गोकुल पराजुली
बुढीगंगा गाउँपालिकामा बाँदरबाट किसानलाई बाली जोगाउन मुस्किल भन्ने समाचार यसैसाता हेर्न पाइयो । वन जंगल नभएको ठाउँमा बाँदर आतंक भनेपछि ध्यान नजाने कुरै भएन । स्थानीय बाँसको झ्याङलाई आश्रयस्थल बनाएर बाँसदहरुको हुल केही समयदेखि त्यतै बसेर उपद्रव मच्चाउँदै आएको रहेछ ।
अहिले पहाडदेखि तराईसम्मको सबै क्षेत्रमा बाँदरले उपद्रव मच्चाइरहेको छ । पहाडमा बाँदरकै कारण बसाइँ सरेर हिड्नु पर्ने बाध्यता बनिसकेको छ । बाँदरले बसिखान नदिनुका कारण धेरै होलान् । खेती गर्ने क्षेत्र खुम्चिँदै जाने, वन क्षेत्र बढ्दै जाने, वनमा बाँदरलाई चाहिने फलफुल तथा अन्य प्रजातिका बोटविरुवा मासिदै जाने आदि कारणले बनमा बाँदरको संख्या बढेको भन्ने सबैलाई थाहा नै छ ।
हामी मानिसहरु बाँदरलाई हाम्रो पुर्खाको रुपमा नै लिन्छौं । हाम्रो आनिबानी बाँदरको भन्दा खासै भिन्न पनि छैन । खाने, हिड्ने, हात चलाउने खुट्टा चलाउने सबै बानी उस्तै भएपनि बुद्धिका कारण हामी मानिस कहलाएका हौं । यथार्थमा हामी मानिस पुच्छर नभएको बाँदरै हौं । आफूले आफैंलाई बौद्धिक कहलाएर मात्र हामी बाँदर नकहलिएका हौं । अर्को कुरा हामीलाई बाँदर भनिदिने अर्को जन्तु यस धर्तीमा नभएर हामी मानिस भएका हौं नत्र ….।
के हाम्रो आनीबानी बाँदरकै जस्तो छ त ? सोचौं त ! हामी बाँदर भन्दा के कुरामा कम छौ ? उपद्रव मच्चाउने कुरामा हामीलाई बाँदरले भेटाउला ? बिचरा बाँदरले के भेटाउँथ्यो । बाँदरले आफू बाँच्न अर्को समुदायलाई विस्थापित ग¥यो । अरुले लगाएको बाली आफूले थोरबहुत खाइदियो । कतैकतै मानिसले जोहो गरेर राखेको सामान बिगारिदियो । उसको बदमासी त्यत्ति त हो । तर हामी मानिसले यतिमात्र चकचक गरेका छौं ? हामी त बाँदरभन्दा चारखण्ड उपद्रयाइँ गर्ने जातका हौं । हामीले हाम्रै समुदायलाई आतंकित पारेर विस्थापित गरेका कति घटनाहरु छन् ? मिटर ब्याज हामी हाम्रै समुदायबाट असुल्छौं र उसलाई बसाइँ सर्न मात्र होइन परलोकधाम पठाउने काम हामी मानिसबाटै भइरहेका छन् । जथाभावी रुख काटेर बाढी पहिरोको चपेटामा बस्तीहरु बगाउने, बस्नै नहुने बनाउने काम पनि हामीले नै गरिरहेका छौं । जथाभावी खोला खनेर पैसा कमाउने धन्दामा लाग्दा प्रकृतिको विनास भई त्यसले हामी मानिसको थातथलो बगर बनाइदिने काम पनि हामी पुच्छर नभएका बाँदरहरुबाटै भइरहेका छन् ।
प्रकृतिले दिएको वनलाई मासेर हामीले घर बनायौं, वनबाट रुख चोर्दै बेच्दै गरेर बनका बाँदरलाई बस्तीसम्म निमन्त्रणा हामीले नै गरेको होइन ? वनमा फल्ने तुलफुल हामीले नै खाने अनि बाँदर घरबस्तीमा आए भनेर हामी नै पीर गर्ने ।
यस बाहेक हाम्रा अनेक उपद्रवहरु छन् । खोला सुकाएर बिजुली निकाल्ने हामी नै हौं । खोलामा पानी नभए पछि पानी भएको बस्तीमा बाँदर मात्र होइन अरु जनावर आउनै प¥यो । खानेकुरा नभएपछि खानका लागि खेतीबालीमा पस्नै प¥यो । त्यसैले पुच्छर नभएको बाँदरले पुच्छर भएको बाँदरलाई अब विरोध गर्ने होइन । उनीहरुसँग द्वन्द्व गर्ने पनि होइन । बाँदरसँग हामी पुच्छर नभएका बाँदरहरुले नसक्ने रहेछौं । नत्र उनीहरुले हामीलाई पहाडबाट लखेट्दै मधेस झार्ने थिएनन् । मधेश झरेर पनि साध्य नलाग्ने रहेछ । चारैतिर बस्ती भएको बुढीगंगासम्मै आएर बाँदरले आतंक मच्चाउन थालेपछि पुच्छर नभएका बाँदरहरुको केही सिप लाग्ने कुरा पनि छैन ।
बाँदर मारेर समाधान खोजन विश्व कानुनले दिँदैन । हाम्रो त झन् हनुमानको अवतार उसलाई पुज्ने हो मार्ने होइन । त्यसैले अब हामी पनि हाम्रो बाँदर प्रवृत्ति छोडौं, प्रकृति तर्फ फर्कौं, बाँदरको उपद्रव पनि विस्तारै फर्किनेछ ।