विराटनगर । सुनसरीको दक्षिणी क्षेत्रमा पर्ने देवानगंज गाउँपालिकाको खेतीयोग्य जमिन यतिबेला हराभरा छ । गहुँ काटेर भर्खरै खाली भएको बाहेक कुनै जमिन बाँझो छैन । मकै खेतीले ढकमक भएको खेत आँखाले देखुन्जेल हरियो देखिन्छ । कतै उखु हुर्किरहेको छ, कतै केरा खेती छ, कतै तरकारीका अनेकन जातहरुले खेत ढपक्कै ढाकिएको दृश्यले त्यहाँ पुग्ने सबैको ध्यान सहजै खिच्ने गरेको छ ।
देवानगंज कोशी प्रदेशमै सबैभन्दा धेरै तरकारी उत्पादन हुने गाउँपालिका हो । त्यहाँ उत्पादन भएको तरकारीले प्रदेश राजधानी विराटनगरको झण्डै ७० प्रतिशत हरियो तरकारीको माग पूरा गर्ने गरेको छ । त्यसबाहेक त्यहाँ उत्पादित तरकारी इटहरी, धरान, बिर्तामोड तथा कतिपय तरकारीहरु काठमाडांैसम्म पनि निर्यात हुने गरेको छ । देवानगंज गाउँपालिकाको झण्डै ८ हजार हेक्टर जमिनमा तरकारी खेती हुने गरेको छ । युवा उमेरकादेखि वृद्धवृद्धासमेतले तरकारी खेती र अन्य कृषि उत्पादनलाई आफ्नो जीवन नै बनाएका छन् ।
कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलले देवानगंजका किसानहरु अत्यन्त मिहेनती रहेको बताए । ‘यहाँका किसानहरु धेरै मिहेनती हुनुहुन्छ, जमिनबाट वर्षमा चार बालीसम्म उत्पादन लिइरहनुभएको छ, उहाँहरुलाई कसैसँग बोल्ने र अनावश्यक काममा एक दुई घण्टा समय खर्चिने फुर्सदसम्म छैन,’ पोखरेलले भने ।
त्यहाँका किसानले जसरी रमाएर खेती गरेर उत्पादन लिइरहेका छन् देख्नेलाई लाग्छ देशमा सरकारले किसानका लागि राम्रै गरेको रहेछ । त्यसैले उनीहरु यति दत्तचित्त भएर काम गरिरहेका छन् । तर त्यसरी खेतबारीलाई लहलह बनाउने प्रक्रियामा उनीहरुले भोग्नुपरिरहेको दुःख र कष्ट भने असाध्य छ । त्यसैले त्यहाँका किसानहरु भन्छन्, ‘बाहिर जस्तो देखिन्छ भित्रको कथाव्यथा त्यस्तो छैन ।’

त्यहाँका किसानहरु कृषि उत्पादनमा रमाएर लगानी गरिरहेका छन् । उनीहरुले लगानीमात्र गरेका छैनन् कृषि कर्मलाई नै आफ्नो जीवनको आधार बनाएका छन् । यतिबेला देवानगंजमा तरकारी बालीबाहेक जताततै लहलह मकै फलिरहेको देख्न सकिन्छ । लाग्छ यो क्षेत्र मकैको जंगल नै हो । किसानहरुले तरकारी खेतीबाट भन्दा मकैखेतीबाट राम्रो आम्दानी हुने भएपछि केही वर्षयता मकै उत्पादनमा बढी लगानी गरिरहेका छन् । तर हिउँदको करिव चार महिना बाहेक उनीहरुले खेतमा तरकारी बालीमै जोड दिने गरेका छन् । त्यहाँका किसानहरुले कृषि कर्मबाटै मनग्य आम्दानी गर्ने गरेका छन् ।
कृषिलाई नै जीवन ठानेर दिनरात मिहेनत गरिरहेका किसानहरु भने कृषि उपजले उचित मूल्य नपाएकोमा निराश छन् । देवानगंग गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहता किसानले उत्पादन गरेको गोलभेडा अहिले प्रतिकिलो तीन रुपियाँका दरले बेच्नु परिरहेको बताउँछन् । ‘किसानको लगानी नै प्रतिकिलो १०–१२ रुपियाँ भन्दा बढी पर्छ अनि बजारमा तीन रुपियाँमा बेच्नु परेपछि कसरी कृषि गर्न सकिन्छ ?’, उनले भने ।
आफ्नो उत्पादनको उचित मूल्य नपाउने समस्यामात्र होइन अनेकखालका समस्याहरु किसानहरुले झेल्नुपरिरहेको छ । तरकारीको बिउ किन्न दर्जनौं पसलहरु चहार्नुपर्ने बाध्यता छ, सरकारले एकै ठाउँमा सबै प्रकारका बिउ बिक्री गर्ने पसलहरुका लागि समन्वय गरिदिनुपर्ने स्थानीय किसान हिटलर मेहताको सुझाव छ ।
रसायनिक मलको समस्या किसानहरुका लागि सबैभन्दा पीडादायी बन्ने गरेको उनीहरु सुनाउँछन् । आवश्यक मात्रामा मल नपाइने, पाइएको खण्डमा पनि चाहिएजति नपाइने, भारततर्फबाट ल्याउँदा सुरक्षाकर्मीले बरामद गर्ने र दुःख दिने, तरकारीको न्युनतम मूल्य निर्धारण नहुने, सरकारले जेटिएको सुविधा आवश्यकता अनुसार उपलब्ध नगराउँदा बाली जोगाउन समस्या हुनेजस्ता अनेकन समस्याहरु किसानले झेल्नुपर्ने उनीहरुको भनाइ छ । ‘त्यति गरेर उब्जाएको तरकारीले उचित मूल्य नपाउने मात्र होइन बेच्नका लागि बजार लैजाँदा सुरक्षाकर्मीले भारततिरबाट ल्याएको भन्दै दुःख दिने, आफ्नै खेतमा फलेको तरकारी बेच्न पनि प्रहरीलाई बाटोमा घुस दिनुपर्ने जस्ता समस्या झेल्नु परिरहेको गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहता बताउँछन् ।
देवानगंज गाउँपालिकाका किसान परमानन्द मेहताले झण्डै ३ बिघा खेतमा तरकारी खेती गरिरहेका छन् । ओम कृषि फर्म दर्ता गराएर व्यवसायिक खेती गरिरहेका मेहताको खेतमा यतिबेला भन्टा, काँक्रा, घिरौंला, भिण्डी, खुर्सानीजस्ता दर्जनजति तरकारी छन् । ‘हरेक सिजनका लागि आवश्यक तरकारी पालो मिलाएर उब्जाउने गरेको छु । विगत २० वर्षदेखि तरकारी खेतीमा काम गरिरहेको म र मजस्ता अरु किसानलाई सरकारले सहयोग गरेर प्रोत्साहन गर्न भने सकेको छैन । सरकारले समस्था थाहा पाएर पनि समाधानका लागि काम नगर्दा किसानहरुले धेरै कष्ट भोग्नु परेको छ जस्तो मलाई लाग्छ,’ मेहताले भने । धान, उखुमा जस्तै तरकारीको न्युनतम मूल्य निर्धारण गरेर सरकारले प्रोत्साहन गर्नुपर्ने मेहताको सुझाव छ ।
तरकारी उत्पादक किसान हिरा मेहता बिक्री नभएको तरकारीबाट वैकल्पिक वस्तु उत्पादन गर्ने सिप, ज्ञान र प्रविधि सरकारले सहयोग गर्नुपर्ने बताउँछिन् । ‘अहिले टमाटर नबिकेर फाल्नुपर्ने अवस्था छ, बन्दाकोभी खेतमै सुकिरहेको छ । काउलीको सिजनमा पनि त्यस्तै समस्या आउँछ, त्यसैले हामी किसानलाई ती वस्तुबाट वैकल्पिक उत्पादन के गर्न सकिन्छ भनेर सरकारले सिकाइदिनुपर्यो,’ उनले भनिन् ।
देवानगंजमा उल्लेख्य परिमाणमा तरकारी उत्पादन भएपनि खुला सिमानाका कारण चोरी तस्करी भएर भारतबाट पनि तरकारी आउनाले यहाँका किसानहरु पीडित छन् । किसानहरु त्यसलाई रोक्नुपर्ने बताउँछन् तर तरकारी व्यापारीहरु भने तस्करीलाई संरक्षण गर्दा यहाँका किसानहरु सस्तोमा कृषि उपज बिक्री गर्न बाध्य हुनुपरिरहेको किसानहरुको भनाइ छ ।
अनेकन समस्याका बाबजुद पनि देवानगंजका किसानहरुले कृषि पेशाबाटै आफ्नो समृद्धि देखेका छन् । उनीहरु समस्याहरु समाधान होस् र त्यसका लागि सरकारको अधिक ध्यान जाओस् भन्ने चाहन्छन् । सरकारले पनि देवानगंज र यस्तै कृषिप्रति लगाव राख्ने किसानहरु भएको ठाउँमा गुणस्तरीय उत्पादन बढाउन अधिकतम् सहयोग गरिरहेको र आगामी दिनमा पनि गर्दै जाने उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम बताउँछन् । उनले व्यवसायिक कृषि उत्पादनमा लागेका किसानहरुलाई प्रदेश सरकारले प्रोत्साहन गर्दै जाने र उनीहरुलाई आधुनिक प्रविधि प्रयोग गर्न प्रेरित गरिने उनले बताए । प्रविधिको प्रयोगबाट कृषि क्षेत्रले भोगिरहेको कृषि मजदुरको अभाव हटाउन सहयोग पुग्ने उनी बताउँछन् ।