विराटनगर । विराटनगर–१६ को मिल्स एरियाको हड्ताली हाटमा मजदुरहरुको बाक्लो बस्ती छ । विराटनगर जुटमिलको गेटमै टाँसिएको सडकको पूर्वपट्टि रहेको हड्ताली हाटमा बुधबार र शनिबार बजार लाग्छ । तर, त्यो बजार पहिले बरगाछीको फेदमा रहेको चौतारालाई केन्द्र बनाएर लाग्थ्यो । अहिले त्यहाँबाट दक्षिणपट्टिको सडकमा सरेको छ । सो ठाउँमा पुग्दा केही मदिराका पारखीहरू टमाटरको अचार बनाउन व्यस्त थिए । केही स्टिलका गिलासमा चुस्की लगाइरहेका थिए । महिलाहरु भने सानातिना टहरोमा चलाएका मदिराका पसल, चुरोट र गुटखाका पसलहरुमा व्यस्त थिए ।
त्यही ठाउँमा ४१ वर्ष अगाडिदेखि बस्दै आएकी ६४ वर्षीय कविता मगर पहिलेको त्यो ठाउँको रौनक सम्झिन्छिन् । सरसफाइ उस्तै थियो, मानिसको आवतजावत र घुइँचो उस्तै थियो । बजार पसलमा मानिसको भीडभाड रहिनै रहन्थ्यो । ‘यहाँ त मेला नै लाग्थ्यो । जुटमिलमा काम गर्नेहरुले आ–आफ्नो घरबाट काम गर्न जान्थे । काम छुटेपछि फेरि सबै गुरुरु आउने आ–आफ्नो घर जाने गर्थे । त्यसबेला यो ठाउँमा घरको ढोका डोरीले बाँधेर हिंड्दा पनि चोरी हुँदैन थियो । अहिले त घरै फोर्ने अवस्था छ,’ मगर भन्छिन् । मिल चल्दा चौतारा आसपाको रौनक नै छुट्टै हुन्थ्यो । कस्तो राम्रो ठाउँ थियो । झिलिमिली थियो । अहिले फोहोर र गजगजी हिलो, दुर्गन्ध उस्तै छ । मजदुरहरु सबैको कमजोर आर्थिक अवस्था छ । त्यस ठाउँमा रहेको पुराना संरचनाको नाममा त्यही एउटा बरको रुख छ, साना तिना टहरा छन् । नजिकै मस्जिद छ । मन्दिर पनि छ । तर, त्यस ठाउँका हराभरापन हराएको छ ।
त्यसबेला जुटमिल्समा काम गर्ने मजदुरहरुलाई क्वाटर बनाएर दिइएको थियो । अहिले पनि जुटमिलको जग्गामा सयौं घरहरु छन् । त्यही हाट आसपासमा ६०–७० घर परिवार छन् । पुराना मजदुरहरु भने धेरैले ज्यान गुमाइसके । कतिपयले ठाउँ छोडेर हिंडे ।
‘गिरिजाबाबुले जुटमिलमै काम गर्दा उहाँसहितले हड्ताल गरेपछि यहाँको नाम नै हड्ताली हाट भयो,’ कविताले २००३ सालमा सुरु भएको आन्दोलनबारे आफूले सुनेको बताइन्, ‘पहिले पहिले त यहाँ हड्ताली हाटमा मान्छे आउनै डराउँथे । हटिया लगाउन आउँदा पनि मानिस डराउँथे । हड्ताल हुन्छ भनेर । दिउँसो हाट बजारमा सामान फिजाउँथे । तर, हड्ताल हुने डरले उनीहरु समसाँझै सामान पोका पारेर हिंड्थे ।’
त्यतिखेर काँग्रेसकै नेताहरुले हड्ताल सुरु गरेका थिए । जहाँ कम्युनिष्ट नेता मनमोहन अधिकारी पनि सहभागी थिए । उनै मनमोहनले आफू प्रधानमन्त्री भएपछि मदन भण्डारीको स्मृतिमा त्यही बरको रुपखलाई बीचमा पारेर पक्की चौतारा बनाइदिए । पहिले काठको चौतारा थियो । नयाँ बनाको चौतारा पनि अहिले कुरुप बनेको छ । भत्किन थालेको छ । ‘गाछी गिरिजाबाबुको भयो, चौतारा मनमोहनले बनाउनु भयो । अब कसको नाम राख्ने भनेर चौताराको नामै भएन,’ हाँस्दै सोही ठाउँकी ६१ वर्षीय मन्जु गुरुङले भनिन् ।
जुटमिल्सबाटै सुरु भएको आन्दोलनले देशमा प्रजातन्त्रको बिजारोपण भयो । तर, अहिले जुटमिल बन्द भएपछि यहाँका आधा भन्दा धेरै मजदुर भारत गएर काम गर्न बाध्य छन् । पहिले मजदुरको सेवा सुविधा वृद्धि र सामाजिक सुरक्षाका साथै प्रजातन्त्र ल्याउने भाषण हुन्थ्यो । तर, अजकालका प्रत्येकजसो चुनावमा नेताहरुले त्यही चौतारामा उभिएर भाषण ठोक्छन् । भाषणमा जुटमिल चलाउछु भन्न कसैले छोड्दैनन् । जुटमिल भने चल्ने कुनै गुन्जायस देखिँदैन ।
मजदुर आन्दोलनको इतिहास
विराटनगर निवासी फुलकुमार लालबानी (६३) भीमराज नौलखाका नाती हुन् । भीमराज नौलखा विपी कोइराला, गिरिजाप्रसाद कोइरालाका साथी हुन् । भीमराज नौलखाले आफ्नो आत्मवृत्तान्त ‘कालापानीमाथिको बिजय’ मा विराटनगर जुटमिल्सको आन्दोलनबारे उल्लेख गरेका छन् । ‘मजदुर आन्दोलन सुरु गर्दा सबैभन्दा ठूलो भूमिका बीपीको निर्देशनमा गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, बिकु बाबु, भीमराज नौलखाको योगदान धेरै ठूलो छ । मजदुर आन्दोलनको बेला नोना कोइरालाहरु स्वयम् छाती खोलेर भिडेका थिए । त्यो आन्दोलन नै राणाहरु फाल्ने जग बन्यो,’ फूलकुमार लालवाण्नी भन्छन्, ‘हड्ताली हाट भनेको त्यहाँबाट हट्तालको अभ्यास भयो । आन्दोलनको बिउ त्यहाँबाटै रोपिएको हो । जुटमिलको पूर्वपट्टि एउटा चौतारो छ । बेलाबेलामा त्यहाँ अहिले पनि आमसभा हुने गरेको छ । ७ सालको क्रान्तिको जग बसेको ठाउँ पनि त्यही चौतारो हो ।’
त्यो आन्दोलन सल्किँदै जाँदा राणाहरुको शासन ढल्यो । देशमा प्रजातन्त्रको जग बस्यो । त्यसबेला भीमराज नौलखाहरु पनि गिरिजाप्रसाद कोइराला, मनमोहनसँगै आन्दोलनमा थिए । त्यसबेला राज्यले धरपकड गरेको थियो । गोली चलाएको थियो । कतिपय मजदुरहरुको ज्यान गएको थियो । तर, नोना कोइरालालगायतका महिलाहरुले छाती खोलेर ‘लु गोली हान’ भनेपछि सरकारी फौज पछि हटेको थियो ।

कृष्णप्रसाद कोइरालाको सक्रियतामा वि.सं. १९९२ सालमा (खगेन्द्र नेपालीद्वारा लिखित ‘नेपाल परिचय’ नामक पुस्तकमा १९९३ उल्लेख छ) उद्योग परिषद्को गठनसँगै विराटनगर जुट मिल्सको स्थापना भयो । त्यसबेला प्रधानमन्त्री जुद्ध शमशेर थिए । विराटनगर जुट मिल्स नेपालमा स्थापना भएको प्रथम उद्योग थियो । यो उद्योगको दर्ता नम्बर एक थियो । र, यसले मजदुरमार्फत् राजनीतिलाई मौलाउने अवसर दिएको थियो उद्योगमा २ हजार ४ सय मजदुर र ४ सय कर्मचारी कार्यरत थिए ।
यो उद्योगको स्थापनापछि विराटनगरमा रघुपति जुट मिल्स, मोरङ कटन मिल्स, जुट प्लाण्ट, चिनी कारखाना र केमिकल्स प्लाण्टलगायतका उद्योग स्थापना भइसकेका थिए । विराटनगरको मिल्सएरिया (जो भारतसित सीमा जोडिएको अररिया जिल्लामा पर्छ) को नजिक खुलेका उद्योगबाट राजनीति प्रारम्भ गरिरहेको काँग्रेसको समूहलाई सहयोग भयो ।
मजदुरमार्फत् हुने आन्दोलन प्रभावकारी ठानेर त्यसबेला मजदुर आन्दोलन शुभारम्भ भयो । त्यसबेला गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, तारिणीप्रसाद कोइराला, युवराज अधिकारी र गेहेन्द्रहरि शर्मालगायत जुट मिल्समा काम गर्दथे । उनीहरू टेवलमा बसेर कर्मचारीका रूपमा काम गर्थे । आन्दोलनको अग्रपंक्तिमा जो थिए उनीहरू मिल्स व्यवस्थापनका कर्मचारी थिए । त्यसबेला सबै उद्योगमा गरेर ६ हजार जति मजदुर कार्यरत थिए आन्दोलनको मुद्दा मजदुर सुविधालाई लिएर उठाइएको थियो । सबै उद्योगका मजदुरलाई संगठित गरेर आन्दोलन अघि बढ्ने तरखरमा थियो । मजदुर नेता गिरिजाप्रसाद कोइरालाले भूमिगत रूपमा नेपाल ट्रेड युनियन कांग्रेसको गठन गरिसकेका थिए ।
उचित ज्याला र सुविधाको माग राखेर आन्दोलन सुरू भयो । पहिलो चरणमा मागपत्र लेखेर व्यवस्थापनलाई ज्ञापनपत्रका रूपमा बुझाइयो । माग पूरा नभए सन् १९४७ मार्च ४ (२००३ फागुन २१ गते)का दिनबाट उद्योग बन्द गर्ने अल्टिमेटम व्यवस्थापन पक्षलाई दिइयो अल्टिमेटम दिइएको समयमा माग पूरा भएन । २००३ फागुन २१ गते देखि ऐतिहासिक मजदुर आन्दोलनको शंखघोष भयो ।
‘सूर्योदयसँगै उद्योगका चारै दिशामा रहेका ढोका बन्द गरिए । मूलढोका पनि बन्द भयो । आन्दोलनकारीले आलोपालो गरेर धर्ना दिन थाले । कोणसभा, पिकेटिङ् पनि हुन थाल्यो ।त्यसबेला म पनि सहभागी भएको थिएँ आन्दोलनमा । आन्दोलनमा महिलाहरूको बाक्लो उपस्थिति थियो । दिव्या कोइरालालगायतका महिलाको प्रयासमा मजदुर आन्दोलनमा होमिएका हामीहरू उद्योग परिसर प्रवेशमा सफल भएका थियौँ । हड्तालको तीन÷चार दिनसम्म माग पूरा गराउनेबारे कुनै सुनवाई भएन । सरकारविरुद्ध नारा लागिरह्यो,’ नौलखाको आत्मवृत्तान्त शंकर खरेलद्वारा लिखित पुस्तक नालामाथिको विजयमा उल्लेख छ ।
मनमोहन अधिकारीको आग्रहमा भारतीय बामपन्थी मजदुर नेता रतनलाल दलबलसहित आएर जोगवनीमा बसेका थिए । बीपी कोइरालाहरू त्यसबेलाको मजदुर आन्दोलनमा ‘नेपाली राष्ट्रिय कांग्रेस’ बाट सहभागी भएका थिए । पार्टीको बैठकले आन्दोलनप्रति समर्थन जनायो । आन्दोलनले गति लिइरहेका बेला एक दिन वीपी, गिरिजाबाबु, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, युवराज अधिकारी, गेहेन्द्रहरि शर्मालगायतलाई पक्राउ गरियो । आन्दोलन नियन्त्रणभन्दा बाहिर जान थालेपछि तत्कालीन बडाहाकिमले ४ सय फौज काठमाडौंबाट मगाए । फौजले बन्दुक ताकेर हिर्काउन खोजे पनि आन्दोलनमा होमिएका कसैमा डर थिएन ।
उता, नेताहरू पक्राउ परेपछि आन्दोलनको नेतृत्व दिव्या कोइराला र उहाँकी छोरीहरू नलिनी उपाध्याय, इन्दिरा आचार्य र कामिनी गिरिलगायतले गरे । उनीहरूलाई पनि समातेर धनकुटा पुर¥याइयो । यसको भोलिपल्ट मजदुरको विशाल प्याली निस्कियो र पक्राउ परेका सबैको रिहाईको माग गयो । त्यो जुलुस रिहाईको माग गर्दै बडाहाकिमको कार्यालय विराटनगरतिर आयो । राणाशासनका सुरक्षाकर्मीले जुलुसलाई कुनै चेतावनी नै नदिई गोली बर्साए । आधा दर्जनभन्दा बढी सहिद भएका थिए त्यसबेला । त्यो गोलीकाण्डपछि सारा विराटनगर आन्दोलनमा होमिएको थियो ।
राणाशासन जनताका सामू पहिलो पटक घुँडा टेक्यो । त्यसबेला मजदुरले उठाएका एक÷दुई बाहेक सबै माग पूरा भए । तत्कालै नेपाली राष्ट्रिय कांग्रेसको बैठक जोगवनीमा बस्यो । त्यो बैठकमा सरकार दमन उग्र बनाउन लागेको र नेताहरू सबै पक्राउ परेकोलगायतका विषयमा गम्भीर छलफलपछि पहिलो प्रयासमा ठूलो सफलता हात लागेकाले तत्काल ‘हड्ताल स्थगित गर्ने’ निर्णय भयो ।
आन्दोलनका क्रममा पक्राउ परेका वीपी कोइरालालगायत शीर्षस्थ नेताहरूलाई राणाशासकले रिहा गर्ने संकेत देखाएन । तर धनकुटामा राखिएका दिव्या कोइरालालगायतलाई रिहा गरियो । नेपाली राष्ट्रिय कांग्रेसको बैठक कलकत्तामा बस्यो । कार्यकारी सभापति वीपी कोइराला कारागारमा थुनिएकाले पार्टीका प्रचारमन्त्री डिल्लीरमण रेग्मीलाई सभापतिको काम सुम्पने निर्णय भयो ।
बैठकले वीपी कोइरालालगायत सबै राजबन्दीको रिहाईको माग गर्दै वि.सं. २००३ चैत मसान्तसम्म कारागारमुक्त नगरे २००४ वैशाख १ गतेबाट देशव्यापी सत्याग्रहका लागि तयार रहन राणाशासनलाई अल्टिमेटम दिने निर्णयसमेत गयो । २००४ साल वैशाख १ बाट सत्याग्रह सुरू भयो ।
देशरभरिका कांग्रेसका कार्यालयहरूबाट राणाशासनको विपक्षमा जुलुस प्रदर्शन भए । विराटनगरको बजार क्षेत्रमा दिव्या कोइरालाको नेतृत्वमा जुलुस जनलहर देशव्यापी बन्यो । तीन साता लामो सत्याग्रह अन्ततः निर्णायक मोडमा प्रदर्शन भयो । देशभरि आन्दोलनकारी थुन्ने कारागार, ब्यारेक र हिरासतहरू भरिएका थिए । तैपनि पनि जुलुस र आक्रोश थामिएको थिएन ।
त्यसबेला पद्म शमशेर प्रधानमन्त्री थिए । जुलुस उनलाई घेराउ गर्न काठमाडौतिर लाग्यो । यो सत्याग्रहले मजबुत राणाशासनलाई कमजोर बनायो । अन्ततः श्री ३ महाराज पद्म शमशेरले २००४ वैशाख २४ गते राजीनामा दिनुपयो । यसैको सेरोफेरोमा काठमाडौंमा जयतु संस्कृतम् आन्दोलन सुरु भयो । आन्दोलन दबाउन राणाशासकले काठमाडौंमा व्यापक धरपकड गरेको थियो । आन्दोलनकारी भागेर बनारस पुगेका थिए । यो आन्दोलन २००४ सालमा भएको थियो ।
