एक क्लिकमा घरघरै सामान

विराटनगर महानगरपालिका–१ ठुलोमिलमा कार्यालय राखेर सञ्चालन भइरहेको ‘घरदैलोसम्म’ ले चार वर्षयता नामजस्तै घरदैलोसम्म पुगेर फुड डेलिभरी गरिरहेको छ । काठमाडौंमा ‘मार्केटिङ’ को जागिर छोडेर विराटनगर आइपुगेका आशिष अर्यालले घरदैलोसम्म नामक एप, वेबसाइट र सामाजिक सञ्जालमार्फत् खाना, पेयपदार्थ उपभोक्ताको घरसम्म पु¥याउने काम गरिरहेका छन् ।

चार वर्षअघि विश्व कोरोनासँग आक्रान्त भइरहँदा नेपालमा दोस्रो चरणको ‘लकडाउन’ जारी थियो । घरबाहिर निस्कन नपाएपछि अनलाइनमार्फत् सामान किनबेच गर्ने सिलसिला बढेपछि आशिषले घरदैलोसम्मको सुरुआत गरेका थिए । त्यसबेला १५ लाख रुपैयाँ खर्चिएर थालिएको घरदैलोसम्ममा हाल ६ जना राइडरसहित नौ जनाले रोजगारी पाएका छन् ।

सरदर दैनिक ८० जनाको अर्डर आउने गरेको घरदैलोले विराटनगरभित्र ४० रुपैयाँमा डेलिभरी गर्ने गरेको छ । तथापि, विश्वव्यापी आर्थिक मन्दी र अनलाइन व्यवसायतर्फ आकर्षित हुनेहरूको संख्या बढ्दा पछिल्लो समय आफूहरूको व्यापार घटेको आशिष सुनाउँछन् । ‘अहिले त बजार प्रतिस्पर्धात्मक बनेको छ,’ उनी भन्छन्, ‘मैले थाल्दा केही अनलाइन सपिङ कम्पनीमात्र थिए । अहिले यसको संख्यामा बढोत्तरी भएको छ भने विश्वसनीयतामा गिरावट आएको छ । यसकारण पनि होला, व्यापार घटिरहेको अवस्था छ ।’

घरदैलोसम्मलाई अझ विस्तार गर्ने योजना बुनिएको भए पनि खुम्चँदो अर्थतन्त्रलाई ध्यानमा राखेर उक्त योजना साकार तुल्याउन नसकेको सञ्चालक अर्याल बताउँछन् ।विराटनगरमा खुलेको अनलाइन कम्पनीहरूमध्ये पहिलो मानिन्छ, ‘क्विकर फुड’ लाई । तर, २०२२ मा क्विकर फुडलाई आफ्नो मातहतमा ल्याएपछि ‘भोज’ विराटनगरमा चर्चित छ । विराटनगर–७ हाटखोलामा अफिस राखेर सञ्चालन भइरहेको भोजको यो शाखामा मात्र १७ जना राइडर्स छन् भने यहाँ प्रतिदिन ३०० भन्दा धेरै अर्डर आउँछन् ।
भोजले विभिन्न रेस्टुरेन्टसँगको सहकार्यमा खानाका विभिन्न परिकारका साथै तरकारी र फलफूल उपभोक्ताको घर–घरमा पु¥याइरहेको भोजका कोशी प्रदेश प्रमुख सद्दाम हुसेन बताउँछन् । क्विकरमा एउटा कर्मचारीका रूपमा काम गरेर अहिले भोजको प्रदेशभरि नै व्यवस्थापन हेर्ने गरेका हुसेन भन्छन्, ‘अहिले अनलाइन कम्पनीहरू थुप्रै खुलेका छन् । तर, कस्टुमरले अर्डर गरिसकेपछि उचित समयमै डेलिभरी गर्ने कुरामा चुक्न पुग्दा उपभोक्ताले विश्वास गर्न छोडेका छन् । हामीले भने त्यस्ता कुरामा सचेत भएर सेवा दिइरहेका छौं ।’

क्विकर आफ्नो मातहतमा ल्याएपछि व्यापारमा पनि वृद्धि भएको बताउँदै उनले भोजमा किलोमिटरका आधारमा डेलिभरी चार्ज लिनेको गरिएको सुनाए । उनका अनुसार तीन किलोमिटरभित्र ४९ र त्यसभन्दा माथि ८ किलोमिटरसम्म ६९ रुपैयाँ ग्राहकसँग डेलिभरी चार्ज लिने गरिएको छ ।

सन् २०१९ यता इलेक्ट्रोनिक्स आइटम, खाद्यान्न, कपडा र भाँडा डेलिभरी गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको बिज संसारले पनि आफ्नो सेवालाई निरन्तरता दिइरहेको छ । विराटनगरका समीर तामाङ र सन्दीप तामाङ दाजु–भाइले चलाइरहेको दैनिक रूपमा १५ जनासम्मको अर्डर लिएर सामान घर–घर पु¥याउँदै आइरहेको छ ।

कोभिड–१९ को महामारीको समयमा उपभोक्ताको सुरक्षालाई ध्यान दिएर थालिएको बिज संसारले मोबाइल एप्स, वेब पोर्टल र सोसल मिडयामार्फत अर्डर लिने र सामग्री घरदैलोमा पु¥याउने कामलाई निरन्तरता दिइएको सञ्चालक समीर बताउँछन् ।
विराटनगरको बसपार्कमा मुख्यालय राखेर कुरियरमार्फत् नेपालभरि नै सामान डेलिभरी गर्ने काममा जुटेको बिज संसारले राइडर्सको व्यवस्था भने गरेको छैन । विशेषगरी सहरी जीवनशैली भएका मानिसहरू धेरै अनलाइन नै खरिद–बिक्री गर्न मन पराउन थालेको उल्लेख गर्दै सञ्चालक समीरले अहिले हरेक पसलेले अनलाइन सपिङको व्यवस्था गरिदिनाले मुख्य उद्देश्यका साथ सञ्चालित अनलाइन कम्पनीहरू मर्कामा परेको सुनाए ।

हामीले थाल्दा अनलाइन सपिङ सेवा हाबी थिएन, तर अहिले विराटनगरमा छ्यापछ्याप्ती छन्’ उनी भन्छन्, ‘धेरै भए पनि बजार प्रतिस्पर्धात्मक मात्र हुँदैन विश्वसनीयता पनि घट्छ । यसकारण हामीलाई केही अफ्ठेरो भएको छ ।’
कुनै बेला विराटनगरस्थित ओपासिटी कार्गोमा काम गर्दै आएका प्रमोद मण्डलले अघिल्लो वर्षमात्र पर्फेक्ट डेलिभरी नामक अनलाइन सपिङ चलाइरहेका छन् । विराटनगरको तीनपैनीमा कार्यालय राखेर सञ्चालनमा आएको पर्फेक्ट डेलिभरीले विभिन्न रेस्टुरेन्टहरूले टिपाएको अर्डरअनुसार खाना ग्राहकसमक्ष पु¥याइरहेको छ ।

‘पिक एन्ड ड्रप’ का रूपमा काम गरिरहेको बताउँदै सञ्चालक मण्डलले भने, ‘हामीसँग विराटनगरका केही होटल–रेस्टुरेन्टहरूले सम्झौता गर्नुभएको छ । जसअन्तर्गत त्यहाँ अर्डर आएपछि हाम्रा राइडर्सले उपभोक्तासमक्ष पु¥याइदिन्छन् ।’
दुई जना राइडर्ससहित तीन जनाले यस अनलाइन कम्पनीमा जागिर पाएको बताउँदै उनले अहिले कम्पनीले विराटनगरभित्र ५० रुपैयाँ र विराटनगरबाहिर १०० रुपैयाँसम्म डेलिभरी चार्ज लिनेगरेको जानकारी दिए । ‘मार्केट डाउन भएका कारण ठिकठाकमात्र व्यापार छ,’ उनले भने, ‘पहिलेजस्तो नभए पनि छिटो–छरितो सेवा दिन सकेमा फाइदै हुन्छ ।’

चितवनमा प्रधान कार्यालय रहेर सन् २०१५ देखि नै सञ्चालनमा आएको मेरो किनमेलको विराटनगर शाखा भने ६ महिनाअघि मात्र खुलेको हो । विराटनगरस्थित सेञ्चुरियन मलको पछाडि कार्यालय राखेकोमेरो किनमेलको यस शाखाले दैनिक ५० सम्म अर्डर लिने गरेको छ । विशेषरी फुड र कोल्ड ड्रिंक्स अर्डर लिने गरेको मेरो किनमेलले प्रतिकिलोमिटर २० रुपैयाँसम्म डेलिभरी चार्ज गर्ने गरेकोछ । विराटनगर शाखा प्रमुख सरोज श्रेष्ठका अनुसार मेरो किनमेल विराटनगर र चितवनसहित नौवटा सहरमा छन् ।
अनलाइन कम्पनीबाहेक विराटनगरका अधिकांश व्यवसायीले टिकटक, फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमार्फत् उपभोक्तालाई सेवा दिँदै आएका छन् । तर, अनलाइनमा ग्राहकसँग बोल्न थालेमा पसलमा समय दिन नपाइने र आफूहरूको नाम दुरुपयोग गरी ठगी हुने भएकाले त्यतातर्फ ध्यान दिन छोडेको युवा व्यवसायी सन्दीप साह बताउँछन् ।

विराटनगरको ट्राफिक चोकमा ‘द न्यू सप’ चलाउँदै आएका साह भन्छन्, ‘अनलाइन कम्पनी दर्ता नगरी चलाउँदा झन् विश्वसनीयता घट्दो रहेछ । मेरो नाममै सोसल मिडियाको आइडी बनाएर ग्राहकसँग रकम लिने अनि ब्लक गर्ने प्रवृत्ति बढेपछि अहिले अनलाइनतिर ध्यान दिन्नँ ।’

पछिल्लो समय सहरी क्षेत्रमा फस्टाउँदो रूपमा रहेको इ–कमर्सले व्यस्त जीवनशैलीलाई प्रविधिको प्रयोगले किनमेलमा निकै सघाएको छ । त्यसबाहेक सानो पुँजीमा व्यापार व्यवसाय सञ्चालन गर्न सकिने भएपछि यसमा जोडिएर स्वरोजगार बन्ने र अरूलाई पनि रोजगारी सिर्जना गर्न सक्नेसम्मको अवस्थामा अनलाइन व्यापार आइसकेको छ । तर, यसमा विविध समस्या र चुनौतीहरू छन् । देशको आन्तरिक व्यापारमा अनलाइनको माध्यमबाट हुने कारोबारको हिस्सा बढ्दै गए पनि यसमा उपभोक्ताको पूर्ण विस्वास भने अझै जागिसकेको छैन । अनलाइन कम्पनीले ‘सुन देखाएर पित्तलको व्यापार गर्छन्’ भन्ने बुझाइ आमउपभोक्तामा छँदै छ । यसलाई चिर्नु आजको आवश्यकता हो ।

अर्थविद् बेदराज आचार्य अनलाइन ब्यापार विश्वव्यापी सञ्जाल भएका कारण यसले स्थानीय अर्थतन्त्रलाई विश्वबजारसँग जोड्ने काम गरेको बताउँछन् । तथापि, ऐन, नियम र नियमन अभावका कारण आमउपभोक्ता यसप्रति विश्वस्त भने हुन नसकेकोआचार्यको धारणा छ ।

‘केही कमी–कमजोरी भएरै त होला, अमेरिकालगायत केही देशले नगद कारोबारमा तीन प्रतिशत छुट दिएको थियो,’ उनले भने, ‘प्रविधिलाई निष्क्रिय बनाएर दुरुपयोग गर्नेहरू नियमनकारीभन्दा अगाडि देखिएका छन् । यसैले पनि यसमा केही चुनौती छन् ।’ यद्यपि, कोरोना महामारीका बेला अनलाइन ब्यापारले उपभोक्तालाई सहज बनाएको र संक्रमणको ‘चेन’ रोक्न सार्थक भूमिका बहन गरेको उनले स्मरण गरे ।

अनलाइन व्यापारमा तरंगित विराटनगर

विश्वबजार अहिले डिजिटल क्रान्तिको तरंगमा छ । डिजिटल भुक्तानीमार्फत उपभोक्ताहरू एक क्लिकमा आफ्नो रोजाइअनुसारको सामग्री घर बसी–बसी प्राप्त गर्न सक्छन् । उसैगरी, सानादेखि ठुला व्यवसायीले सोसल मिडियासहित विभिन्न अनलाइन प्लेटफर्ममार्फत सामान बिक्री गरिरहेका छन् ।

स्थानीय अर्थतन्त्रलाई विश्व बजारसँग जोड्ने काम गरिरहेको अनलाइन व्यापारको ‘ट्रेन्ड’ विराटनगरमा पनि उत्तिकै विस्तार भएको छ । पूर्वको व्यापारिक केन्द्र मानिएको विराटनगर अब परम्परागत व्यापारबाट उक्लिँदै डिजिटल रूपान्तरणको बाटोमा अघि बढिरहेको छ । कोशी प्रदेशको राजधानी विराटनगरका उपभोक्ताले अनलाइन व्यापारप्रति देखाएको रुचि र प्रविधिको शक्तिलाई बुझेर स्थानीय उद्यमीहरूले नयाँ–नयाँ अनलाइन प्लेटफर्महरू विकास गरिरहेका छन् ।

विशेषगरी कोरोना महामारीपछि विराटनगरमा अनलाइन सपिङ प्लेटफर्महरू खुल्ने क्रम बढ्दो छ । कोरोना भाइरसको संक्रमण जनमानसमा फैलन नदिन सरकारले ‘लकडाउन’ गरेपछि घरभित्रै सीमित उपभोक्तालाई मध्येनजर गरेर अनलाइनमार्फत् खानाका विभिन्न परिकार, पेय पदार्थ, कपडा, फर्निचरका सामानलगायत अन्य सामग्री घर–घरमै पु¥याउन खुलेका त्यस्ता प्लेटफर्मले अहिलेसम्म निरन्तरता पाइरहेका छन् ।

विराटनगरमा अनलाइन व्यापारको यात्रा सुरुआती चरणमा भए पनि विकासको गति भने उत्साहजनक छ । अझ, पछिल्लो समयस्थानीय युवा उद्यमीहरूसमेत डिजिटल प्लेटफर्ममा सक्रिय हुन थालेका छन् । स्थानीय पसलेहरूलेसामाजिक सञ्जाल र फोनमार्फत् नै आफ्ना वस्तुहरू बिक्री गरिरहेका छन् ।

शुक्रबार, ०३ जेठ, २०८२, साँझको ०५:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर