विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका ५ स्थित सिवाई–बेल्हा गाउँको बीचमा रहेको त्रियुगा खोलाको बाढीले यात्रुबस बगाएको छ ।
सोमबार राति सिवाईबाट सप्तरीमा बिहेको जन्ती पुर्याएर बेल्टार फर्किने क्रममा को १ ख ४७५३ नम्बरको बराहक्षेत्र नामक यात्रुबाहक त्रियुगामा आएको बाढीले बगाएको हो ।
इलाका प्रहरी कार्यालय सिवाईका असई जगदशप्रसाद मेहताका अनुसार राति ११ बजे त्रियुगा खोलामा आएको बाढीमा बगेको हो । दिउँसोदेखि नै पानी परेकाले त्रियुगामा बाढी आएकोले खोला तर्ने क्रममा बस बगाएको प्रहरीले जनाको छ ।
खोलामा डुबेको बसमा चालक र सहचालक मात्रै थिए । उनीहरू सकुशल रहेको र बस निकाल्न क्रेन बोलाइएको प्रहरीले जनाएको छ ।
सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीमा बाढी आउँदा बर्खायाममा स्थानीयले प्रत्येक वर्ष सास्ती भोग्नु परेको छ । सो खोलामा निर्माण भएको पक्कीपुल उद्घाटनअघि नै भाँचिएपछि यस्तो समस्या भएको हो ।
हिउँदमा ह्युमपाइप राखेर अस्थायी बाटो बनाए पनि बर्खायाम सुरु नहुँदै नदीले आफ्नो रौद्र रूप देखाउन थाल्ने स्थानीय बताउँछन् । सिवाई बेल्हा जोड्ने यो पुल २०६६ सालमा शिलान्यास भई २०७८ मा निर्माण सम्पन्न हुने चरणमा बाढीले बगाएको थियो । पुलका दुईवटा पिलर भासिएर तीन वटा स्पानमा क्षति पुगेपछि पुल अलपत्र छ ।