अदालतमा अञ्जलाको एक दिन : सुटुक्क हाजिरपछि बयान, २१ जनाको बहस, आदेश र थुनामुक्त

विराटनगर । मोरङको धनपालथान–४ कर्सियामा रहेको उमागौरी कृषि सहकारीको २२ करोडभन्दा बढी रकम अपचलन गरेको आरोपमा फरार रहेकी अभियुक्त अञ्जला कोइराला बुधबार अदालतमा हाजिर भएर धरौटीमा छुटेकी छन् ।
गत मंसिर २७ गते अदालतमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जलासहितका २६ जनाविरुद्ध अभियोगपत्र दायर भएपछि उनी फरार रहेकी थिइन् । अदालतले उनीसहित अभियुक्तविरुद्ध पुस ३ गते ३५ दिने पुर्जी जारी गरेको थियो ।

बुधबार विहान कार्यालय समय सुरु भएको केहि समयपछि करिब १०ः३० बजे सहयोगी कानुन व्यवसायीसँगै उनी अदालतमा सुटुक्क हाजिर भएकी थिइन् । लगत्तै अदालतले पेशी तोकेर उनको बयान लियो भने त्यसपछि थुनछेक बहस भयो । मुद्दा दायर गर्ने सरकारी वकिलको कार्यालयका एक जनाले बहस गर्दा अञ्जलाको पक्षमा बहस गर्ने कानुन व्यवसायीको लर्को थियो ।
हदम्याद जारी गरेको २१ दिनसम्म फरार रहेकी अञ्जला उपस्थिति भएलगत्तै अदालतले पेशी तोक्यो । न्यायाधीश उद्धबप्रसाद भट्टराईको इजलाशमा झण्डै २ घण्टा उनको बयान लिइयो ।

अदालतमा दिएको बयानमा अञ्जलाले भने आफू सञ्चालक समिति सदस्य पदमा रहेको र २०७८ माघ १५ गतेको दशौं साधरणसभाले आफूले दिएको राजीनामा स्वीकृत गरी पदमा रही काम गरेको समयमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु र व्यक्तिहरुसँग भएका वित्तीय कारोबारहरुमा कुनै पनि दायित्व नरहने दाबी गरिन् । साधरणसभाको निर्णयपछि पाएको पत्र देखाउँदै अन्जलाले सहकारीको कुनै निर्णय लगायतका कुनै पनि कागजातमा सहीछाप समेत नगरेको दलिल पेश गरेकी थिइन् ।
बयानलगत्तै थुनछेक बहस सुरु भयो । बहसमा सरकारी वकिलको कार्यालयको तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता सुदर्शन निरौलाले बहस गरे । प्रतिवादी अञ्जलाको तर्फबाट भने ९ जना वरिष्ठ अधिवक्ता र ११ जना अधिवक्ताले बहस गरे ।
अञ्जलाको तर्फबाट वरिष्ठ अधिवक्ताहरु चुँडामणि आचार्य, शान्तिराम भण्डारी, रामप्रसाद भण्डारी, डिल्लीबहादुर कार्की, सिताराम राई, रमेश कोइराला, देवीबहादुर घिमिरे, गणेशराज लुइँटेल र हेमराज पन्तले बहस गरे । यस्तै, अधिवक्ताहरु साहस आचार्य, रिता दाहाल, अन्ताज हुसेन, सन्नीकुमार साह, विश्वराम भट्टराई, मुना वस्ती, हरिशंकर मण्डल, कला त्रिताल, रसिकलाल मण्डल, डिल्लीराम घिमिरे र विनोदकुमार तिम्सिनाले पनि उनको पक्षमा बहस गरेका थिए ।

बहसपछि अदालतले गरेको आदेशमा ‘निजलाई हाल थुनामा नै राखी कारबाही गरिरहने पर्ने नदेखिएको भन्दै १० लाख धरौटी लिएर तारेखमा राख्न आदेश दियो । ‘अञ्जला कोइरालाबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम रु. १०,००,०००।– (दश लाख रुपैयाँ) नगद धरौटी वा जेथा जमानत वा बैंक जमानत दिए लिई तारेखमा राख्नु । नदिए सोही कारण जनाई सोही संहिताको दफा ८० बमोजिमको थुनुवा पूर्जी दिई नियमानुसार सिदा खान पाउने गरी मुद्दा पर्पक्षको लागि थुनामा राख्न कारागार कार्यालय मोरङमा पठाईदिनू भनी सोही संहिताको दफा ७९ बमोजिम यो आदेश गरिदिएको छ’ अदालतको आदेशमा उल्लेख छ ।

अदालतमा हाजिर हुँदा अञ्जला पूर्वतयारीसहित पुगेकी थिइन् । त्यसैले आदेशलगत्तै उनले आफ्ना सहयोगीमार्फत १० लाख रुपैयाँ नगद नै धरौटी बुझाइन् । अदालतमा अञ्जलाले नगदै धरौटी बुझाएको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । अदालतमा उपस्थित हुँदा बर्कोले अनुहार छोपेर पुगेकी अञ्जला धरौटी बुझाएर रिहा भएपछि पनि बर्कोले अनुहार छोपेर बाहिरिएकी थिइन् ।

अञ्जला धरौटीमा थुनामुक्त भएपनि सोही प्रकरणमा धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशीलाई भने अदालतले पुर्पक्षका लागि जेल चलान गरेको थियो । उनी नेपाली काँग्रेसबाट २०७४ मा वडाध्यक्ष निर्वाचित भएका थिए ।
सोही मुद्दामा नेकपा एमालेबाट निर्वाचित रंगेली नगरपालिका वडा नम्बर २ का बहालवाला वडाध्यक्ष सन्तलाल खवासलाई भने अदालतले ५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो । सहकारी ठगी प्रकरणमा अध्यक्ष श्यामकुरमार रौनियारसहित २६ जनाविरुद्ध मुद्दा दायर भएकोमा २३ जना अझै फरार छन् ।

सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना प्रकरणमा दोषी करार गर्दै जिल्ला सरकारी वकिलको कार्यालय मोरङले अन्जलासहितका प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो । अभियोगपत्रमा अञ्जलासहितका सञ्चालकको मिलेमतोमा नै सहकारीको बचत तथा सदस्यको नाममा विभिन्न वित्तीय संस्थाबाट निकालिएको कर्जा हिनामिना भएको दावी गरिएको छ ।

अञ्जलासमेतको हस्ताक्षरबाट सहकारीले बुटवलमा कार्यालय रहेको आरएसडिसी लघुवित्तबाट लिएको कर्जा चुक्ता नगरेपछि लघुवित्तले उनीहरुलाई कालोसुचीमा राखेको छ । आफूलाई कालोसुचीबाट हटाइदिन भन्दै उनले उच्च अदालत विराटनगरमा दायर गरेको रिट विचाराधिन छ । अदालतले विराटनगरको विराट रात्री विद्यालयकी शिक्षिका उनलाई असोज महिनाको तलब भने उपलब्ध गराइदिन आदेश दिएको थियो ।

उमागौरी सहकारीम प्रतिवादीहरूले बचतकर्ताहरूले लिने गरेको ऋणमा हेरफेर गरी पुरा ऋण प्रवाह नगरेको अभियोगपत्रमा दावी गरिएको छ । सबै प्रतिवादीलाई ८ वर्ष कैद सजाय र हिनामिना भएको बिगो रकम असुल गर्नुपर्ने माग अभियोगपत्रमा छ ।
उमागौरी कृषि सहकारीमा ८ हजार ८ सय ४२ जना शेयर थिए । शेयर बापत ३ करोड ८ लाख ९० हजार रहेको खुलाइएको छ । सहकारीमा ७०७ जना ऋणीहरूका नाममा २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ ऋण परिचालन भएको उल्लेख छ । सहकारी अहिले बन्द छ ।

बिहिबार, २५ पुष, २०८१, बिहानको ०९:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर