दलित पढ्ने विद्यालयको बेथिति : एउटै कोठामा दुई कक्षा

विराटनगर । विराटनगर महानगरपालिका ४ स्थित श्री ज्योति आधारभूत विद्यालयमा तराईका दलित रिषिदेव समुदायका विद्यार्थी अध्ययनरत छन् । ५ कक्षासम्म अध्ययन अध्यापन हुने सो विद्यालयमा एक सय ३० जना विद्यार्थी छन् । २०३१ सालमा स्थापना भएको सो विद्यालयमा हालसम्म पनि विद्यार्थीलाई अध्ययन गर्ने कक्षा कोठाको अभाव छ । स्थानीय सरकार र प्रदेश सरकारको बेवास्ताले भवन अभावमा एउटै कक्षा कोठामा दुई वटा कक्षा सञ्चालन हुँदै आएको छ ।

विद्यालयले लामो समयदेखि भवनको अभावै अभाव झेल्दै एउटै कोठामा पार्टिसन (दुई भागमा बाँडेर) गरेर कक्षा १ र २ सञ्चालन हुँदै आएको छ । बालविकासदेखि कक्षा पाँचसम्म रहेको उक्त विद्यालयमा भवन नहुँदा पठनपाठनमा समस्या भएको शिक्षक भोजकुमार अधिकारीले बताए ।

‘विद्यालयमा एउटै साँघुरो कोठामा दुई वटा फरक कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ,’ उनले भने । कक्षा एक र दुईका विद्यार्थीलाई एउटै कोठामा राखेर पठनपाठन गर्नुपर्दा विद्यार्थीमा अलमल हुनुका साथै नबुझिने गरेको गुनासो रहेको शिक्षक अधिकारीले सुनाए । ‘एक र दुईका विद्यार्थीहरूलाई एउटै कक्षामा राखेर पठनपाठन गर्नुपर्ने बाध्यता रहेकाले शिक्षण उपलब्धि हासिल गर्न सकिरहेका छैनौं,’ उनले भने ।

विद्यालयको ६ वटा कोठामात्रै छन् । एउटामा कार्यालय कक्ष, अर्को एक कोठामा बालविकास, एक कोठामा दुई र एकसँगैका विद्यार्थीलाई राखेर पठनपाठनको कार्य हुँदै आएको उनले बताए ।एउटै कोठामा फरक कक्षाका लागि शिक्षकले पढाउँदा विद्यार्थीलाई पढाएको कुरा बुझ्नसमेत निकै समस्या हुने गरेको छ । भवन अभाव हुँदा एउटै कोठामा दुई कक्षा सञ्चालन गर्न बाध्य भएको उनको गुनासो छ । विद्यालय भवनका लागि स्थानीयलाई सहयोगका लागि आग्रह गर्दा कसैले सित्तैमा दिन नमानेको उनको भनाइ छ । भवन निर्माणका लागि वडा र महानगरपालिकालाई पहल गरिदिन शिक्षकको आग्रह छ । कक्षा एकमा छात्रछात्रा गरी १८, दुईमा २८ जना गरी ४६ जना विद्यार्थी एक कक्षा कोठामा अध्ययन गर्दै आएका छन् । तीन दरबन्दीसहित दुई राहत र एक विद्यालयका कर्मचारी सहित ६ जना कार्यरत छन् ।

दलित विद्यार्थी अध्ययनरत सो विद्यालयमा बालविकासमा अझै पनि विद्यार्थीलाई बस्नका लागि डेस्क–बेन्च छैन । शिक्षामा सबैको पहुँच पु¥याउने राज्यको लक्ष्य रहेपनि भवन निर्माणको लागि पटक–पटक स्थानीय सरकार र प्रदेश सरकारलाई आग्रह गरेपनि कसैले वास्ता नगरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण कुमार चौधरीले बताए ।

‘विद्यालयमा चारकोठे भवनबाहेक अरु केही पाइएको छैन,’ अध्यक्ष चौधरीले भने, ‘अहिलेसम्म विभिन्न निकायसँग माग गर्दा पनि विद्यार्थीका लागि चाहिने भौतिक संरचना पाउन सकेका छैनौं ।’ अधिकांश दलित समुदायका बालबालिका रहेको र यहाँका दलित समुदायको आर्थिक अवस्था पनि अत्यन्तै दयनीय रहेका कारणले अभिभावकले विद्यालयका लागि चन्दा दिएर कक्षा कोठा बनाउने कुरा त परै जाओस डेस्क र बेन्चको व्यवस्था गर्न नसक्ने अवस्था रहेको उनले बताए ।

यहाँका सबै दलित गरिबीको रेखामुनि रहेका छन् । अर्का अभिभावक रमेश मण्डलले भने, ‘गाउँमा रकम उठाएर भवन बनाउन सक्ने अवस्था छैन,’ उनले भने, ‘स्थानीय, प्रदेश र संघीय सरकारसम्म हाम्रो पहुँच छैन । गाउँमा नेताहरू आए विद्यालयका अवस्थाको विषयमा जानकारी दिने गरेका छौं ।’आफूहरु पढ्दा निकै राम्रो विद्यालयको रूपमा स्थापित विद्यालयमा हाल रिसिदेव समुदायका विद्यार्थी मात्रै रहेकाले कसैले ध्यान दिन नसकेको उनको आरोप रहेको छ । ‘सबै समुदायका विद्यार्थी हुँदा विद्यालयको शैक्षिक अवस्था निकै राम्रो थियो,’ उनले भने ।

अर्की शिक्षिका कुन्ता खरेलले विद्यालयमा विद्यार्थी ल्याउन नै समस्या रहेका बेला कक्षा कोठा अभावमा नियमित उपस्थिति गराउन अर्को चुनौती खेप्नुपरेको सुनाइन् । उनले अभिभावक विहानै नै दैनिक जीविकोपार्जन गर्न काम गर्न जाने गरेर रिसिदेव समुदायमा विद्यार्थीलाई विद्यालय पठाउन अभिभावक नै नचाहेको बताइन् । ‘कतिपय विद्यार्थी राम्रो छ,’ उनले भनिन्, ‘जेनतेन कक्षा ५ सम्म विद्यालय आएपनि पास भएपछि अर्को विद्यालयमा अध्ययनको लागि पठाउँदैन ।’ विद्यालयमा ८० देखि ८५ जना विद्यार्थीको नियमित उपस्थिति हुने गरेको छ ।

बिहिबार, १५ फागुन, २०८१, साँझको ०७:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर