विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुई प्रदेश सभापतिले डा. मुकुल ढकाललाई पार्टीमा फिर्ता ल्याउन पहल बढाएका छन् । रास्वपाका कोशी प्रदेश सभापति राजेश तिम्सिना र मधेस प्रदेश सभापति तपेश्वर यादवले ढकाललाई पार्टीमा फिर्ता ल्याएर जिम्मेवारी दिनुपर्ने भन्दै पहल बढाएका हुन् ।
रास्वपाले गतभदौ ११ गते ढकाललाई महामन्त्रीबाट हटाएको थियो । त्यस अगाडि डा. ढकाल रास्वपा महामन्त्री तथा प्रवक्ता थिए । नेताद्वयले वितगका तितामिठा कुरालाई भुलेर पाटी बनाउन ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउन माग गर्दै केन्द्रीय समितिमा पत्र लेखेरै माग गरेका हुन् । उनीहरू दुवै पाटीका केन्द्रीय सदस्यसमेत हुन् ।
रिसराग सबै त्यागेर मिलेर अगाडि बढ्यौं भने कोर्ष करेक्सन हुन्छ भनेर कार्यवाहक अध्यक्ष डिपि अर्याललाई पत्र पठाएको कोशी प्रदेशका अध्यक्षसमेत रहेका केन्द्रीय सदस्य तिम्सिनाले जानकारी दिए । मुकुलका नाममा आफूहरुले राजनीति नगरेको भन्दै उनले पहिले उठाएकै कुरालाई आफूहरुले निरन्तरता दिएको बताए ।
उनले सभापति लामिछानेलाई पाटी जन्माउने पिता र मुकुललाई माताको संज्ञा दिएका छन् । अहिले पार्टीमा दुवै जनाको अभाव देखिएको र उनीहरु दुवै जना नहुँदा टुहुरोजस्तो अवस्था देखिएको बताए । ‘मातापिता झगडा गरेका छन्,’ उनले भने ‘हामी छोराछोरी टुहुरा भएका छौं ।’ अब बस्ने केन्द्रीय समितिको बैठकमा ढकाललाई फिर्ता गर्ने प्रस्ताव राख्ने पनि उनले बताएका छन् ।
ढकालसँग वर्तमान अवस्थाको विश्लेषण गर्ने अदभूत क्षमता रहेको उनको विश्वास छ । ढकालले यस अगाडि सभापतिमाथि गरेको विश्लेषण ठिक भएको पुष्टिसमेत भइसकेको दावी उनले गरेका छन् । ‘उनलाई कोही मन नपराउने पनि छन् । मुकुल निश्वार्थरुपमा राजनीति गर्ने राजनीतिकर्मी हो । उहाँ कतैबाट परिचालित हो जस्तो मलाई लाग्दैन’ उनले भने ।
सभापति प्रकरणमा राज्यले प्रतिशोध साँधेको उनले बताए । पाटीलाई जोगाउन अब मुकुल ढकालको खाँचो देखिएको उनले बताए । ‘हिजो पार्टी जन्मिदा रवि लामिछानेको भूमिका पिताजीको र मुकुलको भूमिका माताजीको जस्तो थियो । अहिले माताको भूमिकामा भएको मान्छे पाटीबाट निष्कासित छन् । पिताको भूमिकाको मान्छे विभिन्न कारणले हिरासतमा छन् । घर परिवारमा बाआमा झगडा गरेर डिभोर्स गरी रहेका छन् । छोराछोरीले आमाबाबुको गल्ती खोज्छ कि मिलोस् भन्ने हुन्छ । मेरो रोल त्यतिमात्रै हो’ उनले भने । रवि फर्केनन् भने पाटीको विकल्प को त भन्ने प्रश्न पनि आइरहेकै छ ।’
रास्वपाले सुरुमा ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो । उनलाई निर्णय चित्तनबुझे ३५ दिनभित्र पुनरावलोकन गर्न रास्वपाले समय पनिदिएको थियो । त्यसपछि भने साधारण सदस्यबाट पनि निस्कासन गर्ने निर्णय गरिएको थियो ।