विराट गोल्डकपलाई पर्वको रूपमा मनाउनुपर्छ : नविन रिजाल

विराट गोल्डकप आयोजनाको जिम्मा पुनः निजी क्षेत्रलाई दिइएको छ । पछिल्लो दुई वर्ष लगातार गोल्डकप घाटामा गएपछि यस पटक विराट गोल्डकप ट्रष्टले आयोजनाको जिम्मा विराटनगरका उद्योगी तथा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका निर्वतमान अध्यक्ष नवीन रिजाललाई दिएको छ । ५औं संस्करण पनि रिजालले नै गरेका थिए । गोल्डकपको ७ र ८औं संस्करणले लगातार घाटा व्यहोरेको थियो । ट्रष्टको बैठकले ९औं संस्करण आयोजनाको जिम्मा पुनः निजी क्षेत्रलाई दिएको हो । २०७४÷०७५ सालमा पनि ट्रष्टले उद्योगी रिजाललाई जिम्मा दिएको थियो । रिजालले मोफसलमा पहिलो पटक रात्रीकालीन फुटबल प्रतियोगिता आयोजना गरेका थिए । काठमाडौंपछि पहिलो पटक विराटनगरमै रात्रीकालीन फुटबल भएको थियो । उनले सहिद मैदानमा अस्थायी फ्लडलाइट्स बनाएर विराटनगरवासीलाई पहिलो पटक रात्रीकालीन फुटबल खेलको महसुस दिलाए । उनको संयोजकत्वमा रात्रिकालीन फुटबल भएपछि सहिद मैदानमा प्रदेश सरकार र विराटनगर महानगरको सहयोगमा स्थायी फ्लडलाइट्स राखियो । रिजालले सो संस्करणमा ट्रष्टलाई ५ लाख ८८ हजार रुपैयाँको बचत गराएका थिए । ९औं संस्करणको जिम्मेवारी पाएसँगै अहिले गोल्डकपको तयारी तीव्र पारिएको छ । फागुन १९ गतेबाट २८ गतेसम्म हुने विराट गोल्डकप प्रतियोगिताको तयारीको विषयमा केन्द्रित रहेर संयोजक रिजालसँग हाम्रोमतले गरेको कुराकानी

विराट गोल्डकप ट्रष्टले ९ औं संस्करणको गोल्डकप गर्न तपाईंलाई जिम्मेवारी दिएको प्रतियोगिताको तयारी कहाँ पुग्यो ?

– कुनैबेला दर्शकको रुपमा आकर्षित भई मैले हेर्ने गरेको यस टुर्नामेन्ट, अहिले आयोजक समितिको अध्यक्षको रूपमा दोस्रो पटक नेतृत्वदायी भूमिका निभाउँछु भन्ने कल्पनासम्म गरेको थिइन । यस कारण आज मलाई गौरवको अनुभव हुनुको साथै जिम्मेवारी बोध भएको छ । २०१८ सालदेखि विराटनगरमा भइरहेको यस ऐतिहासिक गोल्डकप २०३५ सालपछि निरन्तर रुपमा दर्शक भएर हेर्ने गरेको थिएँ । फुटबल खेलप्रति मेरो अत्यन्तै मोह भएर होला २०७४ मा पहिलो पटक विराट गोल्डकपको आयोजना गर्ने अवसर पाउँदा आफूलाई गौरवान्वित महशुस भयो र दर्शकलाई केही नौलो प्रस्तुतिका साथ मनोरन्जन दिने प्रयत्न गरें । बाँसको टावर जडान गरी नेपाल मै पहिलोपल्ट रात्रीकालीन फुटबल आयोजन गरीयो । जसलाई दर्शकहरुले धैरै भव्य सफल बनाइदिनु भयो । त्यसको ७ वर्षपछि फेरि केही नौलो प्रस्तुति गर्ने वाचाका साथ आउने दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाउने विभिन्न प्रकारको सांगीतिक कार्यक्रमको तयारी गरिदैछ । पहिलेभन्दा दोब्बर मनोरन्जन गराउने तर्फ मेरो ध्यान छ र त्यसै अनुसार प्रतियोगिता गराउने जिम्मेवारी लिएको छु ।

पाँचौं संस्करणमा एउटा इतिहास कोर्न सफल भएका थियौं । त्यसैले पनि होला ट्रष्टले यस पटक पुनः मलाई जिम्मेवारीले दिएको छ । प्रतियोगितालाई भव्य र सभ्य बनाउनका लागि हाम्रो टिमले मोरङ उद्योग व्यापार संघमै सचिवालय राखेर काम गर्दै आएको छ । अहिले प्रतियोगिता सफलता बनाउनको लागि स्पोन्सर खोजी गर्ने काम भइरहेको छ ।

यस गोल्डकपमा विगतको भन्दा के फरक गर्नुहुन्छ ?

–यस पटक केही नयाँ र फरक शैलीमा गोल्डकप गर्ने तयारी गरेको छु । त्यसका लागि अहिलेदेखि नै तयारीमा लागिपरेका छौं । टुर्नामेन्टबाट पूर्णतः मनोरञ्जन प्रदान गर्न खेल मैदान र वरपरको भाग आकर्षक बनाउने प्रयास गरेका छौं । प्रतियोगितामा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट टिमलाई समावेश गरी खेललाई धेरैभन्दा धेरै आकर्षक बनाउने लक्ष्य लिएका छौं । दिवा रात्रीकालीन फुटबल खेलको आयोजना गर्नुको उद्देश्य दर्शकहरुको कार्य व्यस्तताका कारणले खेल हेर्न नपाउने मागलाई सम्बोधन गर्नु पनि हो । अधिकांश दर्शकहरुको फुर्सद साँझमा हुने भएकोले हामीले खेलको समय तालिका सोही अनुरुप गर्ने जमर्को गरेका छौं । यो विराट गोल्डकप केवल फुटबल खेल मात्र नभएर हाम्रो पर्व पनि हो र यसलाई विराटनगरवासीहरुले अत्यधिक महत्व दिएका छन् । “विराटनगरको साथ फुटबलको विकास”, भन्ने नाराका साथ विराटनगरकै गौरव यस टुर्नामेन्टलाई सफलतापूर्वक सञ्चालन गर्न मैले पाएको जिम्मेवारी आफ्नो सम्पूर्ण क्षमतालाई प्रयोग गर्दै इमानदारिताका साथ लागिपर्नेछु । रंङ्गशालासम्म दर्शक ल्याउनको लागि हामीले यस पटक सांगीतिक कार्यक्रमहरु पनि राखेका छौं । एक घण्टा राष्ट्रिय स्तरका कलाकारहरु ल्याएर सांगीतिक कार्यक्रम राख्ने र त्यसपछि खेल सुरु गर्ने तयारी गरिएको छ । साँझ ५ बजेदेखि ६ बजेसम्म राष्ट्रिय स्तरका कलाकारहरु ल्याएर सांगीतिक प्रस्तुति गराउने र त्यसपछि साढे ६ बजेदेखि फुटबल खेल सुरु गर्ने योजना रहेको छ । त्यसैगरी हामीले ‘फेस अफ द विराट गोल्डकप’ र मिस गोल्डकप भनेर खेल हेर्न आउने दर्शकहरुबाट यो अवार्ड वितरण गर्ने भएका छौं । त्यसैगरी ‘फेस अफ द विराट गोल्डकप फेमिली भनेर पनि हामी अवार्ड दिने तयारी गरेका छौं । यसरी दैनिक ३÷४ जना दर्शकहरुबाट छनौट गरेर अवार्ड दिने गरिन्छ । अवार्ड पाउने दर्शकहरुलाई भिआइपी कक्षमा ल्याएर सम्मान दिइनेछ । जसले गर्दा खेलप्रतिको दर्शकको आकर्षण बढ्ने र गोल्डकप हेर्न आउने दर्शकहरुलाई भरपुर मनोञ्जन दिने योजनामा हामी अघि बढेका छौं । मोरङ व्यापार संघले गरेको यो प्रयासलाई दर्शकहरुले पनि साथ दिनेछन् भन्ने हामीले अपेक्षा गरेका छौं ।

कुन–कुन टिम सहभागी हुन्छन् ?

– प्रतियोगितामा विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागीता रहनेछ । बलियो टिम आउनका लागि हामीले ठूलो लगानी गरेर त्यसै अनुसार खर्च पनि गरेका छौं । यस पटकको गोल्डकपमा ए डिभिजनका एनआरटी, थ्रि स्टार, मचिन्द्र क्बल, चर्च ब्वाइज, विभागीय टिम नेपाल पुलिस, एसपिएफ, त्रिभूवन आर्मी, आयोजक रिजालको मोरङ ११ टिम रहेको छ । रिजालको मोरङ ११ टिममा राष्ट्रिय स्तरका खेलाडीहरु रहनेछन् । जसले गर्दा फाइनलसम्म पुग्ने टिम बनाउने योजना रहेको छ । त्यसैअनुसार अहिले अगाडि बढिएको छ । त्यसबाहेक भारतको दुई वटा टिम रहेको छ । केही दिनभित्रमा टाइसिट पनि तयार हुने छ । त्यसपछि पत्रकार सम्मेलन गरेर सबै विवरण सार्वजानिक गर्नेछौं ।

आठौं संस्करणमा पुरस्कार राशि घटाइएको थियो, यस पटक के हुन्छ ?

–आठौं संस्करणमा भएको प्रतियोगितामा भन्दा यस पटक गोल्डकपको पुरस्कार राशि बढ्नेछ । यस पटक विजेतालाई ११ लाख र उपविजेतालाई ५ लाख रुपैयाँ दिने तयारी गरिएको छ । गोल्डकप ट्रष्टले गत वर्षको सातौं संस्करणको भन्दा पुरस्कार राशी झण्डै आधा घटाएको थियो । सातौं संस्करणमा बिजेतालाई नगद २० लाख १५ हजार र उपविजेतालाई १० लाख १५ हजार रुपैयाँ दिइएको थियो । गत वर्ष आठौं संस्करणमा विजेतालाई ९ लाख १५ हजार र उपविजेतालाई पाँच लाख ३५ हजार रुपैयाँ पुरस्कार राशी घटाएर राखिएको थियो । यस पटक बढ्नेछ । त्यसैगरी उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई नगद पुरस्कार प्रदान गरिनेछ । यसैगरी दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार रहनेछ ।

विराटनगरको ऐतिहासिक गोल्डकप ट्रष्ट आफैंले गर्न सकिरहेको छैन । प्रतियोगिता गर्न निजी क्षेत्रलाई अगाडि सार्नुपर्ने अवस्था छ । ट्रष्ट आफंैलाई सबल बनाएर गोल्डकप गर्नसक्ने वातावरण कहिले बन्छ ?

– २०१८ सालबाट महेन्द्र गोल्डकपको नामबाट हुँदै आएको गोल्डकप २०६८ सालबाट भने नाम रुपान्तरण हुँदै ‘विराट गोल्डकप’ भएको छ । देशमा भएको राजनैतिक परिवर्तनसँगै प्रतियोगिताको नाम पनि परिवर्तन भयो । सोही क्रममा पहिलो र दोस्रो संस्करणमा तत्कालीन ट्रष्टका अध्यक्ष भीमबहादुर कुवँरले आयोजना गरेको गोल्डकप घाटामा गएपछि ट्रष्टले २०७१ सालबाट निजी क्षेत्रलाई गोल्डकप आयोजना गर्ने जिम्मेवारी दिन थालेको हो । विराटनगरको ऐतिहासिक विराट गोल्डकपलाई पर्वको रुपमा मनाउँ । सधैं निजी क्षेत्रले होइन ट्रष्टले नै चलाउन सक्ने बनाउनुपर्छ । त्यसका लागि सबैको साथ सहयोगको खाँचो रहेको छ । पाँचौ संस्करण सफलतापूर्वक सम्पन्न गरेपछि ट्रष्टमा एउटा जिम्मेवार व्यक्ति आएर आफंैले गोल्डकप गरोस् भन्ने थियो । तर, हुन सकेन । विराटनगरमा यस्तो प्रकारको खेलहरु हुनपर्दछ । यसमा सबैको साथ र सहयोग भयो भने ट्रष्ट आफैंले गर्न सक्छ ।

दर्शकहरुलाई के भन्न चाहनुहुन्छ ?

–यस पटकको विराट गोल्डकप फरक तरिकाले गराउन खोजिएको छ । हामीले सम्पूर्ण विराटनगरवासी र अन्य छिमेकी जिल्लाहरुबाट पनि दर्शकलाई विराटनगर रंगशालासम्म ल्याउने प्रत्यन गरेका छौं । विराटनगरको ऐतिहासिक विराट गोल्डकप हेरेर सहयोग पु¥याइदिनुहुन म सम्पूर्ण खेलप्रेमी दर्शकहरुलाई हार्दिक अनुरोध पनि गर्दछु । हामीले सबैलाई खेल हेराउन लागिपरेका छौं । प्रतियोगितामा जम्मा ९ खेल हुनेछन् । हामीले हरेक खेल फाइनल जस्तो बनाउने प्रयास गरेका छौं । त्यसका लागि राम्रो टिम ल्याउनेछौं । प्रतियोगिताभर खेल हर्नका लागि हामीले सिजनल टिकटको व्यवस्था गरेका छौं । जसले गर्दा सस्तोमा धेरै खेल हेर्न पाउनेछन् । दैनिक टिकट काटेर खेल हेर्दा ३२ सयदेखि ३४ सय रुपैयाँसम्म लाग्ने गर्दछ । तर, दर्शकले सिजनल टिकट २ हजार रुपैयाँ प्राइज राखिएको छ । ९ खेल सिजन टिकट लिएपछि सबै खेल भिआइपी प्याराफिटमा बसेर हेर्न पाइन्छ । सबै दर्शकहरु विराट गोल्डकप हेर्न आएर प्रतियोगिता सफल बनाइदिनुहुन म सम्पूर्णमा आग्रह गर्दछु ।

बुधबार, ३० माघ, २०८१, बिहानको ०९:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर