![](https://hamromat.com/wp-content/uploads/2024/10/rajan-kd--scaled.jpg)
राजन केडी
उत्पीडित जनताको मुक्ति र स्वतन्त्रताका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादीले नेतृत्व गरेको सफल जनयद्धका क्रममा दर्जनौँ फौजी कारबाहीको अग्रमोर्चामा खटिएकी कमरेड लताको पारिवारिक नाम लक्ष्मी न्यौपाने हो ।
मोरङ, इन्द्रपुरका भरतप्रसाद–शारदादेवी न्यौपानेकी छोरी कमरेड लताको राजनीतिक यात्रा २०५५ सालमा अखिल क्रान्तिकारी सुकुना माध्यमिक विद्यालय कमिटीको अध्यक्षमा छनोट भएसँगै सुरु भएको हो । त्यसयता जनमुक्ति सेनाको राजनीतिक कमिसार, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को प्रदेश नम्बर १ सदस्य, अखिल नेपाल महिला संघ क्रान्तिकारीको प्रदेश १ अध्यक्षसम्म उनको प्रेरणादायी राजनीतिक तथा सांगठनिक यात्रा विस्तारित छ ।
अन्यायविरुद्ध लड्न कमरेड लताले सुरुमा क्रान्तिकारी विद्यार्थी र ग्रामीण महिलाहरूलाई संगठित गरिन् । त्यतिबेला महिलाहरूले पनि क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्छन् भन्ने कुरा समाजले सुनेको चाहिँ थियो, पत्याइसकेको थिएन ।
भनिन्छ नेतृत्व थोरै प्रतिभा, बढी अभ्यासको प्रतिफल हो । कमरेड लतामा सुरुदेखि नै नेतृत्व क्षमता अन्तर्निहित थियो, जसलाई चिनेर नै समुदायले उनलाई नेतृत्वका लागि अवसर प्रदान गरेको थियो । त्यतिबेला उनी कथाको मागअनुसार माओवादीनिकट विद्यार्थी राजनीतिक मोर्चामा सहभागी भएर उल्लेख्य भूमिकाको खोजीमा थिइन् । नभन्दै, लालभित्तीमा एउटा अनपेक्षित, दर्दनाक घटना भयो, जसले उनलाई एकाएक नेता बनाइदियो, जुन नेतृत्व आजसम्म स्थापित भइरहेको छ ।
बेलबारीनजिकै लालभित्तीमा ट्रकले किचेर विद्यार्थीलाई मारेको त्यो घटना सम्झिँदा अहिले पनि उनी भावुक हुन्छिन् । त्यो घटनामा लक्ष्मी गुरागाईंको घटनास्थलमै मृत्यु भएको थियो भने कमल दाहाल, बबितालगायत तीनजना विद्यार्थी घाइते भएका थिए ।
त्यो घटना हुँदा मोरङमा प्रमुख जिल्ला अधिकारी थिए दोखलबहादुर गुरुङ । घटनाबाट पीडितपरिवारलाई न्याय र राहत दिलाउन कमरेड लता दिनरात खटिइन् । उनी वार्ता टोली संयोजक भएर पीडितपरिवारलाई राहत दिलाउन सफल पनि भइन् । त्योसँग समाज र वाम राजनीतिक–वृत्तमा उनी चर्चित भइन् ।जोखमपूर्ण त्यो समयमा बुबा–आमा, बहिनीहरू सङ्गीता र रिताले लताको राजनीतिक यात्रालाई अगाडि बढाउन साथ दिए । फलतः तीन महिनाको छोरो उत्सवलाई बुबा–आमा र बहिनीहरुको जिम्मा छोडेर कमरेड लता क्रान्तिकारी संघर्षमा होमिएकी थिइन् ।
राजनीतिक यात्रा अगाडि बढाउने क्रममा कमरेड लता २०५६ सालमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) इन्द्रपुर गाउँ कमिटीकी अध्यक्ष भइन् । त्यो कमिटीमा दुर्गा, शान्तिला, गोमालगायत थिए । दुई वर्षपछि अर्थात् २०५८ सालमा उनले माओवादी पार्टीको एरिया कमिटीको जिम्मेवारी पाएकी थिइन् । ‘त्यो बेला मैले इन्द्रपुर, हरैँचा, बाहुनी, डाँगीहाट, बेलबारीमा पार्टी–सङ्गठन विस्तार गरेकी थिएँ,’ उनी भन्छिन्, ‘समय निकै चुनौतूर्ण भए पनि साथीहरुको सहयोगमा अविस्मरणीय काम गरेकी थिएँ ।’
लताले २०६० सालमा मजदुर क्षेत्रमा पार्टी विस्तार गर्ने जिम्मा पाएपछि विराटनगर, लखन्तरीमा पार्टीको काम गरिन् । त्यतिबेला महेन्द्र मोरङ क्याम्पसको छात्रावासलाई सेल्टर बनाइ पार्टीको काम गरेको उनी बताउँछिन् ।
सोही साल भदौमा पार्टीकै पूर्णकालीन नेता चिरञ्जीवी रिजाल (कमरेड नवीन)सँग उनको जनवादी विवाह भयो । कमरेड नवीन त्यतिबेला पार्टी कार्यालय सचिव थिए । रिजाल अहिले पनि पार्टीमा सक्रिय छन् । लताको राजनीतिक सफलताका पछि कमरेड नवीनको साथ पनि उल्लेख्य छ ।
२०६२ सालमा पार्टीको जिल्ला कमिटी सदस्य भएपछि पार्टी विस्तारलाई सुनसरी जिल्लासम्म पुर्याउन कमरेड लताको विशेष भूमिका रह्यो । मोरङ–सुनसरी हेर्ने संयुक्त जिल्ला कमिटी हुँदा उनले अनेम संघ (क्रान्तिकारी)को नेता भई भरौल, चतरा, एकम्बा, खनार, इटहरीमा सांगठनिक काम गरेकी छन् ।
पार्टी र महिला संगठनमात्र होइन, लता जनमुक्ति सेनामा पनि सक्रिय रहिन् । उनी जनमुक्ति सेनाको ‘रत्न–सकुन्तस्मृति विग्रेड’ अन्तर्गत कम्पनीको राजनीतिक कमिसारसमेत भइन् । त्यो कम्पनीका कमान्डर थिए–मोरङकै सूर्य खड्का ।
फागुन १ गते जनयुद्ध दिवस मनाउँदै गर्दा लतालाई २०६२ वैशाख २६ गते जनमुक्ति सेनाद्वारा सिरहाको बन्दीपुरमा रहेको सैनिक ब्यारेक, मिर्चैयाको सशस्त्र ब्यारेकमा आक्रमणको स्मरण हुन्छ । त्यतिबेला उनको भूमिका राज्यपक्षको सुरक्षा फौजलाई पूर्वबाट त्यता जान रोक्नुथियो । योसँगै उनीसँग दर्जनौँ फौजी मोर्चाका अनुभव छन् । जनयुद्धकै पृष्ठभूमिमा भएको २०६२–०६३ को जनआन्दोलनमा समेत उनी सक्रिय सहभागी भइन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मोरङ जिल्ला कमिटीको नेतृत्व, संघकै केन्द्रीय सचिवालय सदस्य हुँदै गत जेठ १७ गतेदेखि उनले संघको १ नम्बर प्रदेश अध्यक्षको जिम्मेवारी पाएकी छन् ।स्कुल कमिटीको नेतृत्व गर्दै अघि बढेकी लताको सक्रिय राजनीतिक यात्राले २५ वर्ष पूरा गरिसकेको छ । यो अवधिमा उनका छोरा उत्सव रिजाल १७ वर्ष पुगिसकेका छन् । उत्सव पनि पार्टीको वडा सदस्य र विद्यार्थी नेता भइसकेका छन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को प्रदेश १ अध्यक्षको जिम्मेवारी पाएदेखि महिला आन्दोलनलाई उचाइमा पुर्याउने योजनासाथ लागिपरेकी छन् कमरेड लता । उनी प्रदेशका १४ वटै जिल्ला पुगेर सांगठानिक काममा अविरल सक्रिय छन् । महिला आन्दोलनमार्फत सामाजिक न्यायसहितको समाजवादी अभियान चलाइरहने उनको चाहना छ ।लताको दुई दशक लामो राजनीतिक यात्रा हेर्दा अवससर पाए जुनसुकै मोर्चामा पनि महिलाले अब्बल क्षमता प्रदर्शन गर्न सक्छन् भन्ने प्रमाणित भएको छ ।