विराटनगर । एमालेबाट निष्कासनमा परेका डा .भीम रावलले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । आगामी कार्य योजनाबारे जानकारी दिन उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् । आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लागेको रावलका सहयोगी गोविन्द दुवालले जानकारी दिए ।
एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहेका छन् । आज दिउँसो १ बजे कार्की ब्याङकेटमा पत्रकार सम्मेलनमै नयाँ पार्टी खोल्ने नखोल्ने बारे जानकारी हुने दुलालले बताए ।
एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको गत बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो । २०७८ सालमा चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसयता पार्टीमा निष्किृयजस्तै बनेका थिए ।