जीवन भोगाइ : परिवर्तनको पक्षमा सधैं अटल

कृष्ण पोख्रेल सुनसरीको हरिनगरामा जन्मेका हुन् । बजारको पूर्व र पश्चिम तर्फ पहाडिया टोल थियो । त्यही टोलमा उनी हुर्केका हुन् । त्यहाँ रैथाने भने मधेसी समुदायका थिए । हलुवाई, नुनिया गडेरी, कोइरी टोलमा भने मधेसी बस्ती थियो । मधेसी टोलमा पनि अलग अलग जातका बस्थे । उनीहरूसँगै हुर्केका पोख्रेललाई उनी केटा केटी भएको बेलामा नेपाली भन्दा मैथिली बोल्न सजिलो लाग्थ्यो ।

उनको पढाइ भने कटेराबाट सुरु भएको थियो । त्यैका एक जना बुढा मास्टरले उनलाई पढाउँथे । सोमबारे हाटमा कायस्थ थरका मास्टरले पढाउँथे । उनलाई बुढ्वा मास्टर भनेर गाउँलेले चिन्ने गरेको कृष्ण पोख्रेलले बताए ।

ती मास्टरकै घरमा ओछ्याउनका लागि बोरा बोकेर पढ्न जाने गरेको उनले सम्झिए गरेको उनले सुनाए । गाउँकै मधेसी एक जना आफैसँग गएर पढ्ने गरेको उनले बताए । ‘मसँग बोरामा बस्न पाइन्छ भनेर होला’ उनले भने, ‘मैले नाम बिर्संे । मधेसी थरका थिए । उसको घरमा बोरा नभएर मसँगै गएर पढ्थे । ‘मास्टर भनेपछि डरले कम बोल्ने गरेको विगत सम्झँदै उनले सुनाए । ती मास्टरको एक जना विद्यार्थीको डेढ रुपैयाँ महिनाको तलब भएको उनी बताउँछन् ।

२००४ सालमा जन्मेका पोख्रेल ५ वर्षको भएदेखि ती बुढ्वासँग पढ्न थालेका हुन् । घरमा आउँदा बुबाले कस्तो छ मास्टर जी मेरो छोराको पढाइ भनेर सोध्दा मास्टरले (अरू वात त ठिक छे मुखिया जी लेकिन एकर बोली पाँच टक्का बिकाइय) यसको बोली सुन्न ५ रुपैयाँ पर्छ । बोल्दैन भनेर भनेको उनी स्मरण गर्छन् । पछि तिनै मास्टरले–गोहाली (गोठ)मा पढाउन थालेका थिए । भुईँमै बसेर पढ्ने गरेको पोख्रेल स्मरण गर्छन् । शनिबार शनिश्चरा मनाउने गर्थे ती बुढ्वा शिक्षकले । शनिश्चराको भने रोचक प्रसङ्ग छ । शनिबारको दिन घरबाट चामल, दुई पैसा, सखर (गुण) आफ्नै बारीमा फुलेको फूल अनि आफ्नै बारीमा फलेको भए पाकेको केरा लिएर जानुपथ्र्याे । सरस्वती भनेर लट्ठीको पूजा गर्ने गर्थे । पूजा सकेपछि लगेका चामललाई भिजाएर सखर केरा हालेर मुछेर प्रसाद बनाउने चलन थियो । शनिवार स्कुल लगाएर आइतबार बिदा हुने गरेको थियो ।

‘गाउँमा हुर्केकाले पूजा भनेपछि प्रसाद भनेपछि खान पाइएला भन्ने लाग्थ्यो,’ पोख्रेलले भने ‘पहिलो प्रसाद विद्या आउँछ भनेर छडीले हान्थे । छडीको पूजा गरेको छ विद्या आउँछ भनेर त्यसले हिर्काउँथे । अनि मात्रै मात्रै कचौरा दुनामा प्रसाद दिन्थे ।’
पछि भने हरिनगरा मिडिल स्कुल भनेर खुलेपछि उनले त्यही पढ्न थाले । त्यहाँ ५ कक्षासम्म पढाइ हुन्थ्यो । त्यति बेला मास्टरले कुटेर नै पढाउँथे अनि डर लाग्थ्यो । ५ कक्षासम्म त्यहाँ पढियो । स्कुलमा ४ जना मास्टर थिए । मैथिली र हिन्दीमा पनि पढाउने गरेको उनले बताए । केही सोध्यो भने चिच्याएर बोल भनेर कराउने गरेको पोख्रेल स्मरण गर्छन् । तीन चार कक्षामा पढ्दा हिन्दी पढ्नु परेको उनले सुनाए । ‘तुम्हारा देशके राष्ट्रपिता कौन है’ भनेर सोध्या हुन्थ्यो । महात्मा गान्धी लेख्नुपथ्र्याे । प्रधानमन्त्री के नाम क्या है ? आपका घर किस प्रांत में है ? बिहार प्रांत कहाँ है भनेर सोध्या हुन्थ्यो । पटना भनेर उत्तर लेख्नुपथ्र्याे’, बाल्यकालको स्कुलको स्मरण गर्दै उनले भने ।

पारसमणि प्रधानले लेख्नुभएको पुस्तक देवनागरीमा भएकाले मधेसी मास्टरले कठिनले पढाउने गरेको उनले बताए । ‘यसका माने लडका आना’ भनेर पढाउने गरेको उनले बताए । ती मास्टरहरूले हिन्दी चाहिँ मज्जाले पढाउने गरेको पोख्रेलले बताए । त्यति बेला बस्ने बेञ्च मात्रै थिए भने घुँडामा कपि राखेर लेख्ने गरेको उनले बताए । अग्रेंजी पढाउने भने उनका माइला बुबाका छोरा दाजु विश्वराज पोख्रेल थिए । उनी विद्यालयमा प्रथम र दोस्रो हुने गर्थे । दाजु विश्वराजले एसएलसी बनारसबाट पास गरेका हुन् । ‘दाजु विराटनगर आउने भएपछि यसको रेखदेखमा पढ्दै थियो । अब बिग्रने भयो भनेर मलाई पनि दाजुसँगै बा ले पठाइदिनु भयो’ उनले भने ।

विश्वराजले शरीरका अग्हरुको नामा उनलाई सिकाएका थिए । गाउँमा टोलमा निस्कँदा यसलाई त अग्रेंजी आउँछ भनेर अरूले भन्ने गरेको उनले बताए । ‘बुढापाकाले पनि गाला नाक काम मुखलाई अग्रेंजीमा के भन्छन् भनेर सोध्थे,’ उनले भने आफू दङ्ग भनेर भन्थे । यसलाई अग्रेंजी फरर आउने रहेछ भन्थे । ‘उनका फुपूका छोरा गोपाल उपाध्याय गाउँमा रेडियो लिएर जाँदा समाचार सुन्नेको भीड लाग्ने गरेको उनले सुनाए । बाँस गाडेर एरियल बाँधेर रेडियो बजाउने गरेको उनी स्मरण गर्छन् ।
गाउँमा कतै कतै इनार हुने र त्यहीँको पानी खाने गरेको पोख्रेलले बताए । गाउँमा पोख्रेलकै घरमा पहिलो पटक ट्युबवेल गाडिएको थियो । ‘बुबाले आँगनमा ट्युबवेल गाडेको स्मरण गर्दै पोख्रेलले भने ‘कति समयसम्म हजुरआमा मधुकुमारी पोख्रेलले पानी नै खानु भएन । ट्युबवेलमा छाला हुन्छ भनेर । अझ कसले सुनाइदिएछ गाइको छाला हुन्छ भनेर । पछि इनारमा बिरालो मरेछ अनि मात्रै खान थाल्नुभयो । ५ कक्षापछि विराटनगरको आदर्श विद्यालयमा ७ कक्षामा उनी भर्ना भए । एक पटक भने उनले विषय लागेर पास गरेका थिए । नेपाली विषयमा ७ कक्षामा हिन्दीमा सबै भन्दा बढी र नेपालीमा फेल भए । नेपाली पनि हिन्दी मै पढेका थिए ।

स्कुलमा उनी फुटबल खेल्थे । माथिल्लो कक्षामा पढे पनि उमेर कम भएकाले एउटा टिमको क्पाटेन थिए । तीनवटा टिम मध्ये एउटा टिमको उनी क्पाटेन थिए । उनको टिममा शेखर कोइराला पनि थिए । शेखर उनी भन्दा जुनियर हुन् । बिपी कोइरालाको जेठा छोरा प्रकाश र मातृकाका छोरा अजय कोइराला पोख्रेलका साथी थिए । क्याप्टेनको जिम्मामा बल र पम्प राख्ने गरेको उनले बताए ।

२०१५ सालको माघ १४ गते आदर्श स्कुलमा उनी भर्ना भए । विराटनगरको सहिद मैदानमा संयुक्त प्रजातान्त्रिक पार्टीका के आई सिंहको भाषण चलिरहेको उनले बताए । के आई सिंहको चुनाव चिन्ह धानको बाला थियो । मञ्चको बाला झुल्यो हजुर देशै रमाइलो भनेर गीत गाउँदै नाच्दै भाषण गर्ने गरेको उनले बताए ।
परिवर्तनकै पक्षमा

१५ सालको चुनावमा गाउँमा राजनीतिक कुरा कमै हुन्थ्यो । बा चाहिँ ७ सालकै क्रान्तिमा कांग्रेसतिर लाग्नु भएको उनले बताए । उनले एउटा रोचक प्रसङ्ग पनि सुनाए । ‘विराटनगर कांग्रेसले कब्जा गरेपछि राणाहरूले सेना पठाएको रहेछ । बा सहित ५ जना मिलेर कोशीको घाट ठेक्का लिनु भएको रहेछ,’ उनले भने ‘नाउ वार पार गर्ने र कोशीबाट बगेर आउने लकडी ठेक्का लिनुभएको थियो ।’ त्यति बेला दहत्तर बहत्तर भनेर ठेक्का लगाउने चलन थियो । सेना आउँदै छन् भनेपछि अरू भागेका थिए भने उनका बुबा चाहिँ गाउँमै लुकेका थिए ।
‘बाले पनि जम्मै नाउ पूर्वपट्टी ल्याएर बाँध्न लगाएर लुक्नु भएछ । राणाको सेना तर्न नसकेपछि बुबाको खोजी गरेर लगेछन् । पुग्ने बित्तिकै त कांग्रेस होस् त भनेर सोधेछन् । क्याप्टेन कृष्णबहादुर राणाले ठोक ! यसलाई भनेर आदेश नै दिएछन् । छेउमा भएको सेनाकै जवानले अनुहार हेर्दा त बाहुनको जस्तो छ भनेर सोधौँ साव् भनेछन् । बाहुन भनेपछि बाँचिस् भनेर छाडेछन्’ उनले भने ।उनले विगत स्मरण गर्दै हाँस्दै भने ‘त्यति बेला हे ! कोशी माता तिमी साक्षात छौ भने मलाई बचाऊ, यसको मरेको अनुहार हेर्न पाउन् भनेर बुबाले भन्नु भएको थियो रे ।’

गोरु गाडामा कहीँ कांग्रेस छैनन् भनेर हेर्दा उनमाथि गोली लागेछ फर्किएर मलाइ बचाउनुहोस् बाजे भन्दै गएको उनले बताए । यता उपचार सम्भव नभएपछि भारतमा बोटमै कोशीको किनारै किनार पठाए पनि उपचार सम्भव नभएको उनले बताए ।
१५ सालको इलेक्सनमा सानै भएकाले चुनावका पोस्टर भेला गरेर किताबका गाता लगाउने गरेको उनले बताए । कुनै पार्टीको पनि बहुमत आउँदैन भनेर राजा महेन्द्रले चुनाव गराएको उनले बताए । संविधानमा नै कुनै पार्टीको बहुमत आएन भने राजाले आफूले चाहेको व्यक्तिलाई नियुक्ति गर्न पाउने व्यवस्था गरेकाले त्यसको विरोधमा बुवाहरू रहेको उनले बताए ।
छाताको मोडदुम घैलाको फेडदुम हात्तीमा चढ्के गाछीमा भोट दे । छातालाई भाँचीदेऊ, घैलालाई फुटाइदेऊ, हात्तीमा चढेर रुखमा भोट देऊ भनेर कांग्रेसले भोट माग्ने गरेको उनले बताए ।

पछि उनैलाई पढाउनका लागि बुबा विराटनगर आएका थिए । जग्गा बेचेकै बेला भने नेपालमा पनि भारुमा कारोबार हुने गरेको उनले स्मरण गरे । ‘जग्गा बेचेर पैसा लिएर आएपछि भारु र नेरु बराबर भयो । बर्खाको बेलामा हरिनगरा भारत भएर मात्रै जान सकिन्थ्यो । विराटनगरबाट जाँदा खोला भएकाले जान सकिँदैन थियो । १ सयको १६० हुने गरी बेच्नु भयो । पछि बैकमा पैसा राख्नु भन्दा अगाडि नेरु र भारु बराबर भयो । जग्गा किन्ने बेला फेरि बढ्यो भारु’ उनले भने । दोहोरो मारमा उनीहरू परे । १९ सालमा उनले एसएलसी दिएका हुन् । २१ सालको माघमा आइएको जाँच दिन ४५ रुपैयाँ तिरेर काठमाडौँ गएका थिए पोख्रेल । फर्कँदा ४५ रुपैयाँ महँगो भनेर उनी भारतको बाटो हुदै फर्केका थिए । वीरगंजसम्म बसमा र त्यहाँबाट रिक्सामा रक्सौल गएर रेलबाट घर फर्केका थिए ।

जहाज भन्दा सस्तो भएकाले त्यसरी आएको उनले बताए । विराटनगरमा उनीहरूको घर पनि जल्यो । काम गर्ने महिलाले टुकीमा तेल हाल्दा साँझमा आगो लागेको रहेछ । धेरै वर्ष भान्सा घरमा बसेको उनले बताए । आइए जाँच दिएर आउने बित्तिकै उनले महालेखा परीक्षकको कार्यालयमा मुखियाको जागिर भेटे । तलब भने ८० रुपैयाँ थियो । पछि तलब बढेर १०० भएको थियो । उनले दर्ता चलानी गर्ने काम गर्थे । त्यहाँ एक वर्ष जागिर खाए । त्यसपछि विद्यार्थी युनियनको चुनाव पनि लडे । कम्युनिस्टबाट लडेका थिए उनी । साथीभाइको संगतले उनी कम्युनिस्ट भए । सात सालमा चुनाव जितेपछि बुबाले घर अगाडि कांग्रेसले जितेको सम्झना हुन्छ भनेर नरिवलको बिरुवा रोपेको उनले स्मरण गरे ।

बिएमा माक्र्सवाद पढ्नु परेकाले पनि त्यतै लागेको उनले बताए । एक वर्ष पछि महालेखा कार्यालयको अफिस काठमाडौँमा गएपछि उनको जागिर सकियो । खरिदार बनाइदिन्छौं भने पनि पढाइ छाडेर जान नसक्ने बताएको उनले सम्झिए । त्यसपछि उनले टेलिफोन अफिसमा जागिर खाए । त्यहाँ ६ महिना जागिर गरे । परीक्षाको बेला भने उनले त्यो जागिर छाडे । बिए पास गरेपछि कानुन विषय आदर्शमै पढाइ हुन थालेको थियो । । नेपाली पढाउने शिक्षक पनि त्यहि विद्यालयमा चाहियो भनेर विज्ञापन खुलेको उनले बताए । उनले तेस्रो जागिर भने विद्यालयमा सुरु गरे । त्यतिबेला उनको तलब २१७ रुपैयाँ थियो । त्यहाँ कलेजको फि घटाउने आन्दोलन भयो । त्यो आन्दोलनमा उनी पनि सहभागी भए । वार्ता समितिमा पनि पोख्रेललाई राखियो । तर, उनको जागिर भने रहेन । सेवाको आवश्यकता नभएको भनेर निकालिएको उनी बताउँछन् । अन्तिम दिन विद्यार्थीलाई धन्यवाद दिएर उनी बिदा भए । ‘विद्यार्थीले कृष्ण सरलाई पुनर्बहाली गर भनेर आन्दोलन गरेछन् । विराटनगरका सबै विद्यालयका विद्यार्थी भेला भएछन् । विद्यालय प्रशासनले छोरा छोरीलाई घर बाहिर निस्कन नदिनु भनेर माइकिङ नै गर्नु परेको थियो,’ उनले भने । उनी ६ महिना जेल परे । ४ सयजति विद्यार्थी पनि पक्राउ परेका थिए । विद्यार्थीलाई राख्दा विराटनगरका कुनै गोदाम खाली नभएको उनले बताए । आफूलाई राखेकै कोठाको अर्काेपट्टी विद्यार्थी रहेछन् । उनले भने उनीहरूलाई ओछ्याउन दिएका लुगाहरू जेलभित्र जलाइदिएछन् विद्यार्थीले । त्यति बेला नेपाली सेनाले जेलमा सुरक्षा दिन्थ्यो । विद्यार्थी आगो सल्काएर नाच्न थालेछन् । सेनाको मेजर आएर ‘तपाइँकै विद्यार्थी हुन् सम्झाइदिनु प¥यो, हामीले सकेनौं भनेपछि गएर सम्झाएँ । सम्झाएपछि उनीहरुले पनि माने । सरले भनेपछि अब गर्दैनौं भनेर विरोध गरेनन् । त्यसपछि घरका सबैले यहाँ नबसोस् भनेर काठमाडौँमा पठाउनु भयो ।’

काठमाडौँमा गएपछि उनले किर्तिपुर हाइस्कुलमा पनि पढाए । २०२८ सालदेखि पढाएका थिए । मुख्य सचिव जीवन कोइरालाले साहित्य भनेको के हो भनेर सोधेका उनले स्मरण गरे । झापाको भद्रपुरको एक विद्यालयमा पनि उनले पढाएका थिए । सिपी मैनाली र युवराज खतिवडा उनका विद्यार्थी थिए । सिपीलाई पञ्चायतको विषयमा पढाउँदाको रमाइलो किस्सा पनि उनले सुनाए । वर्गीय संगठन भनेको चाहिँ दलहरू नभएको अवस्थामा दलमा लागेका मान्छेहरूका लागि भुलाउने माध्यमका रूपमा वर्गीय संगठन खोलिएको हो भनेर मैले पढाउँदै थिएँ । त्यसबेला कक्षामा पढाउँदाको क्षण सम्झिदै उनले भने ‘त्यो वर्गीय संगठन भनेको त खैनी रहेछ होइन सर भनेर सोधे ।’ कसरी भनेर सोध्दा ‘चुरोटको तलतल मेटाउनलाई गाउँघरतिर खैनी खाने भन्छन् नि, हो त्यस्तै त रहेछ नि ! भनेर उदाहरण दिन्थे ।’

संविधानसभामा समानुपातिक कोटाको बन्द सूचिमा उनको नाम थियो । ‘निर्णयमा मेरो नाम देखेपछि मैले माधव नेपाललाई फोन गरेर उच्च मुल्याकन गर्नु भएकोमा धन्यवाद कमरेड ! म सक्रिय राजनीतिमा आउँदिन भनेर भनेको उनले बताए । प्रोफेसनल काम केही आइलाग्यो भने सम्झनुहोला भनेर उनले भनेका थिए । पछि लोकसेवा आयोगमा झलनाथ खनालको पालामा उनलाई सदस्यमा नियुक्ति गरिएको थियो । झलनाथ पनि उनका विद्यार्थी हुन् । पोख्रेल एमए पढ्दा झलनाथ आइएस्सी पढ्थे । अहिले पनि झलनाथ खनालले सम्झने गरेको उनले बताए । झापा आन्दोलनपछि राजनीति छाडेको उनले बताए । २०५१ सालमा एमालेको सरकार बन्दा बुद्धिजीवी अराजक भनेर गाली गर्ने गरेको उनले बताए । झन्डा बोकेर हिँडेन भनेर एमालेका कार्यकर्ताले खेदेको पनि उनले सम्झिए । धेरैले भएका पद खोसेर कृष्ण पोख्रेल बनाइदिन्छांै भनेर धम्क्याउने गरेको उनले बताए । उनी पूर्वाचलको विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष पनि भएका थिए ।

आइतबार, १८ फागुन, २०८१, बिहानको १०:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर