विराटनगर । ९औं संस्करणको विराट गोल्डकप आजदेखि सुरु हुँदैछ । विराटनगरको सहिद रंगशालामा साँझ साढे ६ बजेदेखि सुरु हुँदैछ । फ्लडलाइटको सहयोगमा विगत केही वर्षयता विराटनगरमा रात्रीकालीन फुटबल प्रतियोगिता हुँदै आएको छ ।
गोल्डकपको उद्घाटन खेलमा घरेलु टिम रिजालको मोरङ ११ र कोलकाताको साउथर्न क्लबबीच हुनेछ । आयोजकले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । यसअघि सार्वजानिक भएको खेल तालिका अनुसार उद्घाटन खेल विभागीय टिम त्रिभूवन आर्मी र साउर्थन क्लबबीच हुने भनिएको थियो । तर सोमबार आर्मीको खेल जुधेपछि तालिका तलमाथि हुन गएको संयोजक रिजालले बताए ।
फागुन २० गते सशस्त्र प्रहरी बल (एपीएफ) र सुदेभा दिल्ली फुटबल क्बल भारत बीच हुनेछ । त्यसैगरी फागुन २१ गते पहिलो क्वाटरफाइनल खेल हुने छ । पहिलो क्वाटरफाइन खेल त्रिभूवन आर्मी ११ र उद्घाटन खेलका बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । फागुन २२ गते दोस्रो क्वाटरफाइनल खेल हुनेछ । नेपाल पुलिस क्लबले बाई पाएको छ । सशस्त्र प्रहरी बल (एपीएफ) र सुदेभा दिल्ली फुटबल क्बलको बिजेता टिमसँग पुलिसले सेमिफाइनल यात्राको लागि प्रतिस्पर्धा गर्नेछ ।
फागुन २३ गते मच्छिन्द्र र थ्रि स्टार बीच हुनेछ भने फागुन २४ गते चर्च ब्वाइज फुटबल क्लब काठमाण्डौं र एन आरटी क्लब काठमाण्डौ बिच हुनेछ । फागुन २५ र २६ गते सेमिफाइनल खेल हुनेछ भने एक दिन ग्याप राखेर फागुन २८ गते फाइनल हुनेछ ।
प्रतियोगितामा विदेशी दुई टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहनेछ । यस पटक विजेतालाई ११ लाख र उपविजेतालाई ५ लाख रुपैयाँ दिने तयारी गरिएको छ । गोल्डकप ट्रष्टले गत वर्षको सातौं संस्करणको भन्दा पुरस्कार राशी झण्डै आधा घटाएको थियो । सातौं संस्करणमा विजेतालाई नगद २० लाख १५ हजार र उपविजेतालाई १० लाख १५ हजार रुपैयाँ थियो । गत वर्ष आठौं संस्करणमा पुरस्कार राशि घटाएर विजेतालाई ९ लाख १५ हजार र उपविजेताका लागि ५ लाख ३५ हजार रुपैयाँ पुरस्कार राशि निर्धारण गरिएको थियो । यस पटक भने प्रथम पुरस्कार रकम केही बढाइएको छ भने उपविजेताले पाउने पुरस्कार राशि थोरै घटाइएको छ ।
त्यसैगरी उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई नगद १५ रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ । यसैगरी हरेक दिनको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार रुपैयाँ पुरस्कार दिइने छ भने सर्वोकृष्ट खेलाडीलाई नगद ५१ हजार रुपैयाँ दिइने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
यसअघि सर्वोत्कृष्ट खेलाडीलाई मोटसाइकल दिने गरिएको थियो ।
प्रतियोगिता सम्पन्न गर्न १ करोड ३५ देखि ५० लाख रुपैयाँसम्म खर्च हुने अनुमान आयोजकले गरेको छ । विगतका वर्ष भन्दा यस पटक फरक तरिकाले गोल्डकप गर्ने विराट गोल्डकपका संयोजक नविन रिजालले बताए । प्रतियोगिता सुरु हुनुभन्दा एक घण्टा अगाडि राष्ट्रिय स्तरका कलाकारहरुबाट सांगीतिक कार्यक्रम हुने उनले बताए । खेल हेर्न आउने दर्शकहरु मध्येबाट पाँच जनालाई दैनिक फेस अफ द विराट गोल्डकप छनोट गरी ताज पहिरिने तयारी गरिएको उनले बताए ।
यस पटक विराट गोल्डकप गर्ने जिम्मा ट्रष्टले विराटनगरका उद्योगी तथा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका निर्वतमान अध्यक्ष रिजाललाई दिएको हो । ५औं संस्करणको प्रतियोगिता पनि उनकै सक्रियताबाट सफलतापूर्वक सम्पन्न भएको थियो । गोल्डकपको ७ र ८औं संस्करणमा आयोजक टिमले लगातार ठूलो घाटा व्यहोरेको थियो । ट्रष्टको बैठकले ९औं संस्करण आयोजनाको जिम्मा पुनः निजी क्षेत्रलाई दिएको हो । २०७४÷०७५ सालमा पनि ट्रष्टले उद्योगी रिजाललाई जिम्मा दिएको थियो । रिजालले मोफसलमा पहिलो पटक रात्रीकालीन फुटबल प्रतियोगिता आयोजना गरेका थिए । काठमाडौंपछि पहिलो पटक विराटनगरमै रात्रीकालीन फुटबल भएको थियो । उनले सहिद मैदानमा अस्थायी फ्लडलाइट्स बनाएर विराटनगरवासीलाई पहिलो पटक रात्रीकलीन फुटबल खेलको महसुस दिलाए । उनको संयोजकत्वमा रात्रीकालीन फुटबल भएपछि सहिद मैदानमा प्रदेश सरकार र विराटनगर महानगरको सहयोगमा स्थायी फ्लडलाइट्स राखिएको थियो । रिजालले उक्त संस्करणमा ट्रष्टलाई ५ लाख ८८ हजार रुपैयाँ बचत गराएका थिए ।