विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजाको पाँचौं तल्लामा बुधबार बिहान ९ः४३ आगलागी सुरु भयो । उक्त आगो करिब ६ घण्टापछि मात्र नियन्त्रणमा आयो । त्यसक्रममा ११ जनाको उद्धार गरियो भने ५ जना सुरक्षाकर्मीसहित ७ जना घाइते भए ।
सेन्ट्रल प्लाजामा फसेका ११ जना सर्वसाधारणको उद्धारका लागि हेलिकप्टरसमेत परिचालित गरिएको थियो । यद्यपी एक जनाबाहेक अन्यलाई भने सुरक्षाकर्मीले डोरीको सहायताले उद्धार गरेका थिए ।आगो नियन्त्रणमा लिन एक दर्जन बढि बारुणयन्त्र परिचालन गरियो भने क्रेनको सहायताले पानी हाल्ने आयल निगमबाट लगेर आगो निभाउन फोम प्रयोग गरियो भने ३५० भन्दा धेरै सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो ।
प्रहरी नायब उपरिक्षक योगराज खतिवडाका अनुसार आगलागी नियन्त्रणका लागि झापा, मोरङ र सुनसरीका विभिन्न स्थानीय तहका एक दर्जनबढी स्थानीय तहका दमकल प्रयोग गरिएको थियो । आगलागी भएको भवनमा होटेल, सिनेमा हल, बैङ्क, सुपर मार्केट, कपडाका पसल, मोबाइल तथा इलेकट्रोनिक्स ठुला पसलहरू सञ्चालनमा छन् ।
सुगम र सहज मानिने इटहरीमै लागेको आगो निभाउन १२ वटा दमकल, साढे ३ सयबढी सुरक्षाकर्मीले पनि किन सकेनन् भन्ने प्रश्न उठेको छ । प्रहरीका अनुसार ९ तले भवनको छैटौं तलामा बरण्डा होटलको रेष्टुराँ, किचन र अफिस कक्षमा आगो लागेको थियो । आगलागीका कारण कति क्षति भयो भन्ने विषयमा अझै एकिन विवरण आएको छैन । आगलागीको कारण पनि खुलेको छैन ।
इटहरी उपमहानगरपालिकाका प्रमुख हेकमर्ण पौडेलले परम्परागत दमकलले मात्रै अग्ला भवनमा आगो निभाउन नसकिने देखिएको बताउँछन् । ‘आगलागी हुँदा नियन्त्रणको लागि ५–७ तले भवनलाई पनि टार्गेट गरेर हाइड्रोलिक बारुणयन्त्र हुनुपर्ने स्थिति देखियो’ उनले भने, ‘हामीसँग भएका दमकलले २–३ तलाभन्दा माथि पानी पुर्याउन मुस्किल देखियो ।’ आयल निगमबाट आएको क्रेन प्रयोग गर्न खोज्दा पनि तीन तलाभन्दा माथि जान नसकेकोले हाइड्रोलिक बारुणयन्त्रको आवश्यकता देखिएको उनको भनाइ छ ।
आगामी बजेटमा हाइड्रोलिक बारुणयन्त्र किन्ने प्रस्ताव पास गराएर प्रविधियुक्त बारुणयन्त्र किन्ने पौडेलले बताएका छन् । ‘बुधबार लागेको आगो समयमा निभाउन नसक्नुको कारण भनेकै माथि गएर आगो निभाउन नसक्नु हो’ उनले भने, ‘सेफ्टी लिफ्ट जस्ता सामाग्रीको आवश्यकता देखियो ।’
भवन निर्माण गर्दा नै सुरक्षा र सेफ्टीलाई हेरेर भवन निर्माण मापदण्ड बन्नुपर्ने पनि पौडेलले बताएका छन् । ठूलो बिल्डिङमा आगलागी हुँदा फायर साइरन नभएकोले भवन निर्माण आचारसंहिताबाटै सुधार गनुपर्ने देखिएको उनी बताउँछन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले पनि ठूलो जनशक्ति र दर्जनौं दमकल भेला पारेर गरेको प्रयास पनि सफल हुन नसकेको बताए । ‘अग्ला भवनमा कसरी आगो निभाउने ? नयाँ प्रविधिको आवश्यकता खड्कियो,’ उनले भने ।
इटहरीको मुख्य चोककै भवनमा आगो लागेको भएपनि भवनको वरिपरिको स्थान साँघुरो रहेको र घरहरु जोडिएको कारण पनि चारैतिरबाट आगो नियन्त्रणको प्रयास गर्न नसकिएको उनले बताए । ‘भवनमा अगाडिपट्टि प्यानल र होडिङबोर्ड लागेको कारण पानी छिर्न गाह्रो भयो र समस्या देखियो । त्यो होर्डिङहरू भत्काएपछि पानी भित्र छिर्यो । अग्लो भएको कारण क्रेन बोलायौं । त्यसपछि फायर फाइटर टिम त्यहाँ राखेर सम्बन्धित तला नजिकै पुर्याएर आगो निभाउन सफल भएको हो,’ मिश्रले भने, ‘आगलागीको प्रकृति हेर्दा प्रविधिको आवश्यकता पनि खड्कियो ।’
इटहरीको आगो निभाउन १२ वटा दमकल र दमकलको टिम, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी गरी ३५० भन्दा बढी सुरक्षाकर्मीको टिम, त्यस्तै सर्वसाधरण पनि खटिएका थिए । यस्तै नेपाल आयल निगमबाट दुई पटक फोम लगियो । जिल्ला विपद् व्यवस्थापनको ९० वटा फायर बल पनि प्रयोग भयो । आयल निगमबाट क्रेन गयो तर, ढिलो पुग्यो ।
‘मुख्य कुरा मानवीय क्षति हुन दिएनौं । अन्य क्षतिको विवरण संकलन भइरहेको छ । यो घटना पनि हामी सबैको लागि एउटा सिकाइ भएको छ’ प्रजिअ मिश्रले भने, ‘आगो निभाउन ढिलो हुनुको कारण के हो भन्ने विषयमा हामी समीक्षा गर्छाैं ।’
यसअघि २०७५ जेठ मा इटहरी–६ स्थित मुख्य बजार क्षेत्रमै मध्य रातबाट एउटा कपडा पसलमा आगलागी भएको थियो । समयमै आगो निभाउन नसक्दा पसलको तीन करोड भन्दा बढीको सामान जलेर नष्ट भएको थियो । यस्तै २०७४ सालमा सोही कपडा पसलकै छेउमा आगलागी भएको थियो । त्यसक्रममा करोडौँको नोक्सानी भएको प्रहरीको तथ्याङ्क छ ।
२०७६ मंसिरमा विद्युत सर्ट हुँदा सुनसरीको इटहरीस्थित होटल बिग बारमा आगलागी भएको थियो । आगलागीका कारण त्यहाँ पनि करोडौंको क्षति भएको थियो । कतिपयले इटहरीमा आगालागीका घटना भइरहेको भएपनि तत्काल नियन्त्रणका लागि देखाउनु पर्ने तदारुकता सम्बन्धित पक्षहरुले नदेखाएको आरोप लाग्ने गरेको छ ।