विराटनगर । मोरङको धनपालथान गाउँपालिका–६ रामचोक घर भएका ४० वर्षे जोगीकुमार महतोलाई कटहरी नयाँ बजारका विजय सोरेनसहितले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाए । उनको टाउकोमा आठ टाँका लगाउनुप¥यो । सोरेनको समूहबाट पिटिएका महतोले उनीहरुविरुद्ध प्रहरीमा उजुरी लिएर गए । तर, प्रहरीले उनको जाहेरी दर्ता गर्न मानेन । प्रहरीले जाहेरी दर्ता गरी अनुसन्धान गर्न अस्वीकार गरेपछि घाइते महतो झन् पीडित बनेका छन् । उनी पीडित मात्रै होइन आक्रमणकारीहरु गाउँघरमै खुलेआम घुमिरहेका कारण असुरक्षित पनि भएका छन् ।
मोरङको नयाँबजारमा मरणासन्न हुनेगरी पिटिएका महत्तोले बिहीबार विराटनगरस्थित नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलन गरी न्यायका लागि सहयोग गरिदिन आग्रह गरे । उनले प्रहरीले जाहेरी दर्ता नगरिदिँदा गाउँमा बस्न सक्ने अवस्था नभएको र आफू थप असुरक्षित भएको बताए ।
महतोलाई चैत १७ गते राति ८ बजेतिर कटहरीको नयाँ बजारमा विजय सोरेनसहितको समूहले आक्रमण गरेको थियो । सडक मजदुरको रुपमा आफूपनि काम गर्ने र ठेकेदारलाई मजदुर पनि उपलब्ध गराउने कार्यमा संलग्न महतो त्यसदिन विराटनगरबाट काम सकेर घर फर्किंदै थिए । उनका अनुसार बोल्न नसक्ने साथी लक्षु महतोसँगै नयाँ बजार पुगेपछि खाजानास्ता गरेर निस्कँदै गर्दा सोरेनसहित दुई जनाको समूहले अनावश्यक विवाद झिकेर कुटपिट गरेका थिए ।
‘मैले उनीहरूलाई त्यसो नगर्न आग्रह गरेको थिएँ । तर सोरेन र उनीसँग आएकाले पछाडिबाट अचानक मेरो टाउकोमा धारिलो वस्तुले प्रहार गरे, त्यसपछि म उँधोमुन्टो भएर लडेपछि बेहोस भएँ,’ महतोले पत्रकार सम्मेलनमा भने । करिब १५–२० मिनेटपछि होस फर्केपछि स्थानीयले नजिकैको मेडिकलमा लगेछन्, त्यहाँ उपचार हुन नसकेपछि त्यसै दिन राति कोशी अस्पताल लगिएछ,’ उनले भने । कोशी अस्पतालमा उनको टाउकोको पछाडिको भागमा ८ वटा टाँका लगाइएको थियो ।
गम्भीर अवस्था देखिएपछि चैत १८ गते बिहान नोबेल अस्पतालमा थप उपचारका लागि लगिएको र त्यहाँ एक्स–रे गर्दा उनको देब्रेतर्फको करङ समेत भाँचिएको चिकित्सकले पुष्टि गरेका छन् ।घटनाको भोलिपल्ट चैत १८ गते कटहरी प्रहरीले महतोकी श्रीमतीलाई फोन गरी तुरुन्त जिल्ला प्रहरीमा पुगेर निवेदन दिन आग्रह गरेको थियो । उपचाररत पतिको कुरुवामा बस्नुपरेकाले अर्को दिन उजुरी दिन्छु भन्दा प्रहरीले तुरुन्तै जाहेरी दिन भनेको थियो । प्रहरीको सुझाव अनुसार १२ वर्षीय छोरा राकेशकुमार महतोलाई कुरुवा राखेर पत्नीले ठाडो जाहेरी दर्ता गर्न खोजेकी थिइन् तर प्रहरीले ठाडो जाहेरी लिन मिल्दैन भन्दै फर्काइदिएको थियो ।
नोबेलमा उपचारपछि पनि रिंगटा लाग्ने र छाती दुख्ने समस्या कायमै रहेकाले मंगलबार फेरि कोशी अस्पताल पुगेर उपचार गराएका महतो र उनकी पत्नी चैत १९ गते साँझ ५ः१७ मा सिधै जिल्ला प्रहरी कार्यालय पुगेर जाहेरी दिन खोज्दा प्रहरीले ‘जाहेरी दिने म्याद सकिएको’ भन्दै अस्वीकार गरेको छ ।
महतोका अनुसार उनी उपचाररत रहेकोले ढिलो भएको स्पष्टीकरण दिँदा समेत प्रहरीले उल्टै धम्काउँदै ‘पीडकसँग मिल्नु’ भनेर दबाब दिएको थियो । ‘प्रहरीले हामीलाई जाँड खाएर होटेलमा झगडा गर्ने अनि हामीले मिलाइदिनुपर्ने’ भन्दै हप्काएका थिए । म्याद सकिएकाले तिमीहरूको मुद्दा दर्ता नहुने र जाहेरी च्यातेर फालिदिने भन्दै हामीलाई थप आघात पु¥याएका थिए,’ महतोले भने ।
चैत २० गते फेरि एकपटक जिल्ला प्रहरी र सरकारी वकिलको कार्यालयमा पुग्दा समेत दुवै निकायले जाहेरी दर्ता गर्न अस्वीकार गरेको महतोको गुनासो छ । ‘म सबैतिरबाट पीडित भएर सञ्चारकर्मीसमक्ष आइपुगेको छु । न्यायका लागि पहल गरिदिनुहुन आग्रह गर्दछु,’ महतोले भावुक हुँदै भने ।
मोरङका प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले घटना भएपछि पीडित प्रहरीमा बोलाउँदा उल्टै ढिलो गरी आएको बताए । ‘त्यस दिन हामीले पीडक भनिएका व्यक्तिलाई पनि समातेर ल्याएका थियौं । तर, पीडित जाहेरी दिन आएनन् । प्रहरीले २४ घण्टा भन्दा बढी कुनै पनि व्यक्तिलाई विना आधार त्यसै थुनामा राख्न मिल्दैन । त्यसो भएकोले हामीले जाहेरी दिन बोलाएको थियौं । तर, पीडित आफंै नआएको हो । अहिले पनि आए हामी जाहेरी लिएर थप अनुसन्धान गछौं,’ डिएसपी जोशीले भने ।