विराटनगर। समुदायमा आधारित व्यवसायिक कृषि खेती प्रणालीलाई प्रवद्र्धन गर्दै आएको आरजु राइस मिल लिमिटेडले आउँदो वर्ष २०८२ को लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मोरङको बेलबारी ९ मा सञ्चालित राइस मिलले शुक्रबार चारओटा कृषक समूहलाई बाली काट्ने आधुनिक हार्भेस्टर हस्तान्तरण गर्ने क्रममा बर्खे धानको समर्थन मूल्य सार्वजनिक गरेको हो ।
किसानहरुले खेती गरिरहेको चैते र बर्खे धान दुवैका लागि मिलले समर्थन मूल्य तोकेको हो । मिलका कार्यकारी अध्यक्ष विरेन्द्रबहादुर बस्नेतले किसानहरुसँग मिलले रामधान र हर्दिनाथ–६ जातका धान खरिद गर्ने भन्दै त्यसको न्यूनतम समर्थन मूल्य तोकेको जानकारी दिए । अगनीतर्फ रामधान, हर्दिनाथ ६ र रंजित तथा चैतेमा सुवासी जातको धान खेतीबाट किसानले राम्रो उत्पादन लिइरहेको उनले बताए ।
रामधान र हर्दिनाथ–६ धान न्यूनतम १ हजार ४०५ रुपैयाँ प्रतिमन (४० केजी) देखि अधिकतम १ हजार ६०० रुपियाँसम्ममा खरिद गर्ने बस्नेतले जानकारी दिए । उनले भने, ‘१४ प्रतिशत नमि (मोइस्चर) र शून्य प्रतिशत भुस भएको धान प्रतिमन १६००, १५ प्रतिशत नमि र ५ प्रतिशत भुस भए १५०१, १६ प्रतिशत नमि र ५ प्रतिशत भुस भए १४८२, १७ प्रतिशत नमि र ५ प्रतिशत भुस भए १४६२, १८ प्रतिशत नमि र ५ प्रतिशत भुस भए १४४३, १९ प्रतिशत नमि र ५ प्रतिशत भुस भए १४२४ र २० प्रतिशत नमि र ५ प्रतिशत भुस भए १४०५ रुपियाँ प्रतिमनका दरले मिलले धान खरिद गर्नेछ ।’ यो मूल्य प्रचलित बजार मूल्यको तुलनामा आकर्षक रहेको स्थानीय किसानहरुले बताएका छन् । त्यस क्रममा मिलले स्थानीय धानको जात रंजित धानको बजार भाउभन्दा प्रतिक्वीन्टल २०० रुपियाँ बढी मूल्यमा खरिद गर्ने पनि जनाएको छ । रामधान नेपालमै प्रमाणित भई दर्ता भएको धानको जात हो ।
आरजु राइस मिलले साविकको डाँगिहाट गाउँपालिका हाल बेलबारी नगरपालिका क्षेत्रका सयौं किसानहरुलाई समूहमा आवद्ध गराएर व्यवसायिक खेतीमा प्रोत्साहन गर्दै आएको छ । कम्पनीकै कृषि प्राविधिकहरुमार्फत किसानहरुलाई आवश्यक सेवा प्रदान गर्ने तथा मिलको आवश्यकता अनुसार धान उत्पादन गराएर उत्पादित धान आफैं खरिद गर्ने र उक्त धान प्रशोधन गरी बजारमा आरजु लोकल प्रिमियम र आरजु आरोम्याटिक ब्राण्डमार्फत बजारमा चामल बिक्री गर्दै आएको छ ।
डाँगीहाटमा ६० करोड रुपियाँभन्दा बढी लगानी गरेर स्थापना भएको मिलले फुल अटोमेटेड मेसिनबाट उच्च गुणस्तरीय चामल उत्पादन गरी बजारमा बिक्री गर्दै आएको छ । त्यसमध्ये चैते धान सुवासी जातको चामल विदेश निर्यात गरिने अध्यक्ष बस्नेतले जानकारी दिए । उनले मिलको आवश्यकता अनुसार धान उत्पादन भने नभएको बताए । उनले भने, ‘हामीलाई न्यूनतम १ हजार ६०० टन धान आवश्यक पर्ने र त्यसका लागि प्रतिवर्ष ३ हजार बिघा खेतमा धान खेती गर्नुपर्छ । त्यसअनुसार हामीले किसानहरुलाई खेतीमा लगाउन सकेका छैनौं तर यसवर्ष कम्तिमा पनि १ हजार ६०० बिघामा यी जातका धान उत्पादन गर्ने गरी समूहमा आवद्ध गराउने प्रयत्न गरिएको छ । अहिलेसम्म ८०० देखि १ हजार २०० बिघामा खेती गर्ने गरी किसानहरुको समूह निर्माण गरिएको छ । चारओटा समूहले त शुक्रबार नै हार्भेस्टर लैजाँदै हुनुहुन्छ ।’ मिलले किसान समूहलाई बजारमा ३६ लाख रुपैयाँ मूल्य पर्ने हार्भेस्टर ११ लाख रुपैयाँमा किस्ताबन्दी सुविधासहित उपलब्ध गराएको जनाएको छ ।
कृषिलाई आधुनिकीकरण गर्न र प्रविधिमा आधारित कृषि उत्पादन प्रवद्र्धन गर्न थोरै जमिन भएका किसानहरुलाई संगठित गरी ठूलो क्षेत्रमा खेती गर्नुपर्ने भएकोले अभियानको रुपमा आफूहरुले काम गरिरहेको अध्यक्ष बस्नेतले बताए । गतवर्ष मिलले ४३ करोड रुपियाँको धान खरिद गरेको र चामल बनाएर बिक्री गर्दा झण्डै ४ करोड रुपियाँ नोक्सानी भएको उनले जानकारी दिए । भारतबाट निर्वाधरुपमा आयात हुने चामलसँग स्थानीय उत्पादनले प्रतिस्पर्धा गर्न चुनौती रहेको भन्दै उनले यद्यपि हिम्मत भने नहारेको बताए ।
उधारो समस्या भएपछि चामल बेच्न सञ्जाल
किसानलाई धानखेती गर्न प्रेरणा दिने, आवश्यक मल, बिउ र प्राविधि तथा प्राविधिक जनशक्ति सहयोगसमेत गरी खेती गराई उत्पादन आफैंले किनेर चामल उत्पादन गरिरहेको उद्योगले चामल बेच्न भने ठूलो बढी चुनौती देखिएको जनाएको छ । ‘हामीलाई धान उत्पादन गर्न भन्दा चामल बेच्न धेरै गाह्रो परेको छ । उधारोमा किन्ने तर उद्योगलाई भुक्तानी नदिने जटिल समस्या बजारमा रहेछ,’ अध्यक्ष बस्नेतले भने, ‘त्यसैले हामीले सिधै उपभोक्तालाई बिक्री गर्ने, अनि उपभोक्रासँग जोडिएको खुद्रा बिक्रेतामार्फत बेच्ने गरी वृहद सञ्जाल पनि तयार गरिरहेका छौं, यस वर्षदेखि चामल बिक्रीमा देखिएको समस्या समाधान गर्छौं ।’ उनले ६ देखि ८ महिनापछि मात्र उधारो भुक्तानी गर्ने प्रवृत्ति बजारमा देखिएको बताए । ‘पसलबाट उपभोक्ताले नगदमा चामल खरिद गर्छ तर डिलरहरुले उद्योगलाई ६ महिनासम्म भुक्तानी दिँदैनन्, यस्तो पनि हुन्छ ? यो आर्थिक अपराध होइन ? यतिलामो समय उधारो चलाउन मिल्छ ? देशका सरकारहरुले यस्तो विषयमा काम गर्नुपर्ने होइन ? तर यहाँ समस्या छ,’ उनले भने ।
बेलबारीले धान रोप्ने मेसिन उपलब्ध गराउने
बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले बेलबारीका किसानहरुलाई व्यवसायिक कृषि उत्पादनमा सहभागी गराउन स्थानीय सरकारले प्रयास गरिरहेको बताए । आरजु राइस मिलका कारण पनि खेती गर्ने र उत्पादन गर्नुपर्छ भन्ने राम्रो वातावरण बनिरहेको भन्दै प्रमुख राईले सिंचाइ, माटोको गुणस्तर सुधार र जैविक मलको प्रयोगलाई बढाउने तर्फ नगरपालिकाले विशेष कार्यक्रम नै अगाडि बढाएको बताए । त्यसबाहेक नगरपालिकाले आगामी वर्षबाट प्रतिघण्टा ३ बिघा खेतमा धान रोप्ने क्षमताको उपकरण खरिद गरेर किसान समूहलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । किसानको २५ प्रतिशत लागत साझेदारीमा उक्त मेसिन समूहमार्फत सञ्चालन गरिने प्रमुख राईले जानकारी दिए । मेयर राईले बेलबारीको खेतीयोग्य ८० देखि ९० प्रतिखत खेतको माटोमा अम्लियपन देखिएको भन्दै माटो सुधारका लागि विशेष कार्यक्रम ल्याउनै पर्ने भएको बताए ।
कार्यक्रममा कृषि वैज्ञानिक डा. राजेन्द्र उप्रेतीले माटो सुधारको क्षेत्रमा सरकारले अझ बढी काम गर्नुपर्ने बताए । रोडाभेटरको प्रयोगले माटो गहिरोसम्म नजोतिने हुँदा त्यसले धानबालीमा धेरै रोगहरु लाग्ने गरेको र विरुवाले माटोको तल्लो भागबाट आवश्यक खनिज पाउन नसक्दा समस्याहरु देखिएको बताए ।