विराटनगर । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले अत्यावश्यक बेला अध्यादेश ल्याउन पाउने संवैधानिक प्रावधानको दुरुपयोग गरेको बताएका छ न् ।
बुधबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले संसद नचलेको बेला र देशै नचल्ने अवस्थामा मात्रै अध्यादेश ल्याउनुपर्ने बताए ।
‘अध्यादेश के हो भने संविधानमा जुन प्रावधान छ, त्यो एकदम देशै नचल्ने अवस्थामा मात्रै अध्यादेश ल्याउनु पर्ने हो’, उनले भने, ‘संघीय संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको बलियो सरकार रहेका बेलामा समेत अध्यादेश ल्याइनु गलत हो ।’
कांग्रेस र एमालेको भारी बहुमत संसदमा रहेकोले त्यो बाटोबाट ऐन बनाउनुपर्नेमा अध्यादेशको शासन निरंकुशताको वान स्टेप भएको कोइरालाको टिप्पणी छ । ‘अब त १८ गते संसद बोलाइसकियो । तर, अध्यायदेशबाट देश चलाउनु निरंकुशताको वान स्टेप हो भन्ने चिन्ता लाग्छ । त्यो गर्नुहुन्न ।’ कोइरालाले अध्यादेशको विषयवस्तुभन्दा पनि प्रक्रियाले अर्थ राख्ने बताए ।
‘अहिले अध्यादेश ल्याउनुभयो, यसभित्रको कन्टेन्टहरु खराब त छैन’ उनले भने, ‘धेरै अध्यादेशहरु ठीकै छ । राम्रै छ भन्छु । तर, संसद बोलाएर गर्नुपर्थ्यो ।’ सरकारले पुस १४ गते ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ ल्याएको थियो । २९ पुसमा चारवटा अध्यादेशमार्फत तीन दर्जन बढि कानुन संशोधन गरेको थियो ।
गम्भीर प्रकृतिका कानुनहरू अध्यादेशमार्फत् संशोधन गर्ने सरकारको काम लोकतान्त्रिक हुन नसक्ने भनेर विपक्षी दलहरूले समेत आलोचना गर्दै आएका छन् । सत्तारुढ दल कांग्रेसकै नेता कोइरालाले पनि अध्यादेश ल्याउनले संवैधानिक प्रावधानको सरकारले दुरुपयोग गरेको टिप्पणी गरेका हुन् ।
डा.कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेले चाहेर मात्रै संविधान संशोधन गर्न नुहने बताउँदै सबैलाई समेटेरमात्रै संशोधन गर्न सकिने बताए । संविधान संशोधनको लागि माओवादी, मधेशवादी दलहरू, राप्रपा, रास्वपा र अन्य सबैसँग सहमति गरेर अघि जानुपर्ने उनको भनाइ छ ।
संविधान सबैलाई पाच्य हुनुपर्ने बताउँदै कोइरालाले दुईतिहाइ पुर्याएर संशोधन गर्दिन्छौं भन्नु गलत हुने बताए । अहिले कांग्रेस–एमालेबीच अलिअलि छलफल मात्रै भएको भन्दै उनले यो सबैको माझमा जानुपर्ने, त्यतिकै नहुने बताए ।
सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन गरिरहेको प्रयास गलत भएको भन्दै कोइरालाले प्रधानमन्त्रीले संसदम बोलेको कुरा नै ठिक नभएको बताए । पैसा पनि उठाउने र विद्युत जोड्ने सरकारको गलत निर्देशनको कारण अहिलेसम्म विद्युत महशुल नउठेको भन्दै उनले महशुल उठाउनुपर्नेमा जोड दिए । महशुल उठाउने प्रयास गरिरहेका घिसिङलाई सरकारले खेद्नु गलत भएको उनको भनाइ छ ।