सेवामूलक अस्पतालको जिम्दारी धन्दा

उपचार खर्च तिर्न नसक्दा कतै कागजात, त कतै लाजपूर्जा धरौटी राख्छन् अस्पताल

विराटनगर । घटना एक : असोज २०७८ मा विराटनगरको नोवेल मेडिकल कलेजमा उपचार गराउँदै गर्दा विराटनगर १२ मलनहवाका ३० वर्षे विनोद ऋषिदेवको मृत्यु भयो । विपन्न मृतक परिवारले अस्पतालमा उपचार गर्दा लागेको खर्च र फार्मेसीबाट उधारोमा लिएको औषधिको बिल भुक्तानी गर्न सकेन । उपचार खर्च तिर्न नसकेका ऋषिदेव परिवारले दुई दिनसम्म अस्पतालबाट शव पाएनन्, अस्पतालले शव नै बन्धक बनायो । पछि अस्पताल शव दिन तयार भयो तर साइराम फार्मेसीले अस्पताललाई दबाब दिएर शव उठाउन दिएन । पछि ऋषिदेव परिवारले जग्गाको लालपूर्जा धरौटी राखेर शव बुझ्नु पर्ने अवस्था बनाइयो ।

घटना दुई : गत साता दुर्घटनामा परेर गोल्डेन अस्पताल विराटनगरमा उपचार गराउँदा गराउँदै मृत्यु भएका ३० वर्षीय सञ्जय कामतको शव पनि अस्पतालले दिन मानेन । उपचारमा लागेको खर्च भुक्तानी नभएसम्म शव नदिने भन्दै झण्डै चार घण्टा बन्धक बनाइयो । पछि राजनीतिक दलका नेताहरुसमेतको दबाब आएपछि अस्पतालले तमसुक गराएर परिवारलाई शव जिम्मा दिन तयार भयो ।

माथि उल्लेख भएका विवरण हाम्रो समाजमा नियमित भइरहेका प्रतिनिधि घटनासँग सम्बन्धित छन् । अधिकांश अस्पतालहरुबाट सेवाग्राहीले यस प्रकारका व्यवहारहरु झेल्दै आएका छन् । स्वास्थ्य क्षेत्रमा ख्याती कमाएको विराटनरमा सञ्चालित निजी क्षेत्रका साना तथा ठुला अस्पतालहरुले पैसा तिर्न नसक्ने विपन्न, गरिब र निमुखापैसा तिर्न नसक्ने विपन्न, गरिब र निमुखा बिरामीलाई मात्रै होइन उनीहरुको मृत्यु भएपनि शव समेत बन्धक बनाएर रकम असुल्ने कार्य गर्दै आएका छन् । माथिका घटनाहरु त्यस्तै उदाहरण हुन् । नागरिकहरुलाई स्वास्थ्य सेवा पाउने अधिकार नेपालको संविधानले सुनिश्चित गरिदिएको भएपनि यहि संविधान बमोजिम बनेको कानुनमा आधारित भएर दर्ता र सञ्चालन भएका अस्पतालहरुले भने फरक व्यवहार गर्ने गरेका छन् । उनीहरुले स्वास्थ्य सेवा नभएर स्वास्थ्य ब्यापारमा बढी जोड दिँदा गरिब, विपन्न र असाहायहरुले मृत्युपछि पनि अमानवीय व्यवहार भोग्नु पर्ने बाध्यता छ ।

स्वास्थ्य क्षेत्रमा विराटनगरमा नाम कमाएको गोल्डेन अस्पतालले दुर्घटनामा परि घाइते भई उपचारका लागि लगिएका सञ्जय कामतको परिवारले तत्काल पैसा तिर्न नसकेपछि झण्डै चार घण्टा शव बन्धक बनाएको थियो । त्यसपछि पैसा तिर्ने तमसुक गरेर मृतक परिवारले शव जिम्मा लिनुपर्यौ ।

कामतको मृत्यु भएपछि अस्पतालले भनेजति पैंसा तिर्न परिवारले नसकेपछि एक महिनाभित्रमा तिर्नुपर्ने कागज गराएको थियो । विराटनगर–११ नयाँ गुद्रीमा फागुन २८ गते राति मोटरसाइकल दुर्घटनामा परी कामत गम्भीर घाइते भएका थिए पछि उनको मृत्यु भयो । मनोज स्क्रिन प्रिन्टमा कार्यरत कामत काम सकेर घर फर्किंदै गर्दा सुनसरी बर्जु गाउँपालिका–५ का २७ वर्षीय राजेश चौधरीले मादक पदार्थ सेवन गरी चलाएको मोटरसाइकलको ठक्करबाट कामत गम्भीर घाइते भएका थिए । आठ दिन उपचारपछि उनको मृत्यु भएको अस्पतालले जघानकारी दिएको थियो ।

उपचार खर्च तिर्न नसकेपछि दुर्घटना गराउने चौधरीलाई मृतक परिवारले उपचार खर्च तिर्न दबाब दिएका थिए । कानुन अनुसार दुर्घटनामा मृत्यु भएपछि दुर्घटना गराउने पक्षले नै उपचार खर्च भर्नुपर्ने व्यवस्था छ । तर चौधरीले उपचार खर्च तिरेनन् । अस्पताल कामत परिवारलाई नै उपचार खर्चबापतको ७ लाख रुपैयाँ तिर्न दबाब दियो । आर्थिक रूपमा कमजोर रहेका मृतकका परिवारले यति ठूलो रकम जुटाउन नसकेपछि अस्पतालले शव बन्धक बनायो । तर पछि कागज गराएर शव दिन अस्पताल तयार भयो । त्यस क्रममा

मृतकका आफन्तले स्थानीय जनप्रतिनिधिहरूलाई बोलाएर छलफल गराइका थिए ।

विराटनगर–१२ का वडाध्यक्ष हिरालाल कामत र विराटनगर–६ का वडाध्यक्ष अक्षय सहनीको हस्तक्षेपपछि मात्र शव लैजान पाउने सहमति भएको थियो । ‘स्थानीय जनप्रतिनिधिहरू आएपछि दुर्घटना गराउनेबाट एक महिनाभित्रमा हस्पिटलले भनेजति पैंसा तिर्नुपर्ने कागज गराएपछि मात्रै शव दिएको विराटनगर १२ का वडाअध्यक्ष हिरालाल कामतले बताए ।

त्यसैगरी विराटनगर स्थित नोबेल मेडिकल कलेजमा विराटनगर महानगरपालिका १२ मलहनमाका ३० वर्षीय विनोद ऋषिदेवको मृत्यु भएको घटनामा अस्पतालले दुई दिनसम्म शव बन्धक बनाएको थियो । अस्पताले शव जिम्मा लगाए पनि उपचारको क्रममा औषधि दिएका साईराम फार्मेसीले मृतकका परिवारसँग जग्गाको लालपूर्जा लिएर मात्रै शव दिएको मृत्ककी पत्नी जायमन्ती रिसिदेवले जानकारी दिएकी थिइन् । त्यसमा नोबेल अस्पतालले नै शव बन्धक बनाउने भूमिका खेलेको थियो ।

एक दुधे बच्चासहित तीन सन्तान रहेकाले मजदुरी गर्न जान सक्ने अवस्था थिएन । सामान्य अवस्थामा रहेको रिसिदेवलाई ज्वरो र सुख्खा खोकी लागेको थियो । विराटनगर स्थित कोशी अस्पतालमा भर्ना भएका उनलाई कोशी अस्पतालका चिकित्सकले नोबेलमा भर्ना गराउन सुझाव दिएपछि त्यहाँ लगिएको थियो । नोबेलमा भर्ना गरेलगत्तै त्यहाँका चिकित्सकले समान्य अवस्थामा रहेको भन्दै आकस्मिक वार्डमा भर्ना गराएको केही घण्टामा आइसियुमा भर्ना गराएको त्यसबेला जायमन्ती ऋषिदेवले बताएकी थिइन् ।
उनका अनुसार नोवेलमा भर्ना गर्दा चिकित्सले तत्काल उपचार सुरु गरे निको हुने भनेका थिए । उपचार गराउन सुरु गरे पनि चिकित्सकले मृत्यु भएपश्चात उपचारको नाममा औषधी किन्न लगाएको उनको आरोप लगाएकी थिइन् ।उनले नोबेल अस्पताल पछाडिको आफन्तको १२ धुर जग्गाको लालपुर्जा र नागरिकता धरौटी राखेपछि मात्र शव लैजान दिएको थियो ।

निजी स्वास्थ्य संस्थाहरुले असहाय, विपन्नहरुलाई निःशुलक उपचार गर्नुपर्ने कानुनी व्यवस्था छ । यस्ता भैपरि आउने घटना, बेवारिसे बिरामी र उपचार खर्च तिर्न नसक्ने यस प्रकारका व्यक्तिहरुलाई उपचार सेवा दिएर सेवामूलक जिम्मेवारी निर्वाह गर्नुपर्ने अस्पतालहरुले पैसा तिर्न नसकेकै कारण शव बन्धक बनाउने, बिरामीलाई बन्दी बनाउने, अस्पतालबाट हामफालेर आत्महत्यसम्म गर्नुपर्ने अवस्था सिर्जना गर्ने गरेका घटनाहरु सार्वजनिक हुने गरेका छन् । यस्ता घटना कुनै अमुख अस्पतालमा मात्र नभएर देशभरि नै हुने गरेको पाइएको छ । अस्पताल सञ्चालकहरुले पहुँच र प्रभावको आधारमा उपचारमा छुट तथा निःशुल्क सेवा दिने गरेको तर पहुँच नहुनेहरुलाई तमसुक गराउने, जग्गाको लालपूर्जा धरौटी राख्ने र त्यो पनि गर्न नसक्नेको शव नै बन्धक बनाउने जस्ता अमानवीय कार्य हुने गरेको छ ।

शुक्रबार, १४ चैत, २०८१, बिहानको ०८:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर