विराटनगर । नेकपा एमालेले कारबाही गरेका भीम रावलले सुनसरीमा विभिन्न पार्टीबाट असन्तुष्ट बनेकाहरूलाई भेटेका छन् ।
रावल सुनसरीमा भरौल भेट्रान क्लबले आयोजना गर्ने अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्ड फुटबल प्रतियोगिताको उद्घाटन गर्न आएका थिए । तर, त्यो कार्यक्रम नभएपछि उनले बराह क्षेत्रकै एक होटलमा विभिन्न पार्टीबाट असन्तुष्ट भएकाहरूलाई भेटेका थिए ।
कार्यक्रम सहभागी भएका नेकपा एकीकृत समाजवादी सुनसरी जिल्लाका सचिवालय सदस्य गोकुल थापाकाअनुसार बराह क्षेत्रमा भएको कार्यक्रममा २ सय बढी कार्यकर्ता रहेका थिए । ‘धेरै एमालेका असन्तुष्टहरू थिए,’ उनले भने ‘झापादेखि समेत केही व्यक्तिहरु आएका थिए ।’
एमालेको दबाबमा फुटबल प्रतियोगिता भने स्थगित भएको थियो । ‘एमालेले कारबाही गर्नुभन्दा अगाडि नै उहाँलाई प्रमुख अतिथि बनाएका थियांै,’ क्लबका एक पदाधिकारीले भने ‘तर, एमालेको दबाब भएपछि कार्यक्रम रोकेका हौ ।’प्रतियोगिता भने २२ पुससम्मका लागि सरेको क्लबले जनाएको छ । उद्घाटन सरेपछि आयोजक क्लबका पदाधिकारी विमल कार्कीलगायतले नै होटलमा रावललाई लगेका थिए । कार्की असन्तुष्ट एमाले हुन् । त्यहाँको कार्यक्रमपछि उनी धरानमा गएका थिए ।
धरानमा एमालेका केही कार्यकर्तालाई रावलले भेटेका थिए । २०७९ को निर्वाचनमा एमालेबाट विद्रोह गरेर सुनसरी १ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेका मनोजकुमार मेयाङ्बोको समूहलाई उनले भेटेका थिए ।
बराह क्षेत्रमा भएको कार्यक्रममा भने ऋषि ढुंगाना, केशव मैनाली, अर्जुन कोइराला, राजन कार्कीलगायतका नेतासँग उनले भेटघाट गरेका थिए । पूर्व बराह नगर कमिटी अध्यक्ष गजेन्द्र थापा पनि कार्यक्रममा पुगेका थिए ।
धरानपछि रावलले इटहरीमा भेटघाट गरेका छन् । उनले इटहरीको सोल्टी होटलमा भेटघाट गरिरहेका छन् । साँझ प्रदेश स्तरका केही पुराना नेतासँग भेटघाट गर्ने कार्यसूचि रहेको रावल निकटका नेताहरूले बताए । ‘अहिले पनि उहाँ भेटघाटमै हुनुहुन्छ,’ रावलसँगै आएका विक्रम रावलले भने शनिबार साँझसम्मै उहाँको भेटघाट हुन्छ । ’
एमालेले कारबाही गरेको १० औँ दिनउनी सुनसरीमा व्यस्त बनेका हुन् । एमालेका कार्यकर्ताहरूसँग भने उनले केपी ओलीको गुणगान गाउन नसक्दा कारबाहीमा परेको बताएका थिए ।