कुमार लुइँटेल
१० वर्षपछि युरोपमा लगभग डिजेल गाडीको बिक्री बन्द हुनेछ । सन् २०३५ सम्म त्यहाँ सार्वजनिक र निजी प्रयोजनमा शतप्रतिशत विद्युतीय गाडी गुड्ने छन् । हाइब्रिड इलेक्ट्रीकल भेइकल–एचइभीले युरोप नै ओगटिसकेको हुनेछ । बेलायत र फ्रान्सलेचाहिँ सन् २०४० सम्म यो नीति लागू गर्दैछन् ।
इयूले सन् २०३५ देखि नयाँ पेट्रोल र डिजेल कारहरूको बिक्री प्रतिबन्ध लगाउन सहमति जनाएको छ । जलवायु परिवर्तनको सामना गर्न र कार्बन उत्सर्जन घटाउन यो एउटा ठूलो प्रयास हो ।
सन् २०२४ को पहिलो ६ महिनामा युरोपमा विद्युतीयतर्फ ७० प्रतिशत विद्युतीय सवारी बिक्री बढोत्तरी भयो । २०२३ मा ६२ प्रतिशत थियो । जर्मनीमा मात्र ७० प्रतिशत बढेको थियो । त्यो अवधिमा इयूभर डिजेल गाडीको बिक्री ९ प्रतिशतले घट्यो । अहिले नर्वेमा सबैभन्दा धेरै विद्युतीय गाडी दौडिन्छन् । ३० लाखमध्ये ६ लाख ७ हजार ५१६ वटा विद्युतीय सवारी छन् ।
अब कुरा गरौं नेपालको । दोस्रो राष्ट्रिय निर्धारित लक्ष्यहरूको शून्य उत्सर्जन रणनीतिमा, सन् २०३० सम्म नेपालले सबै चार र दुई पांग्रे निजी सवारी साधनहरूको ९० प्रतिशत र सबै चारपांग्रे सार्वजनिकतर्फ ६० प्रतिशत विद्युतीय बनाउने लक्ष्य छ ।
नेपालपछि विराटनगरलाई हेरौं । औद्योगिक र राजनीतिक आन्दोलन उत्भव थलो । धेरै विरासतयुक्त इतिहासको पगरी । तर, वर्तमान भने कालो । सार्वजनिक सवारीको नीतिमा विराटनगर उल्टो दिशामा छ । विश्व र राष्ट्रकै नविनतम नीतिविपरीत । महानगर अहिले पनि डिजेल बस किन्ने भनेर डंका पिट्दैछ ।
दुई वर्षअघि मेयर नागेश कोइरालाका प्रेस संयोजक (स्थानीय सरकार संचालन ऐन २०७४ र गाँउ तथा नगरसभाका सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ ले नचिन्नेको) इमेलबाट एउटा समाचार सम्प्रेषण भयो । ‘विराटनगरमा नगरबस संचालन हुने, मेयर कोइराला र उपमेयर शिल्पा निराला कार्कीले गरे रुट परीक्षण ।’
समाचारसँगै पठाइएको फोटामा मेयर र उपमेयर गाडी चढेको र चढ्न लागेको देखिन्थ्यो । कन्टेन्टले लगत्तै सडकमा नगरबस दौडने छन् भन्ने बुझाउँथ्यो । समाचार र फोटा सामाजिक सञ्जालमा महानगरकै ‘पेड जर्नालिस्ट’हरुले भाइरल बनाएका थिए । तर, दुई वर्ष बित्यो महानगरको बस विराटनगरका सडकमा के चल्थे ? अझै फेसबुके भित्तामा दौडिरहेका छन् । डिजेल बस चलाउन खोजेको विराटनगरलाई बरु इटहरीले उछिनिदियो । त्यहाँ हिजोआज बिजुली बस चल्छन् ।
खासमा नगर बसको योजना तुहिसकेको छ । कोशी प्रदेश लगानी प्राधिकरणसँग साझेदारी नहुने भएपछि अब नगर बस फेसबुकमा मात्र दौडने छन् । महानगरको कार्यपालिकाले गत साउन ३१ गते नगर बसको योजना छाड्यो । कार्यपालिकाले प्रदेश लगानी प्राधिकरणसँग सहयोग नलिने निर्णय लिएको छ ।
चारवटा रुट परीक्षण गर्न मेयर–उपमेयर भाडाका बसमा हुइँकिएका थिए । १९ वटा डिजेल बस किन्ने र हरेक १० मिनेटमा एउटा बस छुट्ने हल्ला थियो । यसबारे महानगर र प्राधिकरणले एक अर्कालाई दोषारोपण गरे । तर, भनेजस्तो प्राधिकरण एक्लैको नभई महानगरलेकै कमजोरीले परियोजना रोकिएको थियो । प्राधिकरणका पदाधिकारीको जिकीर छ–सार्वजनिक निजी साझेदारीका योजनामा समय लाग्छ ।
अहिले विराटनगरमा धेरै विद्युतीय निजी तीनपांग्रे रिक्सा कुद्छन् । तिनको व्यवस्थापन नै लठीभद्र छ । मेयरको सचिवालयबाट भएको ट्राफिक व्यवस्थापनको सस्तो प्रचार नै तिरोहित भइसक्यो । त्यसैले अब नयाँ योजनामा पनि जान सकिन्छ ।
के गर्ने त ?
महानगरले डिजेल बसको चक्कर छाडेर ठूलो क्षेत्रमा सार्वजनिक विद्युतीय बस चलाउन सक्छ । महानगरभित्र महानगरकै संयोजनमा केही दर्जन साना सार्वजनिक विद्युतीय सवारी चलाए पुग्छ । घिनाहाघाट–विराटचोक, लौकही–सीतागञ्ज–विराटनगर सडक पूरा भइसके । इटहरीसम्म कोसी राजमार्ग ६ लेनको छँदैछ । हाटखोलासम्म हुलाकी मार्ग पिच हुनासाथ विराटनगर–रंगेली र त्यस पूर्व आमबाडी–गौरीगन्ज जोडिन्छन् । आमबाडी उत्तर उर्लाबारीसम्म पनि जान सकिन्छ । रंगेली–कानेपोखरी हुँदै विराटचोकबाट विराटनगरसम्मै बस कुदाउन सकिन्छ । कर्सियासम्म पूरा भएको हुलाकी सडक हाटखोला आउनासाथ विराटनगर महानगरले नेतृत्व लिन सक्छ ।
उल्लेखित सडकले छुने पालिकाहरुसँग पनि समन्वय गरी तिनलाई पनि जोड्न सकिन्छ । सार्वजनिक विद्युतीय सवारी साधन चलाउँदा ग्रामीण र सहरी भेग विराटनगरसँगको सिधा सम्पर्क आउने छन् । यसले कोशी प्रदेश सरकारको वृहत्–विराट क्षेत्रको अवधारणलाई पनि समेट्न सक्छ । विराटनगरको मूल नेतृत्वमा यातायात प्राधिकरण गठन गरेर बस चलाउन कठिनाइ नहोला पनि । यसको फाइदाबारे धेरै लेख्नै परेन ।
एक पटक कांग्रेस नेता डा. शेखर कोइरालाले विराटनगरका पत्रकारहरुसँग भन्नुभएको थियो–“विराटनगरका मेयर विदेशमा पढेर आउनु भएको छ । उहाँसँग राम्रो विराटनगर बनाउने योजना पनि छ । उहाँले धेरै काम गर्नसक्नु हुन्छ ।” डा. कोइरालाको यही भनाइलाई विश्वास गर्ने हो भने, मेयर नागेश कोइरालालाई अब अढाइ वर्षभित्र सार्वजनिक सवारीको योजना पूरा गर्न र नयाँ विराटनगरको खाका कोर्न समय अभाव हुने छैन । जय नेपाल