नदीको किनारमा मिलेको ढुङ्गा उठाउदै केही वर्ष अगाडि एकजना दिदीले भन्नुभएको थियो, ‘ओइ हेरन यो ढुङ्गाको आकार कति राम्रो है ? यो नदीको भेल र छालले पेल्दा–पेल्दा चिल्ला राम्रा बनाएको हो ।’
म उहाँको कुरामा जवाफविहीन थिएँ । किनकि हातले बनाए झैँ ढुङ्गाको सुन्दर आकारमा नदीको के दोष ? त्यसको अर्थ बुझ्न सकिन या बुझ्न चाहिन । दिादीले त्यो ढुङ्गा झोलामा हालेर देवता बनाएर पूज्न घर लिएर जानुभयो । अझै पनि देवता मानेर पूजा गर्नुहुन्छ ।
जीवनको अनेक उत्तरचढावलाई छिचोल्दै एउटा उमेर पारगरेपछि दिदीले उबेला भन्न खोज्नुभएको अभिव्यक्तिको भाव बल्ल बुझ्दैछु । मान्छेलाई पनि संघर्षको छाल र भेलले विभिन्न हन्डर र ठक्कर दिँदै एउटा सुन्दर आकार दिने रहेछ ।
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापोको जीवनमा आधारित चलचित्र ‘अन्जिला’ हेरिसकेपछि यो प्रसंग जोड्न खोजेकी हुँ ।
किनकी यो चलचित्रले जब अभाव र दबाबले देखिएका सपनाहरुको ढोका बन्द हुन्छ , तब अर्को ढोका खोज्दै हिँड्ने एउटा साधारण भुइँमान्छेको कथाले जीवनमा सकारात्मक सन्देश प्रवाह गर्छ भन्नेमा दुईमत छैन ।
काल्पनिक कथावस्तुमा निर्माण भएको भन्दा पनि वास्तविक जीवनको भोगाइमा आधारित चलचित्रमा सिंगो जीवन भेटिने रहेछ । फिल्म हेर्दै गर्दा एन्जिला फुटबलका लािग मात्रै होइन, कलाकार बन्न पनि जन्मेको हो जस्तो महसुस भयो । उनले आफ्नो अभिनय मार्फत पनि चलचित्रलाई न्याय दिएकी छिन् । सादय आफैले भोगेको जीवनको तितो यथार्थ भएर पनि होला उनले रिलभित्र पनि ‘रियल लाइफ’ मा झैँ भिजेर आफ्नो जिम्मेवारी निर्वाह गरेकी छिन् ।
बुवाको माया र साथबाट टाढिएर आमा र दाजुसँग उनी हुर्किएकी हुन्छिन् । बुवाले किन र कसरी छाडेर गए भन्ने उनले ठम्याउन सक्दिनन् । किनकी बुवाले छोड्दा उनी सानै हुन्छिन् ।रक्सीको लत र झगडालु बुवाको स्वभावले विग्रह निम्त्याएको उनको परिवारको दृश्यबाट निर्देशकले कथालाई एउटा स्वरुप दिन सुरु गरेको छ ।
फिल्ममा दयाहाङ राई ‘चन्द्रे साहु’ भएर अभिनय गरेका छन् । उनी जिप साहु आफंै चालक हुन्छन् भने, एन्जिलाकी आमाको रुपमा सिर्जना सुब्बा (कौशिला) ले भूमिका निर्वाह गरेकी छिन् । चन्द्रे साहुले ‘कौशिला’ लाई चाहेका हुन्छन् ।
यता, चन्द्रे साहुको घरमा श्रीमती र छोराछोरी हुन्छन् । तर, पनि कौशिला चन्द्रे साहुको मनमा गाडिएकी हुन्छिन् । कौशिलाले भने प्रतिकार गरिहेकै हुन्छिन् ।
एकदिन फुटबल खेल्ने क्रममा एन्जिलाको खुट्टा मर्किदा चन्द्रे साहुले नै उनलाई इलाम अस्पताल पुर्याउछन् । अस्पतालमा एन्जिलालाई चन्द्रे साहुले गरेको माया र स्याहार बुवाको भन्दा कम हुँदैन । त्यहीबाट कौशिलाको मन फर्किन्छ । दुईदिनको अस्पताल बसाइपछि कौशिला घर फर्किदा उनको पूर्व श्रीमान (माओत्से गुरुङ) पनि आएको हुन्छ । त्यसपछि समाज र परिवारको दबाबमा चन्द्रे साहु र कौशिलाको जीवनमा नयाँ घुम्ती सुरु हुन्छ ।
कलाकारहरुको अभिनयको चर्चा गर्न चाहिन किनकि दयाहाङ राई, माओत्से गुरुङ, विजय बराल, सिर्जना सुब्बा, बुद्धि तामाङलगायतको अभिनयमा जीवन्त नै भेटिन्छ ।अब मिलन चाम्सद्धारा निर्देशित चलचित्रमा देखाउन खोजिएको दृश्यको चर्चा गरौँ । बाल्यकालदेखि फुटबल खेलाडी बन्ने सपना देखेको छोरीका लागि आमाले गरेको बलिदान, त्याग र समर्पणलाई निर्देशकले मिहिन ढंगले उतार्न सफल भएका छन् ।
आमाको त्यो त्याग नभइदिएको हुँदो हो एन्जिलाका सपना त्यही इलामको आइतबारेमा विलिन हुन्थे होला भन्ने अनुमान लगाउन सकिन्छ ।अभाव र दबाबले मर्न लागेको सपनालाई आमाको आँट र हिम्मतले फेरि जीवित बनाइदिएको दृश्य एउटा सन्तानका लागि प्रेरणाको श्रोत नै बन्छ ।
आमाको न्यानो काख छोडेर काठमाडौंको गल्ली र सडकहरुमा एक्लै बिताएका ती रातहरु कस्तो भयानक थिए होलान् ? सोच्दा मुटु काँप्छ । परिवारको विग्रहले सन्तानको भविष्य र वर्तमानमा कति असर पार्छ ? यसको जवाफ चलचित्रबाट पाइन्छ ।
संसारले असफल ठान्लान् तर, एउटी आमा मात्रै हुन्छिन्, जसले छोराछोरीलाई संसार जित्न प्रेरणा मात्रै होइन, विश्वास पनि गर्छिन् । तर, जीवनको घुम्ती र मोडहरुमा अप्ठ्यारो परिस्थितिहरु थुप्रै आँउछन् । तर, अप्ठ्यारोमा साथ कसले दियो ? भन्ने महत्वपूर्ण पाटो हुन्छ । मैले जोड्न खोजेको बिरानो शहर जहाँ आफ्नो भनिएकाले साथ नदिएको अवस्थामा खेलकुद सामग्री बिक्री गर्ने व्यापारीले दिएको साथ, एपीएफका अधिकृत अर्थात् एन्जिलाका ‘गड फादर’ ले उनको सम्भावना र मेहेनतलाई देखेर दिएको साथ गर्विलो छ ।
उनकै जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा फिल्मको छायांकन गरिएको छ । चलचित्रमा समाजमा भएका हरेक पात्रलाई टिप्न खोज्दा कही न कतै कम्जोर पक्षहरु भेटिन्छ । तर, ती कम्जोर पक्षलाई सुधार्ने प्रयत्न पनि गरिएको छ ।
समग्रमा एन्जिलाको जीवनलाई आधार मानेर निर्माण भएको फिल्मले मन मात्रै दुखाएन दर्शकहरुको आँखामा आँशु छल्किएको देख्न सकिन्थ्यो ।
र, अन्त्यमा खेलाडीका लागि मात्रै नभएर कुनै कारणले पूरा नभएका सपनाहरुको सम्झनामा भौतारिरहकाहरुले यो फिल्म हेर्नै पर्छ । दुुखःका पहाड जत्रो भए पनि छिचोल्ने आफैंले हो । संघर्षको मैदानमा लड्ने हो भाग्ने होइन । मेहेनत, धैर्यता र इच्छाशक्ति भए जीवनको जस्तोसुकै परिस्थितिको सामना गर्न सकिन्छ भन्ने एन्जिलाको जीवनीबाट लिन सकिन्छ । त्यसो त बा आमाको माया नपाएर खराब बाटो रोज्नेहरुका लागि पनि एन्जिलाको जीवनी सिकाइको एउटा पुस्तक बन्न सक्छ ।