२०७२ को भुकम्प एक दशक पछिको सम्झना

प्रकोप व्यवस्थापन तथा विपद जोखिम न्यूनीकरणका क्षेत्रमा कार्यरत संस्थाहरुका प्रतिवेदन अनुसार नेपाल विभिन्न प्रकोपहरुको जोखिममा विश्वभर मै उच्च स्थानमा छ । उनीहरुका अनुसार जलवायु परिवर्तन जोखिममा चौथो, भूकम्प जोखिममा एघारौं, बाढी जोखिममा तीसौं, पहिरो जोखिममा उच्च स्थान रहनुले नेपालको भौगोलिक बनावट र भूभागको अस्थिरता पहिरोको जोखिमलाई बढाउँछ। नेपाल दुई प्रमुख टेक्टोनिक प्लेटहरूको संगममा अवस्थित छ । भारतीय प्लेट र युरेशियन प्लेट, यी प्लेटहरु एक आपसमा हलचल भै रहँदा उत्पन्न हुने कम्पनको प्रभाव नेपालले झेल्दै आएको छ । दुवै भौगर्भीक टक्करका कारण लामो कालखण्डमा बनेका हिमालय श्रृंखलाहरुको छुट्टै बिशेषता र पहिचान छ भने अर्कोतर्फ नेपाललाई अत्यधिक भूकम्पीय जोखिमयुक्त क्षेत्र बनाएको छ। यिनै प्लेटहरूको गतिशीलता नेपालमा बारम्बार भूकम्प आउने प्रमुख कारण हो।

विपदले मानिसको जीवनमा क्षण भरमै अकल्पनीय अवस्थाको सिर्जना गराईदिन्छ । सयौं वर्षदेखिको समाजको सुख, भोगाई र अनुभवहरुलाई सानो झट्काले क्षतविक्षत बनाउन सक्छ । मानिसको दिनचर्या सामान्यतया आवश्यकता पुरा गर्ने, चिन्ता र भयबाट जोगिने उपायहरु, महत्वाकांक्षा र शक्ति, सन्तुष्टि, अहम, अभाव, प्रायश्चित अभाव, रोग, सुखभोग आदि तुलनात्मक र भौतिक आवश्यकताहरुको भुमरी र आवरणहरुको दृष्टिभ्रमले बहकाएको हुन्छ । आवश्यक र आधारभुत चेतना, दर्शन, ज्ञान, सिद्धान्त र ईमानका विषयहरुलाई सामान्य मानिसले दुर्घटना अघि त्यति चासो दिएको पाईदैन । यो सामान्य र सर्वमान्य अनुभव नै हो । किनकी उन्मादमा रमाएको जीवनको अवस्थाहरु एकनास हुँदैनन बरु यि विषयहरु क्षणिक र परिवर्तनशिल छ भन्ने निकै कम अवस्थामा मात्र हाहीले महशुस गरेका हुन्छौं ।

अधिकांश सन्दर्भमा भौगोलिक अवस्थिति, भौगोलिक विकटता, वातावरणमैत्री विकास योजनामा सिमीत क्षमता, नदि व्यवस्थापनमा सामरिक बाध्यताहरु र अव्यवस्थित विकास प्रणाली हाबी हुनुका कारण हाम्रा आगामीदिनहरु झनझन जोखिम उन्मुख र चुनौतिपूर्ण देखिन्छ । यद्यपि यिनै चुनौतिहरुलाई स्विकार्दै प्रकृतिले दिएको अवसरको पहिचान, व्यवस्थापन र विश्वव्यापी सहकार्यमार्फत जलवायु परिवर्तन प्रभाव अनुकलनतर्फ हाम्रा प्रतिबद्धताहरु कार्यान्वयन मार्गमा अघि बढ्नु पर्दछ । इतिहासका कालखण्डमा आएका भुकम्प र ति घटनाको प्रभावहरु विभिन्न सन्दर्भ सामग्रीहरुबाट संकलन गरेर यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

विक्रम संवत १३१० (म्याग्निच्युड ७‍‍.८) नेपालको पहिलो लिखित भूकम्पको इतिहास । यो भूकम्पले काठमाडौं उपत्यकाको जनसंख्याको करिब एक तिहाई भागलाई प्रभावित गर्यो। तत्कालीन राजा अभय मल्लसहित धेरै मानिसहरूको मृत्यु भयो । १५ दिनसम्म लगातार कम्पनहरू भएका थिए। (विक्रम संवत १३१६ म्याग्निच्युड ७‍‍.१) सो भूकम्पले धेरैको ज्यान गयो । महामारी र अनिकाल फैलियो। आवासीय भवन र सांस्कृतिक सम्पदामा क्षति भयो।

विक्रम संवत १४६३ (म्याग्निच्युड ८.२) मा आएको भूकम्पले मच्छिन्द्रनाथको मन्दिरसहित धेरै भवनहरू ध्वस्त गर्यो। जमिन चिरा परेर धेरै मानवीय र सम्पत्तिको क्षति भएको थियो।विक्रम संवत १७३७ (म्याग्निच्युड ८.०) मा आएको भूकम्पले धेरै भवनहरू ध्वस्त गर्यो । विक्रम संवत १९९० (म्याग्निच्युड ८.१), सालको नेपाल बिहार भूकम्पलाई इतिहासको सबैभन्दा विनाशकारी भूकम्प मानिन्छ। उक्त भुकम्पमा परि ८,५१९ जनाको मृत्यु भयो। तत्कालीन धरहरा र घन्टाघरहरु ध्वस्त भएका थिए । धेरै ठाउँमा जमिन चिरा परेको थियो र चिरा परेको जमिनबाट तातो पानी र बालुवा निस्किएको थियो । शहरी क्षेत्रमा विद्युत, यातायात र रोपवे प्रणालीमा बाधा पर्‍यो भने ग्रामीण क्षेत्रमा भएको क्षतिको विस्तृत विवरण संकलन गर्न निकै कठिनाई रहेको थियो।

विक्रम संवत २०३७ (म्याग्निच्युड ६.५) सुदूर पश्चिम नेपालमा आएको भूकम्पले १२५ जनाको ज्यान लियो र २४८ जना घाइते भए। करिब १३,४१४ घर, भवन गम्भीर क्षतिग्रस्त भए भने ११,६०४ घर, भवन पूर्णरूपमा ध्वस्त भए। विक्रम संवत २०४५ (म्याग्निच्युड ६.९) उदयपुर जिल्लामा केन्द्रविन्दु भएर आएको कम्पनले पूर्वका २२ जिल्ला र केही मध्य क्षेत्रलाई प्रभावित गर्यो । ७२१ जनाको मृत्यु भयो र ६,५५३ जना घाइते भए । करिब ५ अर्ब रुपैयाँको क्षति भएको अनुमान गरिएको छ। विक्रम संवत २०६८(म्याग्निच्युड ६.९) नेपालको पूर्वी भागमा आएको भूकम्पले ६ जनाको मृत्यु भयो र ३० जना घाइते भए। ६,४३५ भवन पूर्णरूपमा ध्वस्त भए।

विक्रम संवत २०७२ (म्याग्निच्युड ७.८) मा गोर्खाको वारपाक केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ८,८५६ जनाको मृत्यु गरायो र २२,३०९ जना घाइते भए । १४ जिल्ला संकटग्रस्त क्षेत्रमा घोषित गरियो। करिब ७ अर्ब अमेरिकी डलरको क्षति भएको थियो। विक्रम संवत २०८० जाजरकोट जिल्लाको वारेकोट गाउपालिका केन्द्रविन्दु बनाएर गएको भुकम्पले भत्काएका भवन संरचनामा किचिएर १५० जना भन्दा धेरैले ज्यान गुमाएका थिए । राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रका अनुसार पूर्ण तथा आंशिक गरेर करिब ६२,००० घर क्षति भएका थिए।

२०७२ को भुकम्प एक दशक पछिको सम्झना

२०७२ वैशाख १२ को भुकम्प, नेपालीहरुको जीवनमा विशेष गरि ३१ वटा जिल्लामा निकै असह्य वेदना लिएर आयो । पुस्तौदेखि बनेका पुराना र नया करिव ८ लाख घरहरु भुकम्पको हलचलले ध्वस्त भए । घर मात्र हैन वस्ती, गाउँ नै ध्वस्त भए । विद्यालय, मन्दिर, प्रार्थनागृह, सामुदायिक भवन, कार्यालय, भवन, पुरातात्त्विक धरोहरहरु ध्वस्त भए । हरेक भत्किएका घरहरु सँर्गै एउटा पुस्ताको अनुभव, त्याग, लगानी भुकम्पले भत्काईदियो । पुराना र कमजोर घर संरचना भत्किए, दैनिक जीवन शैली फेरिए । गाउँमै, जमिनमै मानिसहरु आश्रय बिहीन र विस्थापित भए । करिब ९ हजारको मृत्यु भयो । आधा दशक भन्दा ज्यादा समय लगाएर प्रायः जसो घरहरु पुननिर्माण भयो । मानिसहरु आकस्मिक रुपमा घर निर्माणका लागि लगानी जुटाउनु पर्ने बाध्यताका कारण ऋणको बोझ बोक्न बाध्य भए । आम्दानीको एउटा महत्वपूर्ण हिस्सा पारिवारिक सुरक्षा र स्थायित्वमा लगानी भो । जसले अर्थतन्त्रमा चलायमान परिस्थिति सिर्जना गर्यो । आन्तरिक श्रम परिचालन भयो । सिक्नेहरुले घर निर्माणका क्रममा आधारभुत सुरक्षा संहिताको पालना प्राविधिक पक्षहरुबारे जानकारी हासिल गरे ।

सिन्धुपाल्चोक जिल्लामा भुकम्प पश्चातको सुरक्षित आवास पुननिर्माण अभियानमा सहभागी हुँदा त्यहाँको घरपरिवारमा परेको पीडा र चुनौतीहरु अनुभूति भएको थियो । करिब एक वर्ष पछि अवास निर्माण कार्यक्रम मार्फत स्थानीय समुदाय र घरहरुसँग पुननिर्माण सम्बन्धी छलफल र प्रकृयाबारे जानकारी आदान–प्रदान गर्दा समुदायको उत्साह, पुनः सामान्य जीवनमा फर्केने चाहाना, अब निर्माण हुने घरको मजबुती र सुरक्षित प्रविधी सम्बन्धि चासो र जागरण निकै उत्साहबद्र्धक थियो । कतिपय समुदायले सामान्य प्राविधिक खर्च बाहेक अर्म पर्म गरेर अपसी सहायतामा पक्की घर निर्माण गरेका थिए । समुदायका अगुवाहरु कसरी जति सक्दो चाँडो पुननिर्माणकार्य सम्पन्न गरि सम्पूर्ण गाउँबासीलाई सुरक्षित आश्रय मार्फत सामान्य अवस्थामा फर्कन सहयता गर्ने प्रकृयाप्रति जिम्मेवारी रुपमा लागि परेका थिए । के महिला, के बालबालिका, के बृध्द सबै आफ्नो पक्षबाट समुदायको पुनर्जागरणसहितको पुनर्स्थापना कार्यमा लागेका थिए । मेरो जीवनको विभिन्न अनुभवहरुमध्ये यो कार्यक्रममा सहभागी रहँदाको यो सिकाई अत्यन्त महत्त्वपूर्ण रहेको छ ।

एक अन्तराष्ट्रिय गैससको कर्मचारीको रुपमा करिव तीन वर्ष पुननिर्माणको क्रममा प्रत्यक्ष संलग्न हुँदा भविष्यकालागि निकै महत्वपूर्ण अनुभव हासिल भएको थियो । सोहि अनुभव गतसाल जाजरकोट भुकम्पको प्रारम्भिक पुनःर्लाभ चरणमा प्रयोग गर्न नौ महिना प्रत्यक्ष संलग्न भएको थिए । विशेषगरी पूर्वी तराईमा भुकम्पीय तरङ्ग आएपनि सो कारणले भौतिक संरचना र मानवीय क्षतिहरु भएको थिएन । हालको वागमती, गण्डकी र प्रदेश १ का केही पाहाडि जिल्लाहरुमा विशेष प्रभाव थियो । पूर्वी तराईमा नयाँ पुस्ताले भुकम्पको प्रत्यक्ष अनुभव गर्न पाएको छैन । जसको प्रभाव निर्माण सम्बन्धि नितिगत व्यवस्थाहरुको गुणस्तरीय कार्यान्वयनमा परेको देखिन्छ । सो सन्दर्भमा आफन्त गुमाएर प्रभावित परिवारजन र क्षतिग्रस्त घरका सदस्य र समुदायले भुकम्पको पीडा जति अनुभुत गरेको छ त्यति अन्यत्रका जनताले आत्मबोध नगरेको देखिन्थ्यो । तर तत्कालिन समयमा प्रभावित समुदायलाई खाध्यान्न, राहत, नगद तथा हौसला जगाउन देशभित्र र बाहिरका सम्पूर्ण नेपालीले एक आपसमा सद्भाव, सहयोग र हौसला प्रदान गरेका थिए । सम्बृद्ध समाजले विपद झेल्नुभन्दा अघि नै पूर्वतयारी अपनाएर जोखिम न्यूनीकरण तर्फ व्यवहारिक प्राथमिकता दिएको हुन्छ भने सम्बृद्धि जप गर्ने तर व्यवहारमा लागूगर्न नसक्ने समाजले पीडामा परेपछि मात्र विपद जोखिम न्यूनीकरणको महत्व महशुस गर्ने गर्दछन् । पूर्वतयारी मार्फत जोखिम न्यूनीकरणका उपायहरु दैनिक व्यवहार, नीति तथा कार्यक्रम, कानुन तथा परिस्कृत अभ्यासहरु मार्फत आफ्नो र समुदायको उत्थानशिल क्षमता निर्माण गर्ने प्रयास गर्न सक्छौं । वास्तवमा प्रत्यक्ष रुपमा पीडा भोगेको व्यक्ति र परिवारलाई विपदको प्रभाव जति हुन्छ देखेर, सुनेर र पढेर मानिसलाई सोही मात्रामा महसुस बोध नहुन पनि सक्छ । विपदले मानवीय, आर्थिक, भौतिक र बहुआयामिक सामाजिक सांस्कृतिक प्रभाव पार्ने भएकोले देखेर, सुनेर वा प्रत्यक्ष भोगाईको बाध्यतामा नपरी नै समुदाय, व्यवसाय, संघ संस्था, कार्यालय र घरपरिवारमा विपद उत्थानशिल व्यवहार अपनाउनु अत्यावश्यक भैसकेको छ । २०७२ को भुकम्पले जुन जुन समुदायले पीडा भोगेका छ्न् उनीहरुको अनुभव, भोगाई र सुझाव सल्लाह अन्य समुदायले आफ्नै पीडा झै ग्रहण गर्नु निकै बुद्धिमतापूर्ण हुन्छ । सरकार र सुचनासंचारका माध्यमबाट यो विषयलाई प्राथमिकताका साथ सबैको मन, मुटु र मस्तिष्कसम्म पुर्याई महसुस बोध गराउनु आवश्यक छ । हरेक समुदाय र वस्तिमा निर्माण गरिने भौतिक संरचना सुरक्षित र उत्थानशिल हुनु आवश्यक छ ।

यसरी एेतिहासिक घटनाक्रमको विस्तृत विश्लेषण गर्दा भुकम्पले मात्र निम्त्याएको विपद र त्यसको जाखिम चक्रको निरन्तरता आंकलन गर्ने हो भने नेपालको सम्बृद्धिको पीडालाई गहिरो उपचार र एेक्यवद्धताको खाँचो देखिन्छ । साना र खुजुरा उखान बहसमा चल्ने योजनाले मात्र यी आवश्यकताहरुको सम्बोधन हुन गाह्रो छ । तसर्थ आज २०७२ वैशाख १२ गतेको भुकम्पको पीडालाई स्मरण गर्ने समयको सदुपयोग गर्दै भुकम्प प्रतिरोधी विकास निर्माण संस्कृति, पूर्वाधार विकास निर्माण क्रममा भ्रष्टाचार विरुद्धको आत्मिक जागरणसहितको प्राविधिक गुणस्तरको कार्यान्वयन, नागरिक अनुशासन, असल अभ्यासमा राष्ट्रिय र अन्तराष्ट्रिय सहकार्य आदि विषयमा गम्भिर ध्यानपुर्याउनु पर्ने खाँचो छ । अब हामी कोही कसैले कुनै पनि विपदको घटनासँग नडराई उत्थानशिल क्षमता तयारी गर्न लागौं, जुटौं, अघि बढौं ।

शुक्रबार, १२ बैशाख, २०८२, दिउँसोको ०३:४१ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर