
सम्पादकीय
नेपाल कृषिप्रधान देश भएपनि कृषिको आधुनिकीकरण र व्यावसायीकरण नहुँदा धेरै कृषिजन्य उत्पादनहरु आयात गर्नुपर्ने अवस्था छ । निर्वाहमुखी कृषि प्रणालीको कारण कृषि क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा आवश्यक योगदान गर्न सकेको छैन । यसलाई तोड्न कृषिको आधुनिकिकरण, यान्त्रीकरण र व्यवसायीकरण आवश्यक मात्र होइन, अनिवार्य छ । मोरङको बेलबारीमा सञ्चालित आरजु राइस मिल लिमिटेडले लिएको अग्रसरता त्यस क्षेत्रमा उदाहरणीय बनेको छ । समुदायमा आधारित कृषि प्रणालीको प्रवद्र्धन गर्दै कम्पनीले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्नु, किसान समूहलाई अत्याधुनिक हार्भेस्टर जस्ता उपकरण हस्तान्तरण गर्नु र उत्पादन गरिएको धान खरिद गर्दै चामल उत्पादनको सम्पूर्ण चक्रमा सहकार्य गर्नु सकारात्मक अभ्यास हो ।
धान उत्पादनको लागत, बजार मूल्य र किसानको आम्दानीबीच सन्तुलन कायम राख्न धानको समर्थन मूल्य महत्वपूर्ण विषय हो । आरजु राइस मिलले रामधान, हर्दिनाथ–६, रंजित तथा सुवासी जातका धानका लागि गुणस्तरका आधारमा प्रतिमन रु. १४०५ देखि १६०० सम्म मूल्य निर्धारण गरेको छ । यो प्रचलित बजार मूल्यभन्दा प्रतिस्पर्धी हुनुले किसानमा उत्साह थप्ने काम गरेको छ । अझ स्थानीय धान रंजितका लागि प्रतिक्विन्टल रु. २०० बढी मूल्य दिनु मिलको किसानप्रतिको प्रतिबद्धता देखाउँछ । रामधान नेपालमै प्रमाणित धान जात हो भन्ने कुराले यसको उपयोगलाई अझै विश्वसनीय बनाउँछ । यति मात्र होइन, कम्पनीले चामल उत्पादन गरेपछि त्यसको बिक्री व्यवस्थापनमा देखिएको कठिनाइबारे पनि स्पष्ट बोल्न पछि परेको छैन ।
उद्योगहरूले उत्पादकसँग किन्नु, तर खुद्रा व्यापारीबाट समयमै भुक्तानी नपाउनु हाम्रो बजार संरचनाको कमजोरी हो । व्यवसायीले ६–८ महिनासम्म भुक्तानी नदिनुजस्तो प्रवृत्ति आर्थिक अपराधकै श्रेणीमा आउँछ । यसतर्फ राज्य गम्भीर हुन आवश्यक छ । उधारो समस्याको समाधान गर्न कम्पनीले खुद्रा बिक्रेता सञ्जाल विस्तार गर्दै उपभोक्तामुखी रणनीति अघि बढाउनु सकारात्मक हो ।
बेलबारी नगरपालिकाले कृषिमा प्रविधि भित्र्याउने र उपकरण उपलब्ध गराउने काममा लिएको सक्रियता पनि प्रशंसनीय छ । खेतमा धान रोप्ने यन्त्रको खरिद तथा माटोको अम्लीयता सुधारका कार्यक्रमले कृषिको दिगो विकासमा सहयोग गर्नेछन् । कृषि वैज्ञानिकहरूद्वारा माटोको गहिरो जोताइ अभाव, रोग नियन्त्रण, र खनिज अभावका समस्याहरू औँल्याउनु सरकारलाई अनुसन्धान र प्राविधिक सेवामा लगानी बढाउन प्रेरणा दिन सक्छ । आरजु राइस मिलको ६० करोड लगानी, अत्याधुनिक प्रशोधन संयन्त्र, र निर्यात योग्य चामल उत्पादन क्षमताले देखाउँछ कि निजी क्षेत्रले चाहे भने कृषिमा ठूलो परिवर्तन सम्भव छ । व्यवसायिक कृषिमा समर्पित यो प्रयासले किसानको जीवनस्तर उकास्ने मात्र होइन, देशको खाद्य सुरक्षामा समेत योगदान दिन सक्छ । यस्ता साझेदारी र अग्रसरता कृषिको सम्पूर्ण प्रणालीलाई आधुनिकीकरण गर्न, किसानको आय वृद्धि गर्न, र मुलुकको आर्थिक विकासलाई सुदृढ गर्न मार्गदर्शक बन्न सक्छन् । यो अभ्यास अन्य जिल्लाका कृषक र उद्योगका लागि प्रेरणादायी मात्र नभई अनुकरणीय बन्ने सम्भावना बोकेको छ ।