नो ह्याङ दयाहाङ !

  तेजन खड्का

दयाहाङ राई, नेपाली फिल्म उद्योगका एक प्रमुख अभिनेता, जसले आफ्नो अभिनयकला र प्रस्तुतिको गहिराइबाट नेपाली सिनेमा प्रेमीहरूको मन जितेका छन् । आलोचकहरूले बारम्बार उनीमाथि एउटै शैली र लवजमा सीमित रहेको आरोप लगाउँछन्, तर यी आरोप केवल सतही छन् । दयाहाङको अभिनयले पात्रहरूलाई केवल संवाद र शारीरिक हाउभाउको माध्यमबाट होइन, तिनको भावनात्मक र सांस्कृतिक यात्रा समेट्दै जीवन्त बनाउँछ । उनी पात्रको हाँसो, आँसु, र सपना बन्न सक्छन्—र यही विशेषता नै उनलाई अरू कलाकारभन्दा अलग राख्छ ।

हुन त उनी राई हुन्, तर राई, लिम्बू, तामाङ, गुरुङ सबै कल्चरमा मन छुने जिवन्त अभिनय गर्या छन् । नेपाली फिल्म र दयाहाङ पर्यावाची भएको छ ।दयाहाङले आफ्नो अभिनय यात्राको थालनी थिएटरबाट गरेका हुन् । रंगमञ्चको अनुभवले उनको अभिनयमा गहिरो प्रभाव पारेको छ, जसको झल्को उनका फिल्मीय भूमिकाहरूमा पनि देखिन्छ । थिएटरको आधारभूत कलाले उनीभित्र पात्रको मनोदशालाई पर्दामा सजीव बनाउने क्षमता विकास ग¥यो । यसैले दयाहाङको अभिनयलाई केवल दृश्यात्मक मनोरञ्जनको रूपमा हेर्नु गलत हुनेछ । उनका अभिनय हरेक पटक पात्रको मनोविज्ञानको सूक्ष्म अध्ययन हो ।

‘कबड्डी’ फिल्ममा उनले थकाली समुदायको पात्रलाई सहजता र हास्यरससँगै प्रस्तुत गरे । प्रेम र विडम्बनाको कथा भोग्दा, दयाहाङले त्यसलाई अत्यन्तै यथार्थपूर्ण बनाएका छन् । यस पात्रको सादगी र भावुकता दयाहाङको अभिनयको गहिराइलाई दर्शाउँछ । यो फिल्मले उनलाई नेपाली सिनेमा क्षेत्रमा हास्य शैलीका पात्रको प्रतिनिधि बनायो, तर उनी यस भूमिकामा मात्र सीमित रहेनन् ।

‘कार्साङ’ मा उनले हिमाली शेर्पा पात्रको जीवनलाई पर्दामा जिवन्त बनाए । हिमाली भूगोलको कठोरता र त्यहाँको जीवनका चुनौतीहरूको कथामा, उनले पात्रको संघर्ष र साहसलाई हृदयस्पर्शी ढंगले प्रस्तुत गरे । हिमालको जोखिमपूर्ण यात्रामा बाँच्ने र आफ्नो सपना पछ्याउने पात्रको भावना, आँखाको भाव र गहिरो मौनतामा व्यक्त हुँदा, दर्शक दयाहाङको प्रतिभा अनुभूत गर्छन् ।
यसैगरी, ‘निरफूल’ मा उनले महाभूकम्पको कारण आफ्नो परिवार गुमाएको तामाङ समुदायको दुःखलाई आत्मीयता र संवेदनशीलतासँग प्रस्तुत गरे । फिल्मले तामाङ परिवारको पूनर्निर्माणको कथा भन्छ, जहाँ दयाहाङको अभिनयले पीडाको गहिराइलाई यथार्थपरक ढंगले उजागर गर्यो । उनका हाउभाउ र मौन क्षणहरूले दुःखलाई केवल दृश्यमा होइन, पात्रको आत्मा मा देखाउँछन् ।

दयाहाङ राईका पात्रहरूले नेपाली समाजको विविधता झल्काउँछन् । चाहे ‘लुट’ मा सामूहिक विद्रोहको पात्र होस्, चाहे ‘टलकजंग भर्सेस टुल्के’ मा राजनीतिक अन्यायको शिकार पात्र, वा ‘दुई नम्बरी’ को रमाइलो पात्र—दयाहाङले प्रत्येक भूमिका फरक दृष्टिकोण र शैलीमा बाँचेका छन् । उनी केवल मनोरञ्जनका लागि अभिनय गर्दैनन्, उनी जीवनको कथा प्रस्तुत गर्छन् ।
उनका आलोचकहरू भन्छन्, दयाहाङ बारम्बार एउटै प्रकारको संवाद शैली प्रयोग गर्छन् । तर, अभिनय भनेको संवादको मात्र साधन होइन, संवेदनाको अभिव्यक्ति हो । दयाहाङको अभिनयले समाजको वास्तविकताका कथालाई पर्दामा प्रस्तुत गर्दा, उनले हरेक पटक फरक व्यक्तित्व र गहिराइलाई प्रस्तुत गरेका छन् । यसैले, नो ह्याङ दयाहाङ—उनले अभिनयलाई जीवनको कथा बनाएका छन् । नेपाली सिनेमा उद्योगको यो यात्रा उनीसँग अझै टाढासम्म जान बाँकी छ ।

शुक्रबार, ०४ माघ, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर