समन्वय अभाबले काममा ढिलाई

 सम्पादकीय

थाइल्यान्डको बैंककबाट सुरु भई म्यानमार, बंगलादेश, भारत हुँदै नेपालको पूर्वपश्चिम राजमार्ग भएर नयाँ दिल्ली र पाकिस्तानको कराँचीसम्म पुग्ने एसियन हाइबेको काम अहिले भइरहेको छ । साविकको पूर्वपश्चिम राजमार्गलाई एसियन हाइबेको रुपमा स्तरोन्नती गर्ने काम एसियाली विकास बैंकको सहयोगमा भइरहेको छ । पूर्वमा भारततर्फ पश्चिम बंगाल हुँदै नेपालको काँकडभिट्टासम्म जोडिइसकेको सडकको सुनसरी लौकहीसम्म ठेक्का लागेर काम भइहरेको छ । एसियाली राष्ट्रबीच व्यापार प्रवद्र्धन, आयात–निर्यात बढाउन र पर्यटक चलायमान गराउने उद्देश्यसहित सडक निर्माण अघि बढाइएकोमा काम भने सुस्त रहेको छ । एसियन हाइवे विस्तार परियोजना नेपालका लागि क्षेत्रीय व्यापार, यातायात र पर्यटन प्रवद्र्धनको ऐतिहासिक अवसर हो । तर, यो महत्वपूर्ण परियोजनाको काम विद्युत पोल स्थानान्तरणजस्ता पूर्वाधार चुनौतीहरूका कारण सुस्त छ । काँकडभिट्टादेखि सुनसरीसम्मको ९६.७६ किलोमिटर सडक निर्माणको लक्ष्यसहित ३४ अर्ब ९० करोड रुपैयाँको लागतमा सुरु भएको यस परियोजनाले सहरी र ग्रामीण क्षेत्रलाई सुदृढ यातायात प्रणालीमार्फत जोड्नेछ ।

पछिल्लो समयमा विद्युत पोलको अवरोध र समन्वयको अभाव परियोजनाको प्रगति सुस्त बनाउने मुख्य कारण बनेको छ । नेपाल विद्युत प्राधिकरण र निर्माण कम्पनीबीचको तालमेल अभावले पोल स्थानान्तरणमा ढिलाइ भएको छ । यसले सहरी क्षेत्रमा सडक कालोपत्रे गर्ने कार्यमा अवरोध खडा गरेको छ । निर्माण कम्पनीका अनुसार, सहरी क्षेत्रमा पोल सार्न सके, ठेक्का लिएको क्षेत्रको काम छिटो सम्पन्न गर्न सकिनेछ । तर, सहरी क्षेत्रमा पोल सार्ने क्रममा स्थानीय सरकार, स्थानीयवासी, र प्राधिकरणबीच आवश्यक समन्वयको कमीले समस्या उत्पन्न गरेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार, पोल स्थानान्तरणको ढिलाइमा प्राधिकरण मात्र जिम्मेवार छैन । नालाको फाउन्डेसन र संरचना निर्माण नहुँदा पोल स्थानान्तरणमा कठिनाइ भएको दाबी गरिएको छ । तर, प्राधिकरणले रिलोकेसन र अपग्रेडको काम गर्न महंगो पोल राख्दै थप समय खर्च गरेको छ । एसियन हाइवे नेपालका लागि मात्र होइन, सम्पूर्ण दक्षिण एसियाका लागि आर्थिक तथा भौतिक कनेक्टिभिटीको मेरुदण्ड हो । यसले बंगलादेश, भारत, र पाकिस्तान हुँदै थाइल्यान्डसम्मको क्षेत्रीय व्यापारलाई सहज बनाउने विश्वास गरिएको छ ।
१०० किलोमिटर प्रतिघण्टा गतिको लागि डिजाइन गरिएको यो सडक बजार क्षेत्रमा ६ लेन र जंगल क्षेत्रमा ४ लेनको हुनेछ । ठूला पुल, कल्भर्ट, र ओभरपासजस्ता संरचनाले यसलाई आधुनिक बनाउनेछ । यो सडकले पूर्वपश्चिम राजमार्गमा यात्रा सहज बनाउँदै अन्तर्राष्ट्रिय व्यापार र पर्यटनमा उल्लेखनीय योगदान पु¥याउनेछ । यो आयोजनाको कामलाई गति दिन विद्युत प्राधिकरण, स्थानीय सरकार, आयोजना कार्यालय र निर्माण कम्पनीबीच स्पष्ट संवाद र सहकार्य आवश्यक छ । पोल स्थानान्तरण र नालाको निर्माण एकसाथ अघि बढाउन कार्य योजना तयार गर्नुपर्छ । स्थानीयवासी र सरोकारवालाहरूको सन्तुष्टिका लागि समुदायलाई समावेश गरी समस्या समाधान गरिनुपर्छ । निर्माण कार्यलाई समयमै सम्पन्न गर्न ढिलासुस्ती र व्यवस्थापकीय कमजोरीलाई सम्बोधन गर्नुपर्छ । विद्युत पोल स्थानान्तरणजस्ता समस्या तत्काल समाधान गर्न सके, यो परियोजना समयमै सम्पन्न हुने सम्भावना बलियो हुनेछ । सरकारले यसलाई आफ्नो प्राथमिकतामा राख्दै विकास र समृद्धिको मार्ग प्रशस्त गर्नुपर्छ ।

सोमबार, ०७ माघ, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर