सम्पादकीय
मोरङ र सुनसरी जिल्ला पछिल्लो समयमा गाँजा तस्करीका लागि प्रमुख ‘ट्रान्जिट पोइन्ट’ बन्दै गइरहेको छ । प्रहरीद्वारा लगातार गरिएको ठूलो मात्रामा गाँजा बरामदले यसलाई थप पुष्टि गरेको छ । गएको मंगलवार राति मोरङ प्रहरीले जहदा गाउँपालिकाबाट १५५ केजी गाँजा र दुई जना कारोबारीलाई पक्राउ गरेको छ । यस घटनाले मात्र नभई हालैका अन्य घटनाहरूले पनि यो समस्या गम्भीर रूपमा सतहमा आएको छ । नेपालकै पहाडी जिल्लाहरुमा अबैध रुपमा उत्पादन हुने गाँजा भारततर्फ तस्करी हुने गरेको छ । पहिले सानो परिमाणमा मानिसले बोकेर गाँजा तस्करी हुने गरेकोमा अहिले गाडीमै तस्करी हुने गरेको छ । पछिल्लो पटक पनि प्रहरीले गाडीलाई नियन्त्रणमा लिँदा सिटमुनि लुकाइएको गाँजा फेला पारेको थियो । यो घटनाले प्रहरीको सक्रियता झल्काउँछ । तर, तस्करहरूले अपनाउने रणनीति पनि जटिल र परिष्कृत बन्दै गएको स्पष्ट देखिन्छ । बरामद भएको गाँजाबाहेक खुल्ला सीमाना र प्रहरीको पहुँच नभएको क्षेत्रबाट गाँजा तस्करी भएर भारत पुगिरहेको अनुमान पनि गर्न सकिन्छ । यदि गाँजा तस्करले भारतमा गाँजा पुर्याउन पूर्ण रुपमा असफल भएको थियो भने एकपछि अर्को तस्करीको प्रयास गर्ने थिएन ।
पछिल्लो समय धनकुटा, भोजपुर, र उदयपुरजस्ता पहाडी जिल्लाहरूमा उत्पादन गरिएको गाँजा सुनसरी र मोरङको सीमा प्रयोग गरी भारततर्फ तस्करी हुने गरेको पाइन्छ । तस्करहरूले खुला सीमाको फाइदा उठाउँदै ट्रक, स्कारपियो, र पिकअपजस्ता सवारी साधनमार्फत गाँजा ओसारपसार गर्छन् । केही दिनअघि विराटनगरमा भएको अर्को घटनामा पिकअप भेनमा १२० किलो गाँजा बरामद भएको थियो । यस्ता घटनाहरूले प्रहरीलाई सुरक्षाको चुनौती थप्दै गएका छन् । खुला सिमानाका कारण तस्करहरूले सजिलै गाँजा भारत पु¥याउने मौका पाउँछन् । गिरोहहरूले खेत भाडामा लिएर गाँजा उत्पादन गर्ने र स्थानीयलाई भरिया बनाएर सीमा कटाउने गरेको पाइएको छ । किसानहरूले थोरै आर्थिक लाभका लागि गाँजा उत्पादनलाई प्राथमिकता दिने गरेका छन्, जसले गरीबी र आर्थिक असमानतालाई पनि उजागर गर्दछ । प्रहरीका अनुसार, गाँजा भारतमा पु¥याउँदा यसको मूल्य २५ देखि ३० हजार रुपैयाँ प्रतिकिलोसम्म पुग्छ । जसले तस्करीलाई अत्यन्त लाभदायक बनाउँछ।
गाँजा तस्करी रोक्न कानुनी कठोरता मात्र होइन, सीमाक्षेत्रको प्रभावकारी निगरानी र तस्करीमा संलग्न गिरोहहरूको जालो तोड्न रणनीतिक उपाय आवश्यक छ । साथै, किसानहरूलाई वैकल्पिक रोजगारीका अवसर प्रदान गर्न सकियो भने गाँजा खेती कम गर्न सकिने सम्भावना छ । प्रहरीले हालसालै ठूलो परिमाणमा गाँजा बरामद गर्न सफल भएपनि यो चुनौती समाप्त भएको होइन । प्रहरीको सक्रियता र रणनीतिक पहलकदमीले मात्रै यो समस्या समाधान गर्न सकिन्छ । सीमावर्ती क्षेत्रका जनतालाई सचेतना र रोजगारीका अवसर प्रदान गर्नु पनि दीर्घकालीन समाधानको एक अंश हुन सक्छ । मोरङ र सुनसरीको सीमावर्ती क्षेत्र गाँजा तस्करीको केन्द्र बनेको यथार्थले समाजमा गम्भीर चुनौती खडा गरेको छ । सुरक्षा निकायले हालैका प्रयासहरूलाई थप सशक्त बनाउन आवश्यक छ, ताकि यस समस्यालाई न्यूनतम तहमा झार्न सकियोस् । अर्कोतिर पछिल्लो समयमा गाँजा खेतीलाई बैधानिक बनाउने बहस पनि चलिरहेको छ । तर, त्यो बहसले किनारा नपाउँदा तस्करी झनै फस्टाएको छ । गाँजाको प्रतिबन्ध हटाउने हो भने सरकारले त्यसअनुसार काम गर्नुपर्छ । हैन, भने कडाईका साथ नियन्त्रणको काम गर्नुपर्छ ।