डेढ किलो चाँदी बरामद

विराटनगर । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङको धनपालथान गाउँपालिका–२ बाट गोसाई पोखरीनजिकबाट प्रहरीले बुधबार डेढ किलोभन्दा बढी चाँदी बरामद गरेको छ ।

सीमा क्षेत्रको दशगजाबाट प्रहरीले चाँदीका गरगहना र मूर्ति बिहान ११ः१५ बजेतिर बरामद गरेको हो । भारतबाट अवैध चाँदी नेपालतर्फ आइरहेको सूचना प्रहरीले पाएको थियो ।

प्रहरी चौकी अमाहीवरियातीबाट खटिएको टोलीलाई देख्नसाथ चाँदीका गहना र मूर्ति राखिएको कपडाको पोको फालेर महिला फरार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार पोको फालेर महिला भारततिर नै भागेकी हुन् ।

पोको खोलेर हेर्दा १ किलो ६ सय ग्राम बराबरको चाँदीका गहना र मूर्ति भेटिएको प्रहरीको भनाइ छ । बरामद भएको गहना र मूर्ति २ लाख ६० हजार मूल्य बराबरको रहेको डीएसपी जोशीले बताए ।

गहना र मूर्ति भारतमै बनाएर ल्याइएको प्रहरीले जनाएको छ । यस विषयमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

बुधबार, ०९ माघ, २०८१, साँझको ०६:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर