बक्रहा खोला किनारमा युवा–युवती मृत भेटिए

विराटनगर । मोरङको पथरीशनिश्चरे ५ मौलिबारी स्थित बक्राहा खोला किनारमा रहेको पिठारीको रुखमा विवाहित युवा–युवती एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । सोमबार बिहान पिठारीको रुखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहनविक्रम दाहालका अनुसार पथरीशनिश्चरे–५ का अन्दाजी २४ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ घर तथा मोरङको कटहरी गाउँपालिका–६ माइती भएकी २२ बर्सिया जुवामुनि हस्दा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

दुवै जना विवाहित रहेको दाहालले बताए । घाँटीमा नाइलनको एउटै डोरीको पासो लगाएर रुखको हाँगोमा झुन्डिएको अवस्थामा बिहान १०ः३० बजेतिर स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । त्यस लगत्तै डिएसपी दाहाल नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।
प्रहरीका अनुसार घटनास्थल अजयको घरबाट करिब १ किलोमिटर दक्षिणमा पर्छ । मृत फेला परेकी जुवामुनिका पति कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको प्रहरीले जनाएको छ ।

मृत फेला परेकामध्ये अजयको घरमा पत्नी तथा ४ र २ वर्षका २ जना छोरा रहेको डिएसपी दाहालले बताए । जुवामुनिका डेढ वर्षका छोरा रहेको उनको भनाइ छ । दाहालका अनुसार अजयले जुवामुनिलाई गत आइतबार राति आफ्नै घरमा लिएर आएको पत्ता लागेको छ ।

अजयको घरमा खाना खाएर राति नै उनी निस्किएको पाइएको प्रहरीले जनाको छ । सम्पर्क र आउजाउको अवस्था हेर्दा दुवै जना प्रेम सम्बन्धमा रहेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।प्रेम सम्बन्धमा समस्या उत्पन्न हुनसक्ने देखेपछि दुवै जनाले सल्लाहमै आत्महत्या गरेको हुनसक्ने डिएसपी दाहालको भनाइ छ । ‘घटनास्थलको प्रकृति हेर्दा र प्रारम्भिक अनुसन्धानबाट दुवै जनाले सहमतिमै आत्महत्या गरेजस्तो देखिन्छ । तर, थप कुरा यकिन भइसकेको छैन । घटनास्थल मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि पठाउँछौँ । थप कुरा अनुसन्धानपछि मात्रै खुल्छ,’ उनले भने ।

मङ्गलबार, २० फागुन, २०८१, दिउँसोको ०३:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर