विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाहले राजावादीको आन्दोलन हिंसात्मक बनेपछि सन्तुलित अभिव्यक्ति दिएका छन् ।
नयाँ वर्ष २०८२ को अवसरमा भिडियोमार्फत शुभकामना सन्देश जारी गर्दै शाहले केही संयमित अभिव्यक्ति दिएका हुन् ।
‘केही दिन अघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, मानवीय एवं भौतिक क्षति भयो । त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो,’ शाहले भिडियो सन्देशमा भनेका छन्, ‘नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ । जहाँ जनगुनासो, राम्रो’नराम्रो गुन गान सुन्ने संस्कार हुन्छ ।’
उनकै आह्वानमा चैत १५ गते काठमाडौंमा हिंसात्मक घटना भएको भन्दै ज्ञानेन्द्रमाथि बोल्न दबाब परेको थियो ।
शाहले नेपालीमा देखिएको देश र भविष्यप्रतिको जागरुकता सकारात्मक भएको पनि बताएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा राजनीतिक अर्थ लाग्ने गरी बोले पनि नयाँ वर्षको अवसरमा उनी सम्हालिन खोजेका छन् । देशले आफ्नो आवश्यकता महसुस गरेको भन्दै उनले अघिल्लोपटक दलहरूमाथि दबाब बढाउने प्रष्ट आशय व्यक्त गरेका थिए ।
प्राकृतिक रुपले सम्पन्न भए पनि देशमा गरिखान गाह्रो भएको उनको भनाइ छ । साथै उनले स्वदेश फर्किने अभियान चलाउनुपर्ने पनि बताएका छन् । ‘विश्वकै उत्कृष्ट भूमिमा बाँच्नै गाह्रो भइसक्यो, स्वदेश फर्क स्वदेश नै स्वर्ग अभियान चलाउने आजको आवश्यकता भएको छ । जनभावना चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर सुधारका कदम चाल्नुपर्ने तथ्य स्पष्ट देखिन्छ,’ ज्ञानेन्द्रले भनेका छन्, ‘शिक्षा र स्वास्थ्य र दैनिक कामकाजको प्रणालीमा आमूल परिवर्तन र सुधार गरी यिनको आधुनिकीकरण र प्रविधिमा जोड दिनुपर्छ ।’
अशान्ति, अराजकताविरुद्ध हुने प्रयासमा आफ्नो ऐक्यबद्धता रहेकोसमेत उनको भनाइ छ ।
उनले नयाँ वर्ष २०८२ लाई सुनौलो र स्मरणीय बनाउन पनि आह्वान गरेका छन् ।