
सम्पादकीय
काठमाण्डौमा शुक्रबार राजावादीहरूले मच्चाएको उत्पात राजनीतिक आन्दोलनको आवरणमा अराजकताको नग्न प्रदर्शन बनेको छ । पूर्वराजा ज्ञानेन्दै शाहको आशिर्वादमा संचालित यो हिंसात्मक गतिविधिले आफ्नो असली चरित्र र उद्देश्य स्पष्ट पारेको छ । वैचारिक आधार, राजनीतिक तर्क र व्यावहारिक दृष्टिकोणको अभावमा यो समूह केवल तोडफोड, आगजनी र लुटपाटमा उत्रिनु नै आफैंमा उनीहरूको दिवालियापनको प्रमाण हो ।
राजसंस्था पुनःस्थापनाको माग गर्ने यस जत्थाले आफ्नो वास्तविक चेहरा देखाउँदै सार्वजनिक र निजी सम्पत्तिमा व्यापक क्षति पु¥याएको छ । विशेषगरी औषधि कारखाना र सञ्चारगृहमाथि गरिएको सुनियोजित आक्रमणले उनीहरूको अभिप्राय आधारभूत जनस्वास्थ्य र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्नु रहेको देखिन्छ । व्यापारिक केन्द्रहरूमा गरिएको लुटपाटले राजावादीहरूको कथित अभियान राजनीतिक आन्दोलन नभएर अराजक उन्माद मात्र भएको पुष्टि गर्दछ
यो हिंसात्मक उत्पातलाई २०६२–६३ को जनआन्दोलनसँग तुलना गर्दा स्पष्ट अन्तर देखिन्छ । त्यसबेला लाखौं नेपाली जनता सडकमा उत्रिएका थिए तर ती आन्दोलनकारीहरू राजनीतिक रूपमा प्रतिबद्ध र नैतिक रूपमा निष्ठावान् थिए । त्यसैले त्यो आन्दोलन सभ्य, संयमित र उद्देश्यमूलक बन्न सक्यो । त्यति ठूलो जनसागर अनियन्त्रित भएको भए के परिणाम निस्कन्थ्यो भन्ने विचार ज्ञानेन्द्र शाह र उनका समर्थकहरूले अझै गरेका छैनन् ।
लोकतान्त्रिक प्रणालीका कमी–कमजोरीको फाइदा उठाउँदै राजावादीहरूले जुन तरिकाले हिंसात्मक मार्ग अपनाएका छन्, त्यसले उनीहरूको वैचारिक दिवालियापन प्रष्ट पार्दछ । वर्तमान राजनीतिक प्रणालीप्रति असन्तुष्टि जाहेर गर्ने अधिकार सबैलाई छ, तर त्यसको अभिव्यक्ति लोकतान्त्रिक मापदण्डभित्र रहेर गर्नुपर्दछ । हिंसा र अराजकताले कुनै पनि समस्याको समाधान हुँदैन, बरु थप समस्या निम्त्याउँछ ।
राजतन्त्र पुनःस्थापनाको नाममा भइरहेको यो अराजकताले ज्ञानेन्द्र शाहलाई फेरि राजगद्दीमा पु¥याउने छैन, बरु नागरिकका रूपमा उनको बाँकी रहेको साख र सम्मानलाई समेत धुलोमा मिलाउनेछ । नेपाली जनताले बलिदानपूर्ण संघर्षबाट प्राप्त गरेको लोकतन्त्रलाई यसरी चुनौती दिने प्रयास ऐतिहासिक धाराविपरीत छ ।
नेपाली राजनीतिक इतिहासले पटक–पटक सिकाएको पाठ के हो भने हिंसा र अराजकताको बाटोले कुनै पनि राजनीतिक परिवर्तन स्थायी हुँदैन । आन्दोलन जतिसुकै ठूलो भए पनि त्यसको सफलता त्यसको शान्तिपूर्ण, संयमित र सिद्धान्तबद्ध चरित्रमा निर्भर गर्दछ । राजावादीहरूको हालको प्रदर्शनले उनीहरूको अनुयायीहरूको संख्याभन्दा उनीहरूको हिंसक र अराजक प्रवृत्ति बढी प्रतिबिम्बित गरेको छ ।
हामीले २०६३ सालमा अन्त्य गरेको राजतन्त्र अहिले पुनःस्थापना गर्ने कुनै पनि प्रयासले नेपालको राजनीतिक र सामाजिक विकासलाई पछाडि धकेल्ने प्रयास मात्र हुनेछ । नेपाली जनताले गणतन्त्रको पक्षमा गरेको बलिदानी र त्यागलाई कुनै पनि हिंसात्मक तरिकाले उल्ट्याउन सकिँदैन । लोकतन्त्रमा विश्वास राख्ने सबै नागरिक र राजनीतिक शक्तिहरूले यस्ता अराजक गतिविधिको निन्दा गर्दै, लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्न एकजुट हुनु आजको आवश्यकता हो ।