पहिले मरुभूमिको तापमा सेकिए, अहिले स्वदेशमै बने उद्यमी

५ लाख लगानीले ७ वर्षमा एक करोड बढीको सम्पत्ती जोड्न सफल प्रेमकुमार गुरुङको लोभलाग्दो उद्यमशीलता

विराटनगर । मोरङको पथरी शनिश्चरे–२ को सिर्जना चोकमा एउटा सानो घरको पछाडिपट्टि रहेको उद्योगबाट हरेक दिन बिहान ताजा चाउमिनको सुगन्ध फैलिन्छ । जहाँ उत्पादन पिके नुडल्स अर्थात् प्रेमकुमार नुडल्स । उक्त उद्योगका संचालक हुन् ३८ वर्षीय प्रेमकुमार गुरुङ । उनको दैनिकी यहीबाट सुरु हुन्छ । त्यहाँ पुगेर उनको नुडल्स (चाउमिन) उद्योग चलेको देख्दा कसैलाई पनि अनुमान लगाउन गाह्रो हुन्छ कि एक समय यिनै मानिस अरबको मरुभूमिमा कष्ट भोग्दै काम गरिरहेका थिए । तर, अहिले उनी करोडको मालिक भएका छन् ।

‘४०–५० हजार कमाउन विदेश जानुपर्दैन रहेछ, यहाँ चटपटे बेचेरै पनि कमाउन सकिन्छ,’ अहिलेको उनको अनुभव छ । यो वाक्य उनको मुखबाट आउँदा एउटा गहिरो अनुभूति र आत्मविश्वास झल्किन्छ । किनकी उनले विदेशको तातो मरुभूमिदेखि नेपालको चिसो कोठासम्म असफलता र सफलताको यात्रा हातैले छामेर हेरेका छन् ।

राति आकाशमा टिमटिमाउने ताराहरू हेर्दै प्रेम भोजपुरको षडानन्द गाउँपालिका–२ कुदाक काउलेको एउटा सानो घरमा सपना बुन्थे । २०४३ सालमा जन्मिएका प्रेमको परिवार आर्थिक रूपमा सम्पन्न थिएन । उनीसहित पाँच दाजुभाइ र दुई बहिनी, आमा, बुबा, हजुरआमा गरेर ९ जनाको परिवार चलाउन दुरदराजको गाउँमा कहाँबाट आम्दानी हुनु ? भएको आम्दानीले पुग्दैन थियो । प्रायः अभाव नै हुन्थ्यो । दिनभरि खेतीपाती गरेर साँझ बल्ल घर फर्किने, फेरि बिहान सबेरै उठेर विद्यालय जाने । यही थियो उनको दिनचर्या । ‘हामी बिहान खेतमा काम गरेर मात्र स्कुल जान्थ्यौं । पढ्ने मन थियो, तर परिस्थितिले साथ दिएन,’ प्रेम आफ्नो बाल्यकाल सम्झिँदै भन्छन् । उनी पढाइमा पनि अत्यन्तै मेहनती र अब्बल थिए । रातको समयमा घोकेरै किताबका पाठहरु खरर्र भन्न सक्थे । तर, पढाइलाई निरन्तरता दिन उनले सकेनन् ।

२०६२ सालमा त्यहाँकै सावित्रि माध्यामिक विद्यालयबाट एसएलसी पास गरेपछि उनी उच्च शिक्षाको खोजीमा मोरङको लक्ष्मीमार्ग झरे । लक्ष्मिमाविबाट कक्षा १२ पूरा गरेपछि थप उच्च शिक्षाका लागि सुनसरीको इटहरीमा रहेको जनता कलेजमा ब्याचलर सुरु गरे । तर, उनलाई घरखर्च जुटाउन समस्या भयो । उनका बुबाले भारतको मुम्बइमा बसेर कमाएको पैसा र आमाले गरेको मेहनतको कमाइले उनलाई पढाइ खर्च पुगेन । परिवारमा ऋण थपिँदै गयो । घरको साहिलो छोरा भएपनि उनले सबै जिम्मेवारी थपिएको महसुस गरे । बाबुआमाको उमेर बढ्दै गयो । आफू पढ्दै कमाउँदै गर्न अनेक प्रयास गरे, तर सबै अपुरो रह्यो । अन्ततः आर्थिक बोझले थिचिएका प्रेमले पढाइ अधुरै छोडेर विदेशिए । रहरै रहरमा छाडिएको कलेज, अधुरा सपना र परिवारप्रतिको जिम्मेवारीले उनलाई नयाँ बाटो खोज्दै अरबको मरुभूमिमा पु¥यायो ।

अरब जानु अगाडि उनलाई लाग्थ्यो, ‘अरब देशमा काम ग¥यो भने मासिक ८०–९० हजार कमाइन्छ । घरको अवस्था सुध्रिन्छ । पढाइमा हुन नसकेको सफलता कमाइमा देखिन्छ ।’ यही सबै सपना बोकेर उनी साउदी अरब हिंडे । ‘तर त्यहाँ पुगेपछि मैले जे भोगेँ, त्यो सपना होइन, दुःखको पहाड थियो,’ प्रेम सम्झन्छन् । अरब पुगेको पहिलो दिनदेखि नै यथार्थ कठोर थियो । उनलाई मरुभूमिको बीचमा रहेको एउटा जस्ताको छानो भएको गोठजस्तो झुप्रोमा लगेर छाडियो । ‘त्यो दिन मलाई लाग्यो, यहाँ त मान्छे बस्न सक्दैन । मरुभूमिको चर्को गर्मी, खानपिनको अभाव, सुत्ने ठाउँको दुर्गन्ध सबै सहनुपर्यो । सपनाहरू एकैपटक चकनाचुर भए,’ प्रेम सम्झन्छन् ।

तैपनि बाध्यता थियो काम गर्नैपर्ने । पाँच वर्षसम्म उनले साउदीको तातो मरुभूमिमा शारीरिक श्रम गरे । फलाम उद्योगमा काम गर्दा हातमा कति चोट लागे, कति काटियो । अझै पनि ती निशान उनको हातमा बाँकी छन् । ‘शरीरका विभिन्न भाग काटिए, घाउ लागे, रगत बग्यो । हरेक दिन भोक र थकानसँग युद्ध गर्नुपथ्र्यो’, उनी दुःखद स्मरण गर्दै भन्छन्, ‘त्यहाँ रमाइलो होला भन्ने सोचेको थिएँ, तर त्यहाँ त जिन्दगीको हरेक सेकेन्ड संघर्षपूर्ण भयो ।’ महिनाको ३०–४० हजार कमाइ हुन्थ्यो, तर ऋण तिर्न र परिवारलाई पठाउन पाँच वर्षको उनको सम्पूर्ण कमाइ सकियो । उनको धेरै पैसा सपनाको महल भत्कियो ।

विदेशबाट फर्किएपछि प्रेमले आशा जगाए । अब स्वदेशमै केही गर्छु । आफ्नै साथी अर्जुन आचार्यलगायतसँग मिलेर उनले २०७२ सालमा कुखुरापालन सुरु गरे । दिनरात खटे । अण्डा उत्पादन हुन थाल्यो, आय पनि राम्रै हुँदै थियो । तर अचानक २०७२ सालको संविधान जारी पछि भारतले गरेको नाकाबन्दी उनका लागि फेरि विदेश यात्राको कारण बन्यो । ‘नाकाबन्दीले हाम्रो व्यवसाय भत्काइदियो । दाना नपाएपछि कुखुराले अण्डा पार्न छोडे, अण्डा उत्पादन घट्यो, साइज पनि सानो भयो । सबै लगानी डुब्यो,’ प्रेम भन्छन् ।

उनमा फेरि एक पटक निराशा हाबी भयो । अब के गर्ने ? यही प्रश्नले उनलाई सताउन थाल्यो । अन्ततः उनी पुनः विदेशतिरै फर्किए । तर यस पटक उनीसँग भएको अनुभव र दृढ संकल्पले एक वर्षमा साढे ५ लाख रुपैयाँ बचत गरे । त्यही पैसा लिएर स्वदेश फर्के । यस पटक उनी जीवनको अनुभव बोकेर अब विदेश नफर्कने र स्वदेशमै केही गर्ने बाचा लिए । ‘अब म नेपालमै बसेर केही गर्छु । विदेशमा त हाम्रो जीवन मात्र होइन, हाम्रो आत्मसम्मान पनि बेचिन्छ भन्ने भएपछि मैले नयाँ काम गर्ने सोच बनाएँ,’ उनी भन्छन् ।

स्वदेश फर्किएपछि प्रेम केही समय अन्योलमा थिए । के गर्ने ? कहाँबाट सुरु गर्ने ? छुर्पिको व्यापार गर्ने कि ? किराना पसल खोल्ने कि ? पहाडमा उत्पादित मालवस्तुहरु शहरमा ल्याएर विक्री पो गर्ने कि ? उनले धेरै अध्ययन गरे । अनुसन्धान गरे । त्यसै बेला बेलबारीमा मामाको छोरा मोहन गुरुङले चाउमिन उद्योग सञ्चालन गरिरहेका थिए । मोहनको सल्लाहमा प्रेमले पनि चाउमिन उद्योग खोल्ने निर्णय गरे । ‘मैले सुरुमा मोहन दाइकोमा सहयोगीको रूपमा केही दिन अनुभव लिएँ । चाउमिन बनाउन, सुकाउन, प्याकेजिङ गर्न सिकेँ । अनि आफ्नै उद्योग खोल्ने साहस जुट्यो,’ प्रेम भन्छन् ।

सुरुमा उनले सुन्दरहरैंचाको गछियामा चाउमिन उद्योग खोले । लक्ष्य थियो– इटहरी, गछिया, विराटचोकको बजार समात्ने । तर व्यापार सोचेजस्तो चलेन । बिजुलीको समस्या, भोल्टेज घटबढ, लोडसेडिङ, प्रविधिको अभाव र दक्ष जनशक्ति नहुनुले व्यवसायलाई समस्यामा पार्दै लग्यो । ‘सुरुका दिनहरूमा एक दिन मेशिन चल्थ्यो भने दुई दिन बिग्रिन्थ्यो । कहिले बिजुली नहुने, कहिले कच्चा पदार्थ नआइपुग्ने, समस्याको अन्त्य थिएन,’ प्रेम भन्छन् । अन्ततः उनले उद्योग पथरीमा सार्ने निर्णय गरे । भाडामा लिएर उद्योग चलाउनु सजिलो थिएन । तर श्रीमती उषा गुरुङको साथले उनलाई हिम्मत मिल्थ्यो ।

हामी दुवै जना मिलेर रातभरि चाउमिन बनाउन पिठो मुछ्थ्यौं । राति १–२ बजेसम्म काम गथ्र्यौं,’ प्रेम सम्झन्छन्, ‘झरीमा भिज्दै, चिसोमा काठाङ्ग्रिँदै बेलबारीमा आएर चाउमिन बनाउथ्यौं र राति नै पथरी फर्कन्थ्यौं ।’ लोडसेडिङको पीडा उस्तै थियो । जेनेरेटर किन्ने उनीसँग थप पैसा थिएन । ‘कहिलेकाहीँ त बाइक चिप्लिएर लड्थ्यौं, घाइते पनि हुन्थ्यौं । नियमित बिजुली हुँदैन थियो । जेनेरेटर किन्ने पैसा पनि थिएन । बेलबारीमा दाजुकोमा जेनेरेटर थियो, पथरीबाट बोरामा मैदा बोकेर त्यहाँ गएर राति चाउमिन बनाउँथ्यौं र ग्राहककोमा दिनभर बाँड्थ्यौं ।’

त्यसबेलाको यो हदसम्मको दुःख सम्झदै उनी भन्छन्, ‘तीनपटकसम्म म मैले अब त उद्योग नै बन्द गर्ने सोचें, यत्रो दुःख गरेर के पाइन्छ र ? ।’ तर हरेक पटक उनको हिम्मतले जित्यो । आफ्नो श्रीमतीको साथले पनि उनलाई निरन्तर अगाडि बढ्न प्रेरित ग¥यो । निरन्तर दुःखै गरिरहे । उनीसँग अगाडि बढ्ने अर्को विकल्प पनि थिएन ।

पथरीमा व्यवसाय सुरु गर्दा पनि चुनौतीहरू कम थिएनन् । स्थानीय व्यापारीहरूको अवरोध र धम्कीहरू आउन थाले । एक स्थानीय व्यापारीले धम्क्याए, ‘तँले यहाँ व्यवसाय गर्न पाउँदैनस्, यो हाम्रो क्षेत्र हो ।’ दमकबाट चाउमिन ल्याउने अर्का व्यापारीले भने, ‘यहाँ बिक्री नगर, नत्र काट्छु, मार्छु । तेरो सामाग्री नै लुटिदिन्छु ।’ तर, उनले आफ्नो व्यवसाय छाडेनन् । ‘यो खुला बजार हो, प्रतिस्पर्धा गर्न पाउनु सबैको हक हो । मैले कसैको व्यापार खोस्न आएको छैन, आफ्नो परिश्रमले आफ्नो स्थान बनाउन आएको थिएँ,’ उनी भन्छन् ।

छिमेकीहरूले पनि उनको कुरालाई समर्थन गरे । त्यसपछि प्रेम आफ्नो लक्ष्यबाट विचलित भएनन् । विस्तारै लोडसेडिङ हट्यो । दक्षता र क्षमता उनमा बढ्दै गयो । बजार बढ्दै गयो । उनले आफ्नो उत्पादनको गुणस्तरमा ध्यान दिए, ग्राहकहरूको मन जित्न थाले ।
उद्योग चलाएरै प्रेम गुरुङ आज पथरीस्थित आफ्नै घरबाट उद्योग सञ्चालन गर्छन् । दैनिक १० बोरा (५०० किलो) चाउमिन उत्पादन गर्छन् । उनको उत्पादन पथरी, शनिश्चरे, बेलबारी, केचना, बेतना, रमाइलो, हसन्दह, लेटाङ, अमरदह, दोभना लगायतका बजारहरूमा बिक्री हुन्छ । ‘हामीले गुणस्तरमा कहिल्यै सम्झौता गरेनौं । ताजा सामग्री, स्वादिष्ट स्वाद र उचित मूल्य । यही हाम्रो सफलताको मन्त्र हो,’ उनले भने ।

उनको उद्योगले रोजगारी पनि सिर्जना गरेको छ । ७ जनाले अहिले पनि उद्योगमा पूर्णकालिन काम गर्छन् । मौसम अनुसार मासिक डेढ देखि दुई लाख रुपैयाँसम्म कमाइ हुने गरेको उनी बताउँछन् । ‘विद्यालय बन्द हुँदा पनि १ लाखसम्म आम्दानी हुन्छ,’ उनले भने ।

उनले विदेश र स्वदेशको तुलना पनि गर्दै भन्छन्, ‘विदेशमा मैले जुन दुःख भोगें, त्यसको तुलनामा अहिले म धेरै खुशी छु । परिवारसँग बसेर कमाउनु मात्र होइन, आफन्तलाई रोजगारी दिन पाउनु गर्वको कुरा हो ।’ उनको श्रीमती उषा थप्छिन्, ‘हामीले धेरै संघर्ष गरेका छौं । तर अहिले हामी आफ्नै घरमा छौं, आफ्नै व्यवसाय छ । बच्चाहरू राम्रो स्कुलमा पढ्दैछन् । यो सबै हाम्रो परिश्रमको फल हो ।’ ५ लाख लगानीबाट सुरु गरेको उद्योगमा अहिले ४० लाखबढी लगानी भइसक्यो । ६० लाखभन्दा बढीको जग्गा किने । ३० लाखभन्दा बढीमा घर र उद्योगको संरचना बनाए । ७४ सालदेखि सुरु गरेको उद्योगबाटै उनले सभाकरोड बढीको सम्पत्ती जोड्न सफल भए । उनका लागि यो कमाइ खाडी मुलुक वा विदेशमा बसेर सम्भवै थिएन ।

प्रेम भविष्यमा आफ्नो उद्योगलाई अझै विस्तार गर्ने योजनामा छन् । ‘मेरो लक्ष्य छ पूर्ण स्वचालित मेशिन ल्याएर उत्पादन बढाउने, थप रोजगारी सिर्जना गर्ने,’ उनी भन्छन् । उनको सबैभन्दा ठूलो चाहना भने नेपाली युवाहरूलाई प्रेरित गर्नु हो । ‘विदेश गएर ३०–४० हजारको तलबका लागि जीवन साट्नु पर्दैन । देशमै अवसर छन् । चटपटे बेचेर पनि त्यो कमाइ सम्भव छ । आफ्नो देशमा, आफ्नो माटोमा मेहनत गर्नु सबैभन्दा ठूलो सफलता हो,’ उनी भन्छन् ।

चाउमिनको उद्योग सुरु गर्दाको दुःख देखेर उनलाई जापान जान उनकै जेठानले आग्रह गरे । जापानमै रहेका उनले भिषा झार्नेसम्मका कुरा गरे । तर, उनले स्वदेशमै केही गर्ने अठोट गरेको बताउँछन् । ‘म आफ्ना परिवार र सन्तानको साथमा, आफ्नै घरमा बसेर काम गर्न चाहन्थें । विदेशमा कमाएको पैसाले खुशी किन्न सकिँदैन थियो । अहिले त्यो पुरा भएको छ,’ उनले भने ।
प्रेमको जीवनकथा नेपाली समाजको वास्तविक प्रतिबिम्ब हो । आर्थिक अभाव, परदेशको पीडा, व्यावसायिक संघर्ष र सामाजिक अप्ठ्याराहरू हुँदाहुँदै पनि उनले हार मान्ने निर्णय कहिल्यै गरेनन् । विदेशको चर्को घाममा शरीर पोल्दै काम गरेको त्यो मानिस आज आफ्नै देशको माटोमा पसिना बगाउँदा सन्तुष्ट छ । उनको मुहारमा थकान छ, तर उनको आँखामा आफ्नै भविष्यप्रति आशा छ । उनकी श्रीमती उषा थप्छिन्, ‘हामीले जति दुःख पाएका छौं, त्यति नै हामी दृढ बनेका छौं । यो जीवनको पाठ हो । कठिनाइहरू सधैं रहन्छन्, तर तिनीहरूलाई जित्नु नै जीवन हो ।’

आइतबार, ३० चैत, २०८१, दिउँसोको ०३:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर