विराटनगर । औद्योगिक कच्चा पदार्थ बोकेर भारतबाट आएका दुई वटा ट्रकको नम्बर एउटै भेटिएपछि अनुसन्धान सुरु भएको छ ।
भारतबाट उद्योगको कच्चा पदार्थ बोकेर आएका भारतीय ट्रकको नम्बर प्लेट समान पाइएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो ।
काबरा ग्रुप अन्तर्गत क्वालिटी केम प्रा.लि.मा कच्चा पदार्थ अनलोड गरेर फर्कदै गरेको र मालवस्तु बोकेर भन्सारमा जाँचपासका लागि पार्किङमा रोकिएको गाडीको नम्बर एउटै भेटिएको थियो । विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले घटनापछि दुवै ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् ।
राजस्व छलीको संभावना देखिएपछि भारतीय नम्बर प्लेट आरजे १४ जीएच ०४३३६ नम्बरका दुईवटा मालवहाकलाई एकै स्थानमा रोकेर अनुसन्धान थालिएको भन्सार कार्यालयले जनाएको छ । उद्योगबाट सामान अनलोड गरेर भारततर्फ फर्कने क्रममा भन्सार प्रवेश गर्ने बेलामा इन्ट्रि गराएको नम्बर भन्सार पार्किङ यार्डमा सामानसहित रोकेको गाडीसँग मिलेको थियो ।
सर्भरमा नम्बर इन्ट्री गर्दा फर्कदै गरेको गाडी पार्किङमा रहेको संकेत आएपछि भन्सार कर्मचारीलाई शंका लागेको थियो । भन्सार कर्मचारीले चेक गर्दा दुबै ट्रकले एउटै उद्योगको कच्चा पदार्थ ल्याएको खुलेको छ ।
फर्कने ट्रक र भारतीय भन्सार परिसरबाट नेपालको भन्सार परिसरमा सामान बोकेर आउने ट्रकको समय एउटै परेको थियो । भारततर्फ फर्कदै गरेको ट्रकको सामान भन्सार जाँचपासपछि नै अनलोड भएको थियो । तर, पार्किङमा भएको ट्रक भने भन्सार जाँचपास हुन बाँकी रहेको थियो । यस्तो अवस्थामा पहिलो ट्रकको सामानको प्रज्ञापनपत्र दुरुपयोग गरेर दोस्रो ट्रक भन्सारबाट निकाल्न खोजिएको आशंका गरिएको छ ।
भन्सार कार्यालयले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । विराटनगर भन्सारका अधिकृत एवं मुद्दा शाखाका प्रमुख फर्सबहादुर राईले एउटै नम्बर प्लेटका भारतीय गाडीमा कसरी सामान आयो भन्ने विषय अनुसन्धानको क्रममा रहेको बताए । एकै पटक आउँदै र जाँदै गरेको गाडीको नम्बर एकै हुँदा सिस्टमले लिन नमानेपछि समान नम्बर प्लेट रहेको खुलेको थियो ।