विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशका दुई प्रमुख धार्मिक स्थलहरूको विकास समितिमा राजनीतिक भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरेको छ। खोटाङको हलेसी महादेव मन्दिर नेकपा एमालेको र सुनसरीको बराहक्षेत्र नेपाली कांग्रेसको भागमा परेको छ।
प्रदेश सरकारको चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकले हलेसी महादेवस्थान विकास समितिको अध्यक्षमा एमाले हलेसी तुवाचुङ नगर कमिटीका अध्यक्ष डिल्ली कुमार राईलाई नियुक्त गरेको छ। अन्य सदस्यहरूमा एमालेकी बिन्दा भुजेल, कांग्रेसका हलेसी तुवाचुङ वडा नं. ५ का वडाध्यक्ष कुबेर राई र जसपाका जिल्ला सदस्य राजेश राई रहेका छन् ।
त्यसैगरी, बृहत्तर बराहक्षेत्र विकास समितिको अध्यक्षमा कांग्रेसका प्रकाश बस्नेत नियुक्त भएका छन्। सदस्यहरूमा कांग्रेसकै लक्ष्मीराज अधिकारी, टीका कुमारी श्रेष्ठ र एमालेका जिल्ला सदस्य प्रह्लाद भट्टराई रहेका छन् ।
विशेष उल्लेखनीय कुरा, हलेसी महादेव मन्दिर कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईको निर्वाचन क्षेत्रमा पर्दछ, जसले आफ्नै क्षेत्रमा आफ्नै दलका कार्यकर्ताहरू नियुक्त गरेका छन् ।
स्थानीयहरूको भनाईमा हिन्दू र बौद्ध धर्मको संगमस्थल मानिने हलेसी पूर्णरूपमा राजनीतिकरण भएको छ। पर्यटन क्षेत्रका विज्ञहरूले यस्ता राजनीतिक नियुक्तिले धार्मिक पर्यटन प्रवर्द्धनमा प्रतिकूल प्रभाव पार्ने चेतावनी दिएका छन् । नियुक्त भएका बराहक्षेत्र विकास समितिका सदस्य लक्ष्मीराज अधिकारीले सामाजिक सञ्जालमार्फत प्रदेश सरकार र कांग्रेस नेतृत्वलाई धन्यवाद दिएका छन् ।
दुवै समितिका पदाधिकारीको कार्यकाल चार वर्षको हुने छ । तर, विकास समिति गठन आदेशमा पदाधिकारीहरूको सेवा सुविधाबारे स्पष्ट उल्लेख गरिएको छैन। मन्त्रालयका अधिकारीका अनुसार पदाधिकारीहरूले बैठक भत्ता मात्र पाउनेछन् ।