिसमा रगत उपलब्ध गराउन सक्ने अवस्था केन्द्रसँग छैन । केन्द्रमा हम्मेसी विरामीले रगत पाउनै नसक्ने अवस्था विद्यमान छ। अस्पतालको पत्र बोकेर विरामीहरु रक्त संचार केन्द्रमा रगतका लागि धाउँदा धाउँदा हैरान हुने सेवाग्राहीहरु कैयन छन् ।
यो समस्या अहिले भर्खर सुरु भएको होइन धेरै वर्ष भइसक्यो। तर त्यसको सुधार किन भइरहेको छैन ? जसले नागरिकलाई रगत उपलब्ध गराउँछु भन्ने जिम्मेवारी लिएर संस्था सञ्चालन गरेको छ उसले रगतको औषत माग र आपूर्तिको ठिक अनुमान किन गरिरहेको छैन । यदि अनुमान गरेको छ भने त्यस अनुसार कार्ययोजना बनाएर किन रगत दान गर्ने दाताहरुको खोजी गरिरहेको छैन? किन दाताहरुलाई त्यसतर्फ उत्प्रेरित गरिरहेको छैन? के समस्या छ रेडक्रसलाई यो काम गर्न ?अहिले रगत पाउन विरामीहरुलाई निकै मुस्किल छ तर उनीहरुले जसोतसो रगतको जोहो गरिनै रहेका छन्। दुई चार दिन हैरानी खेपेर भएपनी आवश्यकता पूरा गरिरहेकै छन्। त्यसको अर्थ समाजमा रक्तदाताहरुको कमी छैन भन्ने हो । यदि समाजमा रक्तदाताहरुको कमी छैन भने उनीहरुसम्म पुगेर रक्त संचार केन्द्रले किन रगत संकलन गर्ने कार्ययोजना बनाउन र कार्यान्वयन गर्न नसकेको हो ?
यस विषयमा स्थानीय र प्रदेश सरकारहरु संवेदनशील बन्नुपर्ने होइन ? कुनै व्यक्तिलाई तत्कालै शल्यक्रिया गर्नु पर्यो भने रगतकै कारणले कैयौं दिन पर्खनुपर्ने अवस्था छ । जसले गर्दा विरामीले समयमै उपचार पाउन नसकि मृत्युवरण गर्नुपर्ने जोखिम बढेको छ ।रगतजस्तो संवेदनशील वस्तुको सहज आपूर्ति र व्यवस्थापनका लागि कुनै पनि तहका सरकारहरु संवेदनशील देखिदैनन् । लाग्छ यो सरकारको जिम्मेवारी भित्र नपर्ने विषय हो । जनताको स्वास्थ्य सेवा पाउने र बाँच्न पाउने हक सुरक्षित गर्ने जिम्मेवारी सरकारकै हो । त्यस कारणले पनि अहिलेसम्म सरकारको नजर नपुगेको यस विषयमा सरकारको ध्यान कहिले जान्छ ?
नागरिकहरु रगतको खोजीमा भौंतारिरहेको बेला उनीहरुलाई सहयोग गर्ने समूहहरुले अहिलेसम्म जसोतसो विरामीहरुको आवश्यकता परिपूर्ति गर्ने काममा भरथेग गरेका छन् । तर त्यस्ता संस्थाहरुलाई पनि सरकारले प्रोत्साहन गरिरहेको पाइदैन । उनीहरुलाई उत्प्रेरित गर्ने, सहजीकरण गर्ने र अझ ठूलो युवाहरुको संजाल निर्माण गरेर रगतको अभावलाई परिपूर्ति गर्दै सजिलै विरामीले आवश्यक परेको बेलामा रगत उपलब्ध हुने वातावरण बनाउन सरकार लाग्नुपर्ने हो । तर सरकारलाई यी सब काम गर्न खास फुर्सद देखिदैन ।
भर्खरै प्रदेश सरकारले बजेट ल्याएको छ । नीति तथा कार्यक्रम पनि बनाएको छ । संघीय सरकारले पनि बजेट ल्याएको छ । नीति कार्यक्रम संघमा पनि पारित भएको छ । तर कतै पनि कुनै पनि तहको सरकारले जनताको जीवन बचाउँने रक्तदान र रगत आपूर्तिजस्तो महत्त्वपूर्ण कार्यमा कुनै ध्यान दिएका छैनन् ।
रक्तदान किन गर्नुपर्छ ?
रक्तदान मानवीय सेवाको उत्कृष्ट उदाहरण हो । यो केवल जीवन बचाउन मात्र होइन दाताको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने भएकोले महत्वपूर्ण छ ।एक पटकको रक्तदानले तीन जनासम्मको जीवन बचाउन सक्छ । अमेरिकामा प्रत्येक दुई सेकेन्डमा कसैलाई न कसैलाई रगतको आवश्यकता पर्छ । तर हाम्रो सहरमा कति समयमा कति रगत आवश्यक छ र त्यसको आपूर्ति कसरी भइरहेको छ त्यो कसैलाई थाहा छैन ।
रक्तदानले जीवन दान त्यतिकै भनिएको होइन
नियमित रक्तदान रक्तचाप घटाउन र हृदयाघातको जोखिम कम गर्न महत्वपूर्ण मानिन्छ । वर्षमा कम्तिमा एक पटक रक्तदान गर्नाले रक्त प्रवाहमा सुधार र धमनीमा अवरोध घटाउन सहयोग गर्ने भएकोले यो कार्यलाई महत्वपूर्ण मानिन्छ ।
रक्तदानका क्रममा निःशुल्क स्वास्थ्य जाँच हुन्छ जसले विभिन्न रोगहरूको पूर्व संकेतहरुको बारेमा व्यक्तिले जानकारी पाउने भएकोले पनि यो महत्वपूर्ण हुन्छ । परोपकार र स्वयंसेवाले व्यक्तिको मानसिक स्वास्थ्य राम्रो हुन्छ जसले मानिसलाई सकारात्मक लाभ पुग्छ । नियमित रक्तदानले शरीरमा हानिकारक कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग गर्ने विज्ञहरुले बताएका छन् ।