वर्षको ३६५ दिन नै ओपिडी सेवा दिँदै बुढीगंगा पालिका अस्पताल

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाले संचालन गरेको बुढिगंगा पालिका अस्पतालले सेवाग्राहीको हितलाई ध्यानमा राखेर १२ घण्टा बहिरंग (ओपिडी) सेवा सञ्चालन गर्दै आएको छ । गत पुस १ गतेदेखि अस्पतालले बिहान ८ बजेदेखि राति ८ बजेसम्म ओपिडी सेवा सञ्चालनमा ल्याएको हो ।

अस्पतालले सेवाग्राहीको सुविधाका लागि वर्षको ३६५ दिन नै ओपिडी सेवा सूचारु राख्ने निर्णय गरी कार्यान्वयन सुरु गरेको छ । अस्पतालका व्यवस्थापक डा. सुरज थापाले भने ‘दैनिक १२ घण्टा ओपिडी सेवा दिने र वर्षको ३६५ दिन नै ओपिडी खुला रहने यो नेपालकै दोस्रो अस्पताल हो भन्ने मेरो दाबी छ, कुनै पनि दिन यस अस्पतालबाट जो कसैले ओपिडी सेवा लिन सक्नुहुन्छ । हामीले अस्पताललाई नमूना बनाउँदै धेरैभन्दा धेरै सेवाग्राहीलाई सहज र सुलभ उपचार सेवा दिनेतर्फ ध्यान दिएर काम गरिरहेका छौं ।’

सुनसरीको चतरा अस्पतालमा यसअघि कार्यरत डा. थापा चार महिनाअघि मात्र बुढीगंगा पालिका अस्पतालमा आएका हुन् । त्यसअघिबाटै सकारात्मकरुपमा सञ्चालन भइरहेको अस्पताललाई अझ प्रभावकारी र स्थानीयको विश्वास जित्ने ढंगबाट काम गर्ने प्रयत्न आफूले गरिरहेको उनले बताए ।

सरकारले १० शैय्याको अस्पतालको रुपमा स्वीकृति दिएको भएपनि त्यसको क्षमता बढाउने तर्फ काम भइरहेको थापाले बताए । स्वीकृत शैय्या अनुसार अस्पतालमा सरकारले जनशक्ति आपूर्ति नगर्दा वार्षिक ठूलो धनराशी जनशक्ति व्यवस्थापनमा भइरहेको उनले बताए । उनले भने, ‘१० शैय्याको अस्पतालमा सरकारले २२ जना स्वास्थ्यकर्मीहरु उपलब्ध गराउनु पर्ने हो, त्यति दरबन्दी कायम पनि छ तर सरकारले जम्मा ९ जना जनशक्ति मात्र पठाएका कारण अस्पताल सञ्चालन गर्न अधिक ब्ययभार परेको छ ।’

बुढीगंगा पालिका अस्पतालमा करार तथा ज्यालादारीमा राखिएका करिब २२ जना स्वास्थ्यकर्मीहरु छन् भने १५ जनाभन्दा बढी विभिन्न तहका कर्मचारीहरु कार्यरत छन् । सबै कर्मचारीहरुलाई अस्पताल विकास समितिमार्फत सेवा सुविधा उपलब्ध गराउने गरेको डा. थापाले जानकारी दिए । उनले भने, ‘पालिका अस्पताल भनिए पनि गाउँपालिकाले कर्मचारीहरुको पारिश्रमिकका लागि कुनै रकम उपलब्ध गराउँदैन, हामी आफ्नै स्रोतबाट कर्मचारी व्यवस्थापन गरिरहेका छौं र अस्पताल सञ्चालनका लागि आवश्यक सबै स्रोतसाधनहरु जुटाइरहेका छौं ।’

अस्पतालमा अहिले अस्पतालको तर्फबाट ६ जना मेडिकल अफिसर, एक जना बालरोग विशेषज्ञ, एक जना डेन्टल अधिकृत कार्यरत छन् । रेडियोलोजिष्ट र स्त्री तथा महिला रोग विशेषज्ञ चिकित्सक गरी दुई जना बुढीगंगा गाउँपालिकामा सञ्चालित विराट मेडिकल कलेजले सौजन्यस्वरुप उपलब्ध गराएको छ । सौजन्यस्वरुप उपलब्ध भएका चिकित्सकहरुले बिदाका दिनमा बाहेक सबै दिन नियमित सेवा उपलब्ध गराउने गरेको डा. थापाले जानकारी दिए । नाक, कान घाँटी, फिजियो थेरापी र आँखा उपचार सेवा पनि यसै आर्थिक वर्षभित्रबाट सुरु गर्ने तयारी अस्पतालले गरिरहेको छ ।

दैनिक न्यूनतम १५० देखि अधिकतम ४०० जनासम्म बिरामीले सेला लिँदै आएको अस्पतालमा व्यवस्थित प्रयोगशाला (ल्याब) सेवा, फार्मेसी सेवा र अन्य माइनर प्रोसिड्युरहरु सबै सञ्चालनमा रहेको र छिट्टै साझा सुलभ फार्मेसी सेवा सञ्चालन गर्ने तयारी भइरहेको डा. थापाले जानकारी दिए । साझा सुलभ फार्मेसीबाट नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने र बिमावापत प्राप्त हुने औषधिबाहेक अन्य औषधिहरु न्यूनतम १० देखि ५० प्रतिशतसम्म छुटमा बिरामीहरुलाई उपलब्ध गराउने तयारी गरिरहेको अस्पतालले जनाएको छ ।

अस्पतालले गत आर्थिक वर्षमा ४ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । जसमा आपिडी पूर्जा जारी गरेबापत मात्र ३६ लाख रुपैयाँ आम्दानी भएको डा. थापाले बताए । त्यसमध्ये कर्मचारीको सेवा सुविधाका लागि करिब २ करोड खर्च भएको र बाँकी अस्पतालका अन्य आवश्यक यन्त्र, उपकरण तथा मसलन्दहरुमा खर्च भएपनि अस्पताल नोक्सानीमा नरहेको डा. थापाले बताए । उनले अडिटको काम जारी रहेकोले विस्तृत हिसाब केही समयपछि प्राप्त हुने जनाए ।

तहगत पारिश्रमिकमा विभेद

बुढीगंगा पालिका अस्पताल राम्रो अवस्थामा सञ्चालन भएपनि त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरु भने आफूले पाउने सेवा सुविधालाई लिएर असन्तुष्ट देखिएका छन् । उनीहरुले अस्पतालले नेपाल सरकारले तोकेअनुसार पारिश्रमिक नपाएको र पहिले खाइपाइ आएको पारिश्रमिकमा पनि कटौती भएको भन्दै गुनासो गरेका हुन् ।

अस्पतालले केही कर्मचारीको तल्लो तहको पारिश्रमिक माथिल्लो तहको भन्दा बढी भएको गुनासोसमेत गरेका छन् । ‘सरकारले पहिले खाइपाइ आएको पारिश्रमिक र सेवा सुविधा घट्ने गरी कुनै निर्णय नगर्न गत मंसिर २६ गते नै सबै पालिका अस्पतालहरुलाई निर्देशन दिएको छ तर हाम्रो अस्पतालमा त्यस्तो समस्या कायमै छ,’ अस्पतालका एक स्वास्थ्यकर्मीले भने । उनले कामका आधारमा पारिश्रमिक दिनु पर्नेमा कतिपय सन्दर्भमा त्यस्तो नभएको उनले बताए । दैनिक ज्यालादारीमा राखिएका कर्मचारीहरुले पूरा समय काम नगर्ने, पहुँचका आधारमा कर्मचारीहरुलाई सुविधा दिने गरिएको गुनासो पनि अस्पतालका कर्मचारीहरुले गरेका छन् ।

तहगत पारिश्रमिक र सेवा सुविधाको विषयमा केही गुनासो आउनु स्वभाविक रहेको अस्पतालका व्यवस्थापक डा. थापाले बताए । उनले भने ‘पहिले धेरै समस्या थियो, जतिबेला म यस अस्पतालमा आएँ एक जना पाँचौ तहमा कार्यरत बहिनीले १६ हजार रुपैयाँ पाउने गरेको रहेछ अर्को चौथो तहकोले २८ हजारसम्म लिइरहेको पाइयो, अहिले त्यसलाई मिलाइएको छ र तहगत आधारमा पारिश्रमिक हुनुपर्छ भनेर काम गरिएको छ, अब त्यतिधेरै समस्या छैन ।’ उनले पारिश्रमिकमा देखिएको समस्या केही सत्य र केही असत्य भएको पनि बताए । उनले भने ‘विकास समितिले पारिश्रमिक भुक्तानी गर्ने हुँदा अस्पतालको आम्दानी र करारमा नियुक्ति गर्दाखेरि गरिएको सम्झौता बमोजिम पारिश्रमिक भुक्तानी गर्ने गरिएको छ, सबैलाई सरकारले तोकेअनुसार तहगत पारिश्रमिक दिन सकिदैन सम्झौता अनुसार दिन्छौं, तर एउटा कुरा के निश्चित गर्छु भने अबको दुई वर्षभित्रमा सबैले न्यूनतम ३० हजार रुपैयाँ तलब पाउने गरी हामी काम गर्छौं ।’ उनले यहि माघ १ गतेबाट सबै कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएर थप २० प्रतिशत रकम उनीहरुको कल्याणका लागि जम्मा गरिदिने निर्णय भइसकेका कारण सबैले अहिले पाइरहेको पारिश्रमिक र सेवा सुविधालाई सहज रुपमा लिनुपर्ने बताए ।

सोमबार, २२ पुष, २०८१, बिहानको ०९:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर