कुमार लुइँटेल
कुरा वि.सं २०७१ सालको हो । न्याय परिषद्ले विभिन्न पुनरावेदन अदालतका न्यायाधीशहरु नियुक्त गरेको थियो । दिउँसो सपथग्रहण समारोह चल्यो । पद तथा गोपनीयताको सपथ भयो । साँझ नढल्दै नयाँ न्यायाधीशहरु बल्खु दरबारतिर हान्निए । त्यसबेला एमाले मुख्यालय अर्थात केन्द्रीय कार्यालय बल्खुमा थियो । झलनाथ खनाल पार्टी अध्यक्ष थिए । एमालेको बल्खुस्थित कार्यालय भूकम्पपछि भत्काइयो । अहिले नयाँ ठाउँमा सारिएको छ ।
वकिल कोटाबाट नियुक्त न्यायाधीश सपथग्रहण लगत्तै बल्खु पुगेको समाचार त्यसबेला अन्नपूर्ण पोस्टमा प्रकाशन भएको थियो । समाचार लेख्ने पत्रकार माधव ढुंगेलले बताएअनुसार सपथ लगत्तै न्यायाधीशहरु हतार हतार बल्खु पुगे । त्यो सूचना उनले पार्टीका एकजना ठूलै नेताबाट पाएका थिए । यो सूचना पत्रकारका लागि महत्वको नहुने कुरै भएन । अध्यक्ष कामरेडबाट अविर माला लगाएर अनुगृहीत बनेका न्यायाधीशहरु लुसुक्त बल्खुबाट बाहिरिए ।
स्वतन्त्र न्यायाल हाँक्ने न्यायाधीश सपथसँगै लगाएको माला समेत नफुकाली कुनै अमुक पार्टीका अध्यक्ष भेट्न पुग्नु समाचारका दृष्टिले ठूलो विषय थियो । त्यसबेला काठमाडौंमा पानी पर्दै थियो । ढुंगेल तीनकुनेस्थित अन्नपूर्ण पोस्टको कार्यालयबाट रुझ्दै फोटो पत्रकारसहित बल्खु पुगेका थिए । झलनाथ निस्कन लाग्दै थिए । ढुंगेल चढेको मोटरसाइकल झन्डैझन्डै झलनाथको गाडीमा ठोक्किनबाट जोगिएको थियो ।
न्यायपरिषद्मा राजनीतिक क्षेत्रको बहुमत रहेको र न्यायाधीशहरु अल्पमतमा परेको कारण राजनीतिक आधारमा न्यायाधीश नियुक्त हुने प्रथा विकसित भएको भन्दै परिषद्को संरचनामा न्यायाधीशहरुको बहुमत हुनुपर्छ भन्ने मत त्यसबेला नै उठेको थियो । त्यो प्रसंगलाई हालै सम्पन्न नेपाल पत्रकार महासंघको चुनावी परिणाम र त्यसपछि निर्वाचितहरुको रवैयाले पुनर्जागृत गरिदिएको छ । न्यायाधीशहरु त लुसुक्क बल्खु पुगेका थिए । स्वतन्त्र र जनपक्षीय हौं भन्दै हुँकार गर्ने पत्रकारहरुले त लाजमर्दो हिसाबले नेताको पाउपोस गरेर जगहसाइरहेका छन् ।
प्रसङ्ग मोरङ, कोशी प्रदेश र केन्द्रको हो । महासंघको परिणाम घोषणा भएको एक घण्टा नबित्दै पत्रकारहरुको जत्था विराटनगरस्थित कोइराला निवास छिर्यो । कांग्रेस नेता डा. शेखर कोइरालाप्रति नतमस्तक हुँदै खादामाला ओढ्ने काम भयो । अबिर लगाएका तस्बिर मिनेटभरमै सामाजिक सञ्जालका भित्तामा छ्यास्सछ्यास्ती भए । बधाइका कमेन्टले सञ्जाल रंगिए । कतिपय कमेन्टमा जय नेपालका नारा समेत उरालिएको देखिन्थ्यो । त्यसलगत्तै एमाले मोरङले केन्द्रीय नेताहरु लाम लगाएर आफू पक्षीय पत्रकारहरुलाई सम्मानको नाममा अर्तिउपदेश दियो । नेताहरुले पत्रकारिताको वर्तमान परिपेक्ष्य र समाचारका कन्टेन्ट तथा लेखनीका विषयसमेत पढाउन भ्याए । विराटनगरका अन्य संघ संस्थाले पत्रकारलाई बोलाइ बोलाइ खादामाला ओढाइ रहेका छन् ।
डा. शेखर कोइराला पक्षलाई काउन्टर दिन कांग्रेसको अर्को खेमाले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई बोलाएर त्यस्तै अर्को कार्यक्रम गरिदियो । नेपाली कांग्रेस कोशी प्रदेश समितिको सूचना तथा संचार समितिले कांग्रेस आवद्ध र महासंघका निर्वाचित पत्रकारहरुलाई प्रदेशभरबाट भेला गराएर खादामाला ओढायो । कार्यक्रममा कांग्रेस नेता सिटौला प्रमुख अतिथि थिए । पुसको चिसो ठिहीमा धनकुटा, तेह्रथुम, इलामलगायत पहाडी जिल्ला र झापा, मोरङ अनि सुनसरीका पत्रकार चिसो छल्दै विराटनगर आएका थिए । दलका नेताको दैलोदैलो पुगेर खादामाला ओढ्ने सृङ्खला लामै चल्ने देखिएको छ ।
नेपाल पत्रकार महासंघको निर्वाचनको केहीअघि वरिष्ठ पत्रकार राजेन्द्र दाहालले एक्स ह्यान्डलमा एउटा स्टाटस पोस्ट गरेका थिए । त्यसको विवरण यस्तो थियो, “२०१७ सालअघि देखि सक्रिय नेपाल पत्रकार संघ विस्तारै पञ्चायती सरकारको पोल्टामा परेपछि खास पत्रकारहरुको पहलमा २०४३ सालमा नयाँ पत्रकार संघ (अहिले महासंघ) जन्मिएको हो । तर, अब यसमा पनि सीमित प्रतिस्पर्धा मात्रै बाँकी बँचेछ । त्यसैले अर्को स्वतन्त्र पत्रकार संघ जन्मिने बेला फेरि आए जस्तो छ !”
खासमा महासंघको स्वतन्त्र चरित्र र छवि यो पटकको निर्वाचनदेखि धुलिएको महसुस सबैतिर हुन थालेको छ । पहिले निर्वाचितहरुलाई बधाइ तथा शुभकामना दिन महासंघकै सभाकक्षमा शुभचिन्तक र नेताहरु आफै पुग्ने थिति थियो । कोशी प्रदेश महासंघको दोस्रो कार्यकालमा निर्वाचितहरुको बधाइ तथा शुभकामना कार्यक्रम यसरी नै भएको थियो । जिल्लाहरुमा पनि त्यस्तै चलन थियो । तर, पत्रकारहरु नै नेताका दैलोदैलो पुगेपछि स्वतन्त्र पत्रकारिता र महासंघको निष्कलङ्क छवि कसरी कायम रहला ?
यस पटकको निर्वाचनमा जिल्ला जिल्लामा ‘फलाना फलानालाई मतदान गर्नु’ भनेर एमाले पार्टीका तर्फबाट त विज्ञप्ति नै जारी भएको थियो । कांग्रेसका नेता पनि उत्तिकै सक्रिय देखिएका थिए । पैसा खर्च नगरी महासंघमा नजित्ने अवस्था भएको छ । पहिलाको निर्वाचनमा दल लाग्थे अहिले त सत्ता नै लागेको देखियो । विगतमा पत्रकार संघ मन्जुरत्न शाक्यको थियो । पन्चायती सत्ताको पेलाइबाट आजित भएर रियल ‘जर्नालिस्ट’हरुले नेपाल पत्रकार संघ (पछि महासंघ भएको) बनाएका थिए । पञ्चायतले मन्जुरत्नलाई बोकेको थियो । अहिलेको नेतृत्वलाई सत्ताले नै बोकेको सन्देश गएको छ । ‘पार्टीमा नलागेका पत्रकाहरु कति होलान ?’ आम रुपमा अहिले यही प्रश्न उठिरहेको छ । महासंघ खासमा ट्रेड युनियन होइन एनजिओ नै हो । किनभने यसको दर्ता प्रक्रिया नै त्यसरी भएको छ । त्यसैले महासंघको पुनर्संरचना नभए वरिष्ठ पत्रकार राजेन्द्र दाहालले भने झैं ‘अर्को स्वतन्त्र पत्रकार संघ पो जन्मिने हो कि ?’ जय नेपाल ।