
धर्मशिला चापागाईं
वैशाख २३ गते नेकपा एमालेका पुराना नेता क.प्रदिपकुमार नेपालको निधन भयो । उहाँ हालको एमाले पार्टीको आधार निर्माण गर्नेमध्ये एक हुनुहुन्थ्यो । हामी पछिल्लो समयमा पूर्वमा भूमिगत भएर काम गर्दै गर्दा उहाँका बारे धेरै कुरा सुन्थ्यौ । संजय थापाका नामबाट प्रकाशित केही पुस्तक पढेको पनि छु । म आफू नजन्मिदै राजनीतिक यात्राको सुरुवात गर्नुभएको रहेछ । पञ्चायती निरंकुशताका बिरुद्ध कम्युनिष्ट आन्दोलन सिर्जना गर्ने क.नेपाल पछिल्लो समय भौतिक रुपमा अस्वस्थ्य हुनुहुन्थ्यो । आक्कल झुक्कल केही कार्यक्रममा भेट हुँदाको उहाँको अवस्था देख्दा पहिले हामीले सुनेका प्रदिप नेपाल अनि साहित्य क्षेत्रका सञ्जय थापा भौतिक रुपमा मात्रै नभएर भावनात्मक हिसाबमा पनि गल्नुभएको भाव पाइन्थ्यो ।
नेपाली काँग्रेसका नेताद्वय गणेशमान सिंह अनि कृष्णप्रसाद भट्टराईसँंग व्यक्तिगत भेट हुन पाएन । सायद नेपाली राजनीतिमा हामी खुट्टा टेक्दै थियौं, उहाँहरुले बिश्राम लिँदैगर्दा । तर, उहाँहरु जिवितै हुँदा नेपालको निरंकुश शासन व्यवस्थाका बिरुद्ध लड्दै गर्नुभएको देखेको हो । २०४६ सालको आन्दोलनमा लामवद्ध हुँदै थिएँ, म पनि । त्यसैबेला गणेशमान सिंहका बारे पत्रपत्रिकामा पढ्न पाइन्थ्यो । भाषण रेडियो नेपालबाट सुनिन्थ्यो । कृष्णप्रसाद भट्टराईलाई पनि उसै गरि चिनेको हो । तर, के कुरा साँचो हो भने नेपाली काँग्रेस पार्टीमा बि.पि. कोइराला पछि उहाँहरुको मेहनत ठूलो थियो ।
मैले दुई वटा पार्टीका तीन नेताका बारे उल्लेख गर्दै गर्दा जीवनको उत्तराद्र्धमा किन आफैले निर्माण गरेका पार्टीप्रति असन्तुष्टि थिषे होला भन्ने प्रश्न छ । क.प्रदिप नेपालले ५ वर्ष अगाडि नै पुस्तकमा आफ्नो मृत्यु पश्चात परिवारले गरिदिनुपर्ने विधिका बारे लेखेर किन राखिदिनु भएको होला ? किन गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले पार्टी परित्यागको घोषणा गर्नुभएको थियो होला ? किन आफ्नो मृत्यु पश्चात् पार्टीका झण्डा नओढाउन भन्नुभएको थियो होला ?
समकालीन राजनीतिमा यो विषय छलफल हुनु जरुरी देख्छु । राजनीतिक पार्टी निश्चित सिद्धान्त, विचार, दृष्टिकोणका आधारमा निर्माण गरिन्छन् । तिनको आफ्नो लक्ष्य हुन्छ । हाम्रो मुलुकका सन्दर्भमा हेर्ने हो भने अहिलेका मुख्य राजनीतिक दलहरु राणा शासनका बिरुद्ध लडेर मुलुकलाई स्वतन्त्र बनाउने उद्देश्य राखेर निर्माण गरिएका हुन् । पछि यीनै दलहरुले पञ्चायती निरंकुशताका बिरुद्ध पनि लड्नु पर्यो ।
जहानिया राणा शासन थला परेको शाह बंशलाई साथमा लिएर २००७ सालमा संघर्ष गरेका पुष्पलाल श्रेष्ठ, बि.पी. कोइरालाहरुपछि महेन्द्र शाहकै दमनमा परे । २०१७ पछि नेपालको राजतन्त्र र राजनीतिक दलहरुबीच नै संघर्ष हुँदै २०४६ सालमा प्रजातन्त्र पुनः स्थापना गर्न पुगे, दलहरु । २०४७ को संविधानमा राजतन्त्रलाई संवैधानिक घोषणा गरिएको थियो । मुलुकमा राजनीतिक दलहरु आवधिक निर्वाचन प्रणालीमार्फत प्रतिस्पर्धात्मक रुपमा जाने र निर्वाचित भएर मुलुकको शासन सत्ता सञ्चालन गर्ने दिशामा लागे ।
निर्वाचनमा राजनीतिक दलहरु प्रत्यक्ष प्रतिस्पर्धा गर्ने र निर्वाचित हुने विधितिर जाँदैगर्दा जुन दृश्यहरु देखा पर्न थाल्यो, त्यसपछि त्यो तहका नेतामा त्यस्तो वितृष्णा किन पैदा हुँदैगयो र अन्ततः आफैं सहभागी बनेर निर्माण गरेको पार्टी र उठाएको झण्डा प्रतिनै विरक्तता पैदा हुन पुग्यो ? हामी राजनीतिमा लागेर काम गर्दै गरेका कार्यकर्ताहरुले खोजी गर्नु पर्दछ । हाम्रो मुलुकको सन्दर्भमा हेर्दा पुरानो शासन व्यवस्थाका बिरुद्ध संघर्ष गर्दै न्याय र स्वतन्त्रताका निम्ति संघर्ष गर्ने उद्देश्यले राजनीतिक पार्टी स्थापना गरिएका थिए । संघर्षमा रहुञ्जेल लक्षित वर्ग पार्टीको मूल धारमा रहने । तर, जब सत्ता प्राप्ति हुन पुग्दछ, खुला राजनीतिक अवस्थामा प्रवेश गर्दा हिजोको सिद्धान्तप्रतिको प्रतिबद्धता, निष्ठा, स्वाभिमान, इमान्दारिता, लगनशीलता किन ओझेलमा पर्दछ ?
हिजो दुःख कष्ट गरेका पात्र र प्रवृत्तिहरु किन बिकामे लाग्दै जान्छन् र नयाँ अनुहार सतहमा देखा पर्दै जान्छन् ? किन हिजोको जीवनशैली भद्दा लाग्न थाल्छ होला ? किन अर्कै खाले संगत र हितैषीहरु बढ्दै गएका होलान् ? हिजोका दिनमा किसान, मजदुर, व्यापारी नै भए पनि दुःख जिलो गरेर जीवन धान्दै आएको पृष्ठभूमिबाट राजनीतिमा लागेकाहरु हामी तिनैको प्रतिनिधि हौँ भन्न गर्व गर्थे । तर, आज किन किसान, मजदुर जस्तै मात्रै देखिन खोजेका होलान् ?
हिजोका जस्तै निर्धक्कका साथ तिनैको प्रतिनिधि भन्न धक लाग्न थालेको होला ? सत्ताप्राप्ति पछाडि जे–जे गरिनेछ भनेर राखेको तर पछि निर्धारित लक्ष्यमा पार्टीलाई लान के ले रोकेको होला ? यस्ता थुप्रै प्रश्नहरु छन् आज । जसका हातमा पार्टी र सत्ताको बागडोर पुग्यो, उनैप्रति उहाँ नेताहरुको व्यङ्ग्यबाण सुनिएकै हो । कतै यी सबै प्रश्नकै कारण उहाँहरु यो तहको निराशाबीच जीवनका अन्तिम समयहरु काट्नु परेको त होइन ? यदि अब पनि मुलुकमा उहाँहरुका यस्ता अभिव्यक्ति र अनिच्छाहरुलाई बेवास्ता गर्ने हो भने केही थान नेता कार्यकर्ता मात्रैको जीवन निराश भएर बित्ने होइन, मुलुकको भविष्य नै अन्योलमा पर्ने निश्चित छ ।