मान्छे तराई झरे, पहाडमा विकास पुग्यो

विराटनगर । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ मा रहेको दामोदर माध्यमिक विद्यालयम पहिले ३–४ सय विद्यार्थी हुन्थे । भौगोलिक रुपले विटक क्षेत्रको विद्यालयमा राम्रो सडक नहुँदा घन्टौं हिँडेर विद्यार्थी पुग्ने गरेका थिए । अहिले भने विद्यालय सुनसान जस्तै छ । कक्षा १० सम्म पठानपाठन हुने स्कूलमा अहिले मात्र ९५ विद्यार्थी छन् । सहायक प्रधानाध्यापक योगेन्द्र चौलागाईंका अनुसार २०५० सालपछि विद्यार्थी संख्या घट्न थालेको हो । ‘६०–७० को दशकमा त अत्यधिक विद्यार्थी घटे,’ उनले भने, ‘मुख्यतः क्षेत्री र बाहुन समुदायका मानिसहरू धेरै बसाइँ सरे । अहिले लिम्बु र भुजेल समुदायका विद्यार्थी बढी छन् ।’

पूर्वप्रधानमन्त्री नगेन्द्र प्रसाद रिजालसहित नेताहरु महेश आचार्य र मिनेन्द्र रिजालका पुर्खाहरूले स्थापना गरेका विद्यालय दामोदर रिजालकै नामबाट सञ्चालनमा छ । तर, अहिले गाउँमा रिजाल परिवार छैनन् । परिवारका सदस्यहरू वर्षमा एकपटक भने विद्यालयमा पुगेर सहयोग गर्ने गर्छन् ।

शिक्षक र कर्मचारी गरी १५ जनाको दरबन्दी रहेको विद्यालयमा हाल १३ जना कार्यरत छन् । एक जना शिक्षकको भागमा ७ जना विद्यार्थी छन् । कोशी प्रदेशका पहाडी गाउँहरूमा भइरहेको जनसंख्या ह्रासको उदाहरण हो, विद्यालय ।गाउँमा पुग्न अहिले कालोपत्रे सडक बनेको छ । पहिले पैदल हिँड्नुपर्ने बाध्यता छैन । सवारी साधन सञ्चालनमा छन् । विद्युत गाउँमै पुगेको छ । स्वास्थ्यचौकी स्थापना भएको छ । सदरमुकाम पुगेर लिनुपर्ने सरकारी सेवा अहिले नजिकैको वडा र पालिकाकामा उपलब्ध छ । तर, स्थानीय बासिन्दाहरु बसाई सरेर तराई तथा शहरमा जाने क्रम झनै बढेको छ । पूर्वाधार विकासले बसाई सराई रोक्न नसकेको र यो चुनौति बनेको सहायक प्रधानाध्यापक चौलागाईंले बताए ।

पहाडी जिल्ला धनकुटा र तेह्रथुमा बसाई सराईको असर विद्यालय मात्र होइन, साप्ताहिक लाग्ने हाट–बजारमा पनि परेको छ । तेह्रथुमको सदरमुकाम म्याङलुङको टुडिखेलमा हरेक शुक्रबार र मंगलबार साप्ताहिक हटिया लाग्छ । तर, अहिले हटिया पनि सुक्दै गएको छ ।

‘पहिले किसानहरू डोकामा साग–सब्जी बोकेर आउने गर्थे,’ तेह्रथुम पत्रकार महासंघका सचिव कृष्ण विदुखी गौतमले भने, ‘अहिले सडक बनेको छ । तर, यहाँका उत्पादनहरू कमै देखिन्छन् । सबै बजार तराई तथा भारतबाट आएका साग–सब्जीले भरिन्छ ।’आफ्नै खेतबारीमा उत्पादन हुने वस्तुहरू पनि अहिले अर्काकै भरमा पर्नु परेको छ । हटियामा आउने मानिसहरू पहिलेको तुलनामा आधा घटेका छन् । बसाइँसराइले स्थानीय अर्थतन्त्रमा गहिरो प्रभाव पारेको व्यापारीहरू बताउँछन् ।

विसं २०७८ को जनगणना अनुसार तेह्रथुम जिल्लाको कुल जनसंख्या ८८ हजार ७३१ रहेको छ । जसमध्ये महिला ४५ हजार १५० र पुरुष ४३ हजार ५८१ छन् । त्यसमध्ये पनि एकतिहाई त वैदेशिक रोजगारी र अन्य प्रयोजनको लागि जिल्ला बाहिर नै रहेको अनुमान छ ।

विसं २०६८ मा तेह्रथुमको जनसंख्या १ लाख १ हजार ५७७ थियो । १० वर्षमा जनसंख्या १.३० प्रतिशतको दरलले घटेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ । खानेपानी तथा सिँचाइको चरम अभावका कारण बसाइँसराइ भएको प्रशासनको भनाइ छ । कोशी प्रदेशमा सबैभन्दा कम जनसंख्या भएको जिल्ला हो, तेह्रथुम ।

‘मान्छेले पखेटा लगाएपछि जतिसुकै विकास भए पनि रोक्न सकिंदो रहेनछ,’ स्थानीय मनोज लिम्बूले भने, ‘धेरै क्षेत्री र बाहुन नै बसाइँ सरेका देखिन्छन् ।’ विकासको मोडलमा पछिल्लो दशकमा ग्रामीण क्षेत्रमा भौतिक पूर्वाधारमा उल्लेखनीय सुधार देखिन्छ । विकासका योजनाहरू गाउँसम्म पुगेका छन् । गाउँ छाडेका युवा, श्रमिक, विद्यार्थी वा कामको खोजीमा विदेशिएका जनतालाई फर्काउन स्थानीय तहले प्रयास नगरेका होइनन्, तर त्यो पर्याप्त हुन सकेको छैन ।

धनकुटाको छथर जोरपाटी गाउँपालिकाले गाउँ फर्कनेलाई दुहुना गाई दिने घोषणा गरेको थियो । त्यसको प्रभाब भने खासै देखिएको छैन । अहिलेसम्म दुई जना मात्र गाउँ फर्केको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर तामाङले बताए ।
धनकुटा सदरमुकामदेखि तेलिया जाने बाटो अहिले कालोपत्रे छ । तर, त्यहाँ हिँड्ने मानिसको संख्या भने कम छ । स्थानीयहरूका अनुसार, पहिला विकास थिएन, मान्छे थिए । अहिले विकास आयो, मान्छे आएनन् । विकासको मोडल ढिलो भयो ।

खानेपानी र सिँचाइको अभावले यहाँका धेरै मानिस बसाइँ सरेका थिए । पुरानो समय सम्झँदै दामोदर माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक योगेन्द्र चौलागाईं भन्छन्, ‘पहिला पानी पाइँदैन भनेर हाम्रो विद्यालय भएको क्षेत्रतिर छोरी दिन मान्दैनथे रे । यहाँ आउनेले पानी माग्दा पनि छोरीको पेवा भन्थे रे । अहिले खानेपानी आयो तर मान्छे आएनन् ।’

स्थानीयका अनुसार गाउँका धेरै घर खाली छन् । घरको ढोकामा ताला लागेको छ भने आँगन झारले ढाकिएको छ । मानिस गाउँ छोड्नुका थुप्रै कारण छन् । स्थानीय अगुवाहरूका अनुसार, शिक्षित युवालाई गाउँको जीवन अवसरविहीन लाग्छ । बाँच्न न्यूनतम रोजगारीको अभाव र कृषिबाट नाफा नहुनु बसाइँसराइका मुख्य कारण हुन् ।

रोजगारीको अवसर नहुँदा विकास पुगे पनि मानिस गाउँ फर्केका छैनन् । बत्ती बल्न थालेका छन्, इन्टरनेट चल्न थालेको छ, प्राथमिक स्वास्थ्य केन्द्रहरू बनेका छन्, विद्यालयमा पक्की भवन बनेका छन् । तर, यी सबै भौतिक संरचनाहरूले मानिस फर्काउन सकेका छैनन् ।

सुरक्षित, सम्मानजनक र सम्भावनायुक्त वातावरण बनाउन नसकेसम्म गाउँ फर्काउने सम्भावना न्यून नै देखिन्छ । भौतिक विकास मात्र पर्याप्त छैन, मानव विकासमा पनि ध्यान दिनु आवश्यक छ भन्ने कुरा जानकारहरू बताउँछन् ।मुलुक संघीयतामा गएसँगै प्रदेश र स्थानीय तहका सरकारले पूर्वाधार विकासमा धेरै काम गरेका छधन् । कोशी प्रदेशका पहाडी गाउँहरूमा गाडी गुड्ने सडक बनेका छन्, बत्ती बल्न थालेका छन्, इन्टरनेट चल्न थालेको छ । तर, उपभोग गर्ने मान्छे भने कम छन् ।

जेष्ठ ११, २०८२, बिहानको ०९:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर