स्ववियु निर्वाचन :

मारवाडी समुदायबाट स्ववियु जित्न सफल दिक्षा

विराटनगर । त्रिभूवन विश्वविद्यालय अन्तरगत विराटनगरमा रहेका तीन वटा आंगिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निवार्चन सम्पन्न भइसकेको छ । यहाँका तीनवटै कलेजमा भएका स्ववियु निर्वाचनमा अध्यक्ष पदमा अनेरास्ववियु क्रान्तिकारीका उम्मेदवारहरु निर्वाचित भए ।

निर्वाचन भएका अन्य पदहरुमा विभिन्न संगठनका उम्मेदवारहरु जितेका छन् । ती विजेताहरु मध्येकी एक हुन्, दिक्षा धाडेवा । जो मारवाडी समुदायबाट उम्मेदवार बनेर स्नातकोत्तर क्याम्पसको स्ववियु कोषाध्यक्ष पदमा विजेता बनिन् ।

विराटनगर मारवाडी समुदायको उल्लेख्य बसोबास भएको पुरानो सहर हो । यहाँको व्यापार व्यवसायको परिचयमा यो समुदायको उल्लेखनीय योगदान रहेको छ । विराटनगरमा हुने सबैजसो राजनीतिक गतिविधिहरु मारवाडी समुदायको सहयोग बिना सम्भव हुँदैन । उद्योग व्यापारमा करिब ८० प्रतिशत हिस्सा यसै समुदायले सञ्चालन गर्ने भएकोले राजनीतिक दलहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने र उनीहरुका कार्यक्रम सम्पन्न गर्ने कार्यमा उनीहरुको सहयोग रहने गरेको छ ।

व्यापारमा अलि बढी केन्द्रित हुने भएकोले राजनीतिमा यो समुदायका व्यक्तिहरु थोरै मात्र आवद्ध छन् । त्यसैले स्थानीयदेखि केन्द्रीय राजनीतिमा पनि यो समुदाय त्यति धेरै सहभागिता जनाउँदैन ।

भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सबै दल निकट विद्यार्थी संगठनहरुले यहाँका उद्योगी व्यापारीहरुबाट आ–आफ्नो पहुँच र सम्बन्धका आधारमा आर्थिक सहयोग लिए । तर, ती संगठनहरुले मारवाडी समुदायका विद्यार्थीहरुलाई पनि स्ववियु निर्वाचनमा सहभागी गराउने र राजनीतिमा उनीहरुको प्रतिनिधित्वलाई अगाडि सार्ने तर्फ ध्यान दिएन । तर अखिल क्रान्तिकारीले समावेशी ढंगबाट उम्मेदवार तय गर्ने क्रममा स्नातकोत्तर क्याम्पस विराटनगरमा माडवारी समुदायकी छात्रा दिक्षा धारेवालाई कोषाध्यक्ष पदको उम्मेदवार बनायो ।

सबै समुदायहरुलाई समावेश गरेर सन्तुलित उम्मेदवारी दिएकै कारण अखिल क्रान्तिकारीले स्नातकोत्तर क्याम्पसमा ऐतिहासिक जित पनि प्राप्त गर्यो । अखिल क्रान्तिकारीबाट उम्मेदवार बनेका एक सदस्य बाहेक त्यहाँ सबै विजयी भए । त्यसै मध्ये दिक्षाले पनि जितिन् ।

जितपछि दिक्षा उत्साहित छन् । माडवारी समुदाय विगतदेखि नै माओवादी पार्टीसँग त्यति नजिक थिएन । त्यसमा पनि राजनीतिभन्दा टाढा बस्न रुचाउने अनि तुलनात्मक रुपमा महिलाका लागि अलि बन्द समाजबाट दिक्षाले ठूलै क्रान्ति गरिन् । उनले विद्यार्थी राजनीति अघि बढाउन परिवर्तनकारी शक्ति अखिल क्रान्तिकारीलाई रोजिन् र उम्मेदवार बन्ने हिम्मत समेत गरिन् । त्यो आँट र विश्वासले उनलाई विजयी बनायो । उनले निकटतम प्रतिद्वन्द्वी उम्मेदवारलाई १६ मतान्तरले पराजित गरेकी हुन् ।

बुबा स्वर्गीय वीरेन्द्र धारेवा र आमा ममता धारेवाकी सन्तान दिक्षा विराटनगर १५ की स्थायी बासिन्दा हुन् । यस पटक स्ववियु निर्वाचनमा उनी विराटनगरमा माडवारी समुदायबाट उनी एक्ली उम्मेदवार थिइन् । स्नातकोत्तर क्याम्पस विराटनगरको स्ववियु इतिहासमा पनि पहिलो माडवारी महिलाको विजयी प्रतिनिधि भएको अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष अभिमन्यु यादवले बताए । उनले भने, ‘यो समुदायले हाम्रो विद्यार्थी आन्दोलनमा धेरै प्रकारको सहयोग गरेको छ तर कसैले पनि उनीहरुलाई राजनीतिक रुपमा अगाडि बढाउने र ठाउँ दिने तर्फ भने ध्यान दिएनन्, अखिल क्रान्तिकारीले त्यो अवसर दियो ।’

जितबाट उत्साहित बनेका दिक्षा अध्ययनसँगै राजनीतिक करियरलाई अगाडि बढाउने बताउँछिन् । राजनीतिले हरेक क्षेत्रलाई प्रतिनिधित्व गर्ने र देशको नेतृत्व गर्ने आधार तयार पार्ने भएकोले उनले अखिल क्रान्तिकारी मार्फत आफ्नो राजनीतिक भविष्यको मार्गरेखा अगाडि बढाउने बताइन् । स्ववियु पदाधिकारीको रुपमा क्याम्पसको शैक्षिक विकासका लागि नयाँ सोचका साथ काम गर्ने उनी बताउँछिन् ।

शुक्रबार, ०७ चैत, २०८१, दिउँसोको ०१:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर