सामाजिक सञ्जाल नियमन गर्ने कानुन आवश्यक देखियो

विराटनगर । आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै आमसञ्चार माध्यमप्रतिवको लोकप्रियता घट्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

कानुनी मूल्य र प्रक्रिया अनुसार विश्वसनीयढंगबाट संचालन हुने आमसञ्चार माध्यमको लोकप्रियता कम हुँदै जाने र सामाजिक सञ्जालहरुबाट प्रवाह हुने सूचना जसको सत्यतथ्य प्रमाणित भइसकेको हुँदैन त्यसको प्रभाव बढ्दै जाने अवस्थालाई नियमन गर्र्नुपर्ने उनको भनाइ थियो ।

दशौं राष्ट्रिय पत्रकारिता दिवशको अवसरमा मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले समग्र पत्रकारिता क्षेत्रको अवस्था दिनप्रतिदिन कमजोर बन्दै जानुको कारणको खोजी गर्नुपर्ने बताए । उनले कोरोना महामारीपछि विश्व अर्थतन्त्रमा परेको नकारात्मक प्रभावको असर नेपाली मिडिमा पनि परेका कारण सञ्चार क्षेत्र कमजोर हुने एउटा कारण भएको बताए । त्यस्तै सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण आम सञ्चार माध्यमप्रतिको घट्दो लोकप्रियता अर्को कारण भएको बताए ।

आमसञ्चार माध्यमप्रतिको विश्वसनीयता र प्रभावलाई कायम राख्न छाडा ढंगबाट सञ्चालन भइरहेका सामाजिक सञ्जालहरुलाई नियमन गर्नुपर्ने उनको भनाइ थिजयो । उनले अहिलेको अवस्थालाई हेर्दा नेपाल सरकारले अगाडि बढाएको सामाजिक सञ्जाल नियमन विधेयकमा धेरै चर्को विरोध गर्नुपर्ने आवश्यकता नरहेको बताए । उनले भने, ‘केही कमी छन् भने त्यसमा सुधार गर्नुपर्छ भन्ने सम्मका कुराहरु ठिकै हुन् तर, सामाजिक सञ्जाल सम्बन्धी कानुन नेपालमा आवश्यक छ र त्यसलाई जथाभावी छाडा छोड्न र अराजकताको साधन बनाइन हुँदैन ।’ राष्ट्रिय पत्रकारिता दिवसका दिनमा आयोजना भएको छलफलमा यस विषयमा सबैको साझा धारणा बन्नु पर्ने उनको भनाइ थियो ।

सोही क्रममा मन्त्री भण्डारीले हरेक वर्ष कोशी प्रदेश सरकारले राष्ट्रिय पत्रकारिता दिवसकै दिनमा पत्रकारहरुलाई सम्मान र पुरस्कृत गर्ने कार्यलाई पछाडि सारेको विषयमा स्पष्टीकरणसमेत दिए । कोशी सरकारले वैशाख २४ गतेका दिन दिँदै आएको पुरस्कार गणतन्त्र दिवसका दिनमा प्रदान गर्ने गरी सारेको छ । त्यस विषयमा नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष भरत खड्काले असहमति जनाउँदै वैशाख २४ गते नै उक्त पुरस्कार प्रदान गर्नुपर्ने बताएका थिए । तर मन्त्री भण्डारीले पुरस्कारलाई थप गरिमामय बनाउनका लागि गणतन्त्र दिवसका दिनमा दिनेगरी सारेको बताएका हुन् । उनले भने, ‘हामीले पुरस्कार प्रदान गर्न नसकेर, त्रुटी गरेर, कमजोरी भएर यो सम्मानलाई १५ गते सार्न खोजेको होइन । एउटा परम्परा जस्तो त भयो तर, जसलाई सम्मान गर्न खोजेको हो उसलाइ, सम्मानलाई अझ महत्वपूर्ण राष्ट्रिय चाडका दिनमा प्रदान गर्दा सम्मानको गरिमा पनि अझ राम्रो हुने ठानेर सारिएको हो ।’ उनले गणतन्त्र दिवसमा थप पाँच विद्यार्थीहरुलाई सम्मान गर्ने तयारी गरिएको पनि बताए ।

मन्त्री भण्डारीले भ्रमपूर्ण सूचनाहरुको माध्यमबाट विभिन्न पक्षबाट लोकतन्त्रलाई कमजोर पार्ने प्रयासहरु भइरहेको पनि बताए । उनले लोकतन्त्रको साख र यसको महत्वपूर्ण सैद्धान्तिक विषयलाई कमजोर पार्ने प्रयत्नविरुद्ध सचेत हुनुपर्ने बताए । नेपालमा केहि गर्न सकिदैन भनेर राष्ट्रलाई कमजोर बनाउने र नागरिकमा निराशा छरेर लोकतान्त्रीक गणतन्त्रलाई कमजोर पार्न भइरहेका प्रयत्नहरुलाई असफल बनाउने दायित्व सबैको रहेको उनले बताए ।

‘अहिलेको अवस्थामा केहि कमिकमजोरीहरु भएपनि त्यसको संसोधन गर्न र सच्याउन सकिने भएपनि लोकतन्त्रको विकल्प अरु कुनै व्यवस्था हुन नसक्ने उनले जिकिर गरे । लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प निरकुंश शासन व्यवस्था हुन सक्दैन । लोकतन्त्र स्थापनामा संचार माध्यमले पनि विगतमा पनि महत्वपूर्ण भूमिका खेलेको र अब पनि लोकतन्त्रको रक्षाका निम्ति पनि सञ्चार माध्यम र पत्रकारहरुको उत्तिकै भूमिका खेल्नुुपर्छ ।’

बिहिबार, २५ बैशाख, २०८२, दिउँसोको ०१:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर