
गोकुल पराजुली
हिजोआज प्राकृतिक वातावरण उज्जेलिएको छ । हुस्सु र तुवाँलो हटेर मौसम सफा हुँदै गएको छ । बिस्तारै सूर्यले पृथ्वीतिर तेज प्रकास छोड्दैछ । वसन्त ऋतुको आगमनसँगै बोटविरुवामा नयाँ पालुवा पलाउन थालेका छन् । फूलहरु फुल्न थालेका छन् । कोशी राजमार्गको विराटनगर खण्डमा अभियान्ता पारुल क्षेत्रीको प्रयासमा रोपिएका फूलका बोटहरु ढकमक फुल्न थालेका छन् । त्यसै पनि बसन्त ऋतु हरियाली र मनमोहक हुन्छ । यहि बेला चराहरुले गुँड बनाउने, अण्डा पार्ने र चल्ला कोरल्ने गर्दछन् । त्यसैले यो नयाँ सृष्टिका लागि अनुकुल समय पनि हो ।
देशको प्राकृतिक वातावरण उज्यालो, हरियालीयुक्त र सकारात्मक बन्दै गएको भएपनिे राजनीतिक वातावरण भने उज्यालोबाट अँध्यारोतर्फ उन्मुख भइरहेको छ । सरलबाट जटिलतर्फ राजनीति अघि बढेको अनुभूति भइरहेको छ । देशमा न्याय कमजोर बनेर अन्याय गर्ने पक्षहरु बलियो बन्दै गएको जस्तो आभाष हुनथालेको छ । आशाहरु कमजोर बन्दैे निराशाका काला बादलहरु फैलिन थालेका छन् । देश जाली, फटाहा, घुसखोर, सुनचोर, तस्कर, भूमाफिया, कमिशनखोरका लागि सुन्दर स्वर्ग र मजदुर, किसान, उद्यमी, व्यवसायी, परिश्रमी युवा र आमसर्वसाधारण निमुखाहरुका लागि काल्पनिक नर्क जस्तै कष्टकर र प्रतिकुल अवस्थातर्फ लम्किरहेको छ ।
किसानहरु बालीमा हाल्ने मल नपाएर छटपटाइरहेका छन् । तर सरकारलाई त्यसतर्फ कुनै चिन्ता देखिदैन । बरु दिनदिनै प्रधानमन्त्रीका देशमा विकासै विकास भएको, सडक बनेको, बाटोघाटो बनेको, उत्पादन बढेको, आर्थिक अवस्था सुधारिएको आदि भाषण सुन्दा सुन्दा सर्वसाधारण जताहरु ईस्.. भन्नु पर्ने अवस्थामा पुगेका छन् ।
अहिले जनतामा चौतर्फी रुपमा निरासाको पारो बढ्दै गएको छ । सरकार सुशासन स्थापना गर्न असफल भइसकेको छ । सहकारी ठगीमा मुछिएकाहरुलाई सत्ता साझेदार दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, सहकारी ठगीमा परिवारको सदस्य संलग्न रहेपछि विवादमा मुछिएका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल, जापान मानव तस्करीको आरोप लागेका आफ्नो पार्टीका मन्त्रीलाई मुद्दासमेत चलाउन नपर्ने फर्मान जारी गर्न लगाउने तर आफ्नाको भन्दा पनि कमजोर आधार भएका विपक्षी दलका नेता रवि लामिछानेलाई नियोजित रुपमा मुद्दा चलाउनेदेखि देशभरका अदालतमा धाउनु पर्ने अबस्था बनाउने कार्यले देशमा सुशासनको अवस्था कमजोर बनेको छ । त्यसले जनतालाई निरास बनाएको छ ।
यतिमात्र होइन वर्तमान सरकारले जनतालाई दिनुपर्ने सेवा प्रवाहलाई पूर्णरुपमा बेवास्ता गरिरहेको छ भने चाहिने नचाहिने काममा सरकारले आफ्नो ध्यान, बुद्धि र समय खर्चिरहेको छ । सरकारले गरेको पछिल्लो उपद्रव हो नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्नु ।
कुलमान देशका थोरै सक्षम मध्येका एक प्रशासक हुन् । उनको क्षमतालाई पछिल्लो ८ वर्षको अवधिमा मात्र मुलुकले पहिचान गरेको थियो । त्यसअघि पनि उनलाई सधैं कर्नरै राखिएको थियो । जतिबेला देश अन्धकारमय थियो, जनताले दिनको ६ घण्टा मात्र बिजुली पाउँथे त्यो पनि मध्यराततिर त्यस्तो कहालिलाग्दो अवस्थाबाट देशमा उज्यालो युगको सुरुवात गर्ने कुशल व्यवस्थापक बनेर उनले जताको बिचमा आफूलाई प्रमाणित गरे । जुन कुरा नेपाली जनतालाई कहिल्यै बिर्सन सक्दैनन् । उनीप्रति जनताको ठूलो तप्काको समर्थन र विश्वास छ । तर उनै सक्षम, योग्य र विश्वासिला प्रशासक वर्तमान सरकार त्यसमा पनि प्रधानमन्त्री केपि शर्मा ओलीको आँखाको कसिङ्गर बन्न पुगे । त्यसको औचित्य पुष्टि गर्ने कुनै बलियो आधार छैन प्रधानमन्त्रीसँग । सबै जनताले सुन्ने गरी प्रधानमन्त्रीले भनेकै हुन् व्यापारीले बिन बिनाको पैसा किन तिर्छन् भनेर । जनताको घर अँध्यारो बनाएर, जनताका छोराछोरीलाई उज्यालोमा पढ्न नदिएर उद्योग चलाउन बिजुली दिने तात्कालीन सरकारले लिनु भनेको महशुल उठाउँन नखोज भन्दै अहिले कुलमानलाई कारवाही गरिएको छ । यो विषयले जनतालाई थप निरास बनाएको छ । निरास मात्र बनेका छैनन् नागरिकहरु आक्रोसित बनेका छन् । उनीहरु आन्दोलित पनि बनिरहेका छन् ।
सरकारले दलहरुभित्र विश्वासको वातावरण बनाउन सकेको छैन । जालझेल, षड्यन्त्र र बेइमानीको जगमा आफूलाई उभ्याउने कोसिसमा प्रधानमन्त्री दत्तचित्त देखिन्छन् । त्यसैले उनले सत्य निरुपण तथा मेलमिलाप आयोगको विषयमा छलफल गर्न भनेर प्रमुख विपक्षी दलका नेता प्रचण्डलाई झण्डै एकसाताको प्रयासपछि सिंहदरबार बोलाएर छलफल गरे अनि त्यसको केही घण्टामै कुलमानलाई बर्खास्त गर्ने निर्णय गरेर दुनियाँलाई प्रचण्डसँग छलफल गरेरै हटाएको हो भन्ने भ्रम दिने कोसिस गरे । त्यो भ्रम प्रचण्डले पार्टीलाई विरोध प्रदर्शनमा लगेर अनि संसदमा प्रधानमन्त्रीको जवाफ मागेर तोडिदिएका छन् । तर देशको प्रधानमन्त्रीको यस्तो अविश्वासिलो व्यवहारले दलहरुबिचको विश्वास नहुने, छिमेकी मुलुकहरुसँग विश्वासको वातावरण कायम गर्न नसक्ने, सत्ताघटक बिचमै विश्वास बनाउन नसक्ने भएपछि वर्तमान राजनीतिप्रति जनता कसरी विश्वस्त हुन सक्छन् ? त्यसैले यतिबेला देशको राजनीतिक वातावरण धुमिलिएको छ । जनतामा निरासाको पारो अझै धेरै बढाइदिएको छ । प्रधानमन्त्रीको व्यवहार र शैलीले देशको संघीय गणतन्त्रात्मक व्यवस्थालाई नै बदनाम गर्ने, कमजोर बनाउने काम भएको छ । त्यसैले यो बसन्त ऋतुमा देशको राजनीतिक वातावरणमा नयाँ पालुवा आउने छाँटकाँट देखिएको छैन, गणतन्त्रको फूलबारीमा नयाँ फूलहरु फूल्ने वातावरण बनेको छैन, बरु दिनदिनै प्रधानमन्त्रीका विरुद्धमा लागिरहेका तुच्छ नारा र दिनहुँ जलिरहेको उनको पुत्लाको धूँवा, धूलो र प्रदुषणले देशको राजनीतिक वातावरणमा अँध्यारो बढाउँदै लगेको छ । यस्तो बेलामा मेरो देशलाई अँध्यारो यात्रामा हिंडाउने प्रधानमन्त्री रोज्ने कि उज्यालो बनाउने कुलमान खोज्ने भन्ने विषयमा सबै घोत्लिनु पर्ने भएको छ ।