कानुनको उल्लंघन दण्डनीय

 सम्पादकीय

स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र हो । मानब जीवनसँग यसको सरोकार रहन्छ । तर, पछिल्लो समयमा यस क्षेत्रमा ब्यापक निजीकरण र व्यापारीकरण भएको छ । विराटनगरको गोल्डेन अस्पतालले व्यवसाय दर्ता र स्थानान्तरण प्रक्रिया पुरा नगरी नयाँ स्थानबाट सेवा सञ्चालन गरेको पाक्ष्एको छ । स्वास्थ्य सेवा आम नागरिकको जीवन र मृत्युसँग जोडिएको अत्यन्त संवेदनशील क्षेत्र हो । यस्तो क्षेत्रका संस्थाहरूबाट उच्च उत्तरदायित्व र कानुनी पालना अपेक्षित हुन्छ । तर, गोल्डेन अस्पतालको क्रियाकलापले कानुनको स्पष्ट उल्लंघन मात्र होइन, सामाजिक उत्तरदायित्वप्रतिको उपेक्षा पनि देखाएको छ ।

स्थापनाकालदेखि विराटनगर महानगरपालिका वडा नं. ९ (हाल ७) मा रहेको सो अस्पताल केही महिनाअघि आफ्नै भवनमा स्थानान्तरण भएर वडा नं. ११ मा सञ्चालनमा आएको छ । तर, सम्बन्धित वडामा व्यवसाय दर्ता वा स्थानान्तरण प्रक्रिया नपु¥याई अस्पताल चलाउनु गैरकानुनी हो । अस्पतालले अहिलेसम्म व्यवसाय दर्ता गर्न कुनै प्रक्रिया अघि नबढाएको पाइएको छ ।
यस्तो बेवास्ताले कानुनी प्रक्रियालाई कमजोर बनाउनुका साथै अन्य इमानदार व्यवसायीहरूलाई पनि निरुत्साहित पार्दछ । मोरङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपम राठीको भनाइ यथार्थ हो—स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा नियमको उल्लंघन गर्नु बेवास्ता मात्र होइन, सार्वजनिक हितप्रतिको अपमान हो । यसले सिधा असर नागरिकको सेवा प्राप्त गर्ने अधिकारमा पर्छ । गोल्डेन अस्पतालका कारण उत्पन्न भएको एउटा गम्भीर उदाहरण हालै भारतको बिहार राज्य अन्तर्गत अररिया जिल्लाका रामेश्वर पासवानका छोरा सञ्जय पासवानको मृत्युपछि देखियो । स्थानान्तरण नभएकै कारण मृत्यु प्रमाणपत्र जारी गर्न समस्या भएको थियो । यस्तो बाध्यता एक सामान्य परिवारका लागि केवल पीडादायी मात्र होइन, अपमानजनक अवस्था पनि हो । मानवताको आधारमा वडाले अन्ततः प्रमाणपत्र जारी ग¥यो । तर, प्रश्न उठ्छ—कानुनी प्रक्रियालाई बेवास्ता गरेर संस्था चलाउने छुट कसले दियो ?

यसअघि पनि उपचार खर्च तिर्न नसक्ने बिरामीको शव बन्धक बनाएको घटनाले गोल्डेन अस्पताल विवादमा तानिएको थियो । यसले देखाउँछ कि अस्पतालले न केवल कानुनी प्रक्रिया बेवास्ता गर्दै आएको छ, उसले स्वास्थ्य सेवा क्षेत्रभित्रको नैतिक उत्तरदायित्व पनि पालना गरेको छैन । संवेदनशील क्षेत्रका संस्थाहरूले सामाजिक, कानुनी र मानवीय मापदण्ड पालना गर्नु अनिवार्य छ । अब, महानगरपालिकाले ढिलासुस्ती नगरी गोल्डेन अस्पताललाई स्पष्ट निर्देशन दिनुपर्छ र तोकिएको समयसीमा भित्र कानुनी प्रक्रिया पुरा नगरेमा कारबाही अगाडि बढाउनुपर्छ । नत्र, यस्ता उदाहरणले गलत अभ्यासलाई संस्थागत बनाउने खतरा रहन्छ । स्वास्थ्य क्षेत्रलाई शुद्ध र उत्तरदायी बनाउने हो भने, नियम पालना नगर्नेहरूलाई छाड्न नहुने स्पष्ट सन्देश दिनु आवश्यक छ ।

बिहिबार, ११ बैशाख, २०८२

प्रतिक्रिया:

सम्बन्धित खवर