पत्रकार बुढाथोकी र भण्डारी पुरस्कृत

विराटनगर । सक्रिय पत्रकार एवं सूचनाको हकका अभियन्ताहरु विराटनगरका किशोर बुढाथोकी र झापाका सुरेन्द्र भण्डारी पुरस्कृत भएका छन् । मुलुकी खबर अनलाइनका सम्पादक एवं अन्नपूर्ण पोस्टका कोशी प्रदेश ब्युरो प्रमुख बुढाथोकीलाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार, २०८१ विराटनगरमा शनिबार प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाले प्रदान गरेको पुरस्कारको राशि १ लाख १ सय रूपैयाँ छ । बुढाथोकी विगत १३ वर्षदेखि सूचनाको हकको क्षेत्रमा क्रियाशील छन् ।
भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछा (साविकको तुङ्गेछा गाविस–१) घर भएका बुढाथोकी २ दशक अघिदेखि पत्रकारितामा सक्रिय छन् । संखुवासभाबाट पत्रकारिताको यात्रा सुरु गरेका बुढाथोकी २०६८ सालदेखि विराटनगरमा रहेर पत्रकारिता गर्छन् ।
साथै, षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार भण्डारीलाई प्रदान गरिएको हो । उक्त पुरस्कारको राशि २५ हजार २५ रूपैयाँ रहेको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले शनिबार कोशी प्रदेशको राजधानी विराटनगरमा षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण तथा अग्रज पत्रकार सम्मान कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पुरस्कार हस्तान्तरण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्की र मेयर कोइरालाले सूचनाको हकको प्रवर्धन एवं प्रभावकारी कार्यान्वयनका लागि आफूहरु प्रतिबद्ध रहेको बताए ।
उक्त पुरस्कार सूचनाको हकको क्षेत्रमा क्रियाशील रहेर नीति निर्माण, सुशासन एवं पारदर्शिताको पक्षमा काम गर्ने, सूचनाको हकको प्रवर्धन, नागरिक जागरण र प्रचारप्रसारमा सक्रिय व्यक्तिलाई प्रदान गर्ने गरिन्छ । प्रत्येक वर्ष नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा पुरस्कार वितरण गरिँदै आएको थियो ।
यसवर्ष पनि चैत १६ गते महासंघको ७० औं स्थापना दिवसको अवसरमा पुरस्कार वितरण समारोह राखिएको थियो । तर, राजावादीको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको निधन भएपछि पत्रकार महासंघ आन्दोलित बन्यो । जसका कारण पुरस्कार वितरण कार्यक्रम सरेको थियो ।

शनिबार, २० बैशाख, २०८२, दिउँसोको ०४:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर