विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापामाथि गृहजिल्ला झापामा आक्रमण भएको छ ।
नेपाली काँग्रेस कोशी प्रदेश समितिका सभापतिसमेत रहेका थापामाथि झापाको कनकाईस्थित जामुनबारी चोकमा शनिबार साँझ आक्रमण भएको हो ।
आक्रमणमा संलग्न विद्युत प्राधिकरणका चालकसहित दुई जनालाई प्रहरीेले नियन्त्रणमा लिएको छ । भीआईपी सवार गाडीलाई साइड नदिएको र भीआईपी भनेर चिनेपछि आक्रमण गरेको काँग्रेसले बताएको छ ।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
बा १ झ ६५३ नम्बरको गाडीमा आउँदै गरेका थापामाथि बा १ झ १८७० मा सवार एक समूहले कुटपिट गरेको बताइएको छ । कुटपिटबाट थापा घाइते भएका छन् । उनको आँखा सुन्निएको बताइएको छ । थापा बिर्तासिटी अस्पतालमा सामान्य उपचार पछि घर फर्किएको झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले बताए ।
विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको बताइएको छ। सोही विवादका क्रममा ती चालकले थापामाथि हातपात गरेका हुन ।
थापाकै गाडीमा रहेका काङ्ग्रेस झापाका सचिब कृष्ण हुमागाईका अनुसार पूर्व मुख्यमन्त्रीको गाडी हो साइड दिनुस् भनेर पिएसओले गाडी रोकेरै भनेपछि ती चालक देश लुट्ने यिनै हुन्, नेता जति सबै चोर हुन् भन्दै आक्रोशित भएका थिए । `त्यसपछि प्राधिकरणको चालक आएर एक्कासि आँखामा मुक्का प्रहार गर्यो। भल्भली रगत आउन थाल्यो’ उनले भने ।
थापाले नागरिकको ज्यानको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् । यो घटनाले जिल्लाको शान्ति सुरक्षा कस्तो रहेछ भनेर छर्लङ्ग भएको उनको भनाइ छ । थापा नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कने क्रममा आक्रमणमा परेका हुन् ।